Logo

Oct 24 2024 | २०८१, कात्तिक ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक ७ बुधबार

  • 147
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ७ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ७ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    एभरेष्ट बैंकको खुद नाफा ४४.४४ प्रतिशतले बढ्यो

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.४४ प्रतिशतले धेरै हो ।

     


    खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब १३ करोड ९० लाख पुगेको छ ।

    बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ९५ लाखबाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । सञ्चालन नाफा ४४.४९ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ । यसले हालसालै सेयरधनीलाई लाभांश वितरण गरेपनि अझै लाभांश क्षमता निकै राम्रो देखिएको  छ ।

    हिमालयन डिष्टिलरी  लिमिटेडको खुद नाफा ८९ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन डिष्टिलरी  लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ प्रतिशत वृद्धि भएको छ । 

     

    कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० करोड ५१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू.१९ करोड ८८ लाख कमाउन सफल भएको छ ।  आर्थिक मन्दी तथा व्यापारमा सुस्तताका कारण अघिल्लो वर्षमा घटेको कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानीमा समेत यस वर्ष निकै राम्रो सुधार देखिएको छ । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा,६ अर्ब २७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से  परिसूचकमा २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा आएको छ । आज ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ट्रेडिङ र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । २ वटा फाइनान्स कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    यस दिन ३२४ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र साहस ऊर्जा परेका छन् ।

    लुम्बिनी विकास बैंकले  पहिलो त्रैमासमा २० करोड १९ लाखभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

     

    उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा रू. २० करोड १९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १६ दशमलव ५६ प्रतिशत बढी हो ।चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १६ दशमलव २० प्रतिशत र खुद ब्याज आम्दानी ६ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ ।

    आँखुखोला जलविद्युत कम्पनीको लिलामी सेयर बाँडफाँट

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । 

    जसमा न्यूनतम १७१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले १ करोड २० लाख (१५० प्रतिशत) कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

    कामना सेवा विकास बैंकको खुद नाफा ४६.४० प्रतिशतले बढ्यो

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४६.४० प्रतिशतले धेरै हो ।
    बैंकको इम्पेयरमेन्ट चार्ज ९ करोड ५२ लाखबाट घटेर ४ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । साथै यस बैंकको सञ्चालन आम्दानी पनि बढेको छ । यता, सञ्चालन नाफा ४२.५७ प्रतिशत बढेको हो । यसको वितरणयोग्य नाफा पनि ७१८ प्रतिशतले बढेर २० करोड ९८ लाख पुगेको छ ।

    आइसीएफसी फाइनान्सको खुद नाफा ६३३.७१ प्रतिशतले बढ्यो

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ६३३.७१ प्रतिशतले धेरै हो ।

     

    फाइनान्सको इम्पेयरमेन्ट चार्ज ५ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा ६३८.०७ प्रतिशत बढेको छ । सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । यसको वितरणयोग्य नाफा ६ करोड ७५ लाख पुगेको छ ।   चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७५ करोड १२ लाख रुपैयाँ जम्मा रहेको छ ।

    प्रभु महालक्ष्मी लाइफले १ लाख ६२ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं  । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि १ लाख ६२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले अन्य व्यक्ति र संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको हो। इच्छुक खरीदकर्ताहरूले कात्तिक ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    प्रति शेयर मूल्य १८० रुपैयाँ तोकिएको छ, तर इच्छुकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ लाख ६२ हजार ९५० कित्ता शेयरको लागि आवेदन पेश गर्नुपर्नेछ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमाससम्म ८६ करोडभन्दा बढी नाफा कमायो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४ दशमलव १७ प्रतिशत बढी भएको हो । 

     

    गत वर्ष यस अवधिसम्म कम्पनीले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । यस वर्ष कम्पनीले इम्पेरमेन्ट चार्ज बापत् ५ करोड ७१ लाख ९८ हजार रुपैयाँ फिर्ता पाएको छ ।

    नबिल बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोडभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले धेरै हो ।

     

    बैंकको सञ्चालन नाफा ३६।०९ प्रतिशतले बढोत्तरी हुँदा मुनाफा बढ्न पुगेको छ । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ ।

    यस बैंकको इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ ।

    बजारमा अधिक तरलताको व्यवस्थापन गर्न  ४० अर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज बुधबार कात्तिक ७ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले ७ दिनका लागि वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

     

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    प्राइम कमर्सियल बैंकले पहिलो त्रैमासमा १ अर्ब २८ करोडभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १२ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

     


    बैंकको खुद ब्याज आम्दानी १६.६७ र सञ्चालन नाफा ११.१५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २१ करोड रुपैयाँमा रहेको इम्पेयरमेन्ट चार्ज बढेर ४१ करोड रुपैयाँ पुगेको छ ।

    सिद्धार्थ बैंकको खुद नाफा ७९१.४३ प्रतिशतले बढ्यो

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७९१.४३ प्रतिशतले धेरै हो ।

     


    खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

    गत वर्ष उक्त आम्दानी १ अर्ब ९६ करोड ९८ लाख थियो । यता, यस बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घट्यो

    काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा ३.८२ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।

     

    खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि १९.६३ प्रतिशतले घटेर २ अर्ब ९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । 

    यसको  खराब कर्जा ०.१३ प्रतिशत विन्दुले बढेर १.९९ प्रतिशत कायम भएको छ ।
    प्रतिसेयर आम्दानी ६८ पैसाले घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा छ ।

    ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा १ अर्ब ५१ करोडभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले २३.३६% ले खुद नाफा वृद्धि गरेको छ ।  बैंकको खुद ब्याज आम्दानी १४.२२% ले घटेर ४ अर्ब ११ करोडमा झरेको छ । यसको सञ्चालन नाफा १९.४०% ले बढेको छ ।

     

    असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा भने ४.३८% बाट बढेर ४.६७% भएको छ ।

    लक्ष्मी सनराइज बैंकको खुद नाफा ४२०.५३ प्रतिशतले बढ्यो

    काठमाडौँ ।  लक्ष्मी सनराइज बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४२०.५३ प्रतिशतले बढेर ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
    खुद ब्याज आम्दानी घटे पनि इमपेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी ४२५.५३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    तीन महीनामा झन्डै ४ खर्बको आयात हुँदा ३८ अर्बको मात्रै निर्यात

    काठमाडौं । पछिल्लो ३ महीनामा नेपालको वैदेशिक व्यापारमा आयात तथा निर्यात घटेको छ । बुधवार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महीनामा नेपालले ३ खर्ब ९० अर्ब २३ करोड २१ हजार नेपाली रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । सोही अवधिमा जम्मा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार नेपाली रुपैयाँ बराबरको मात्रै वस्तु तथा सेवा निर्यात गरेको छ ।
    सोही अवधिको तुलनामा आयाततर्फ ४.१७ प्रतिशतले र निर्याततर्फ ६.११ प्रतिशतले कमी हो । यो अवधिमा मूल्यको आधारमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ भने निर्याततर्फ सबैभन्दा बढी नेपाली गलैंचा रहेको छ ।

    दक्षिण कोरिया जाने कामदारले खुला टिकट खरिद गर्न पाउने माग दाबीसहित रिट दायर

    काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ ।रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्ने भएकाले  त्यसको विरुद्ध खुला बजारबाट टिकट किन्न पाउने माग दाबी  गरी रिट दायर गरिएको हो ।इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ । कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ ।

    पर्सा प्रहरीले एक करोड बढीको मालवस्तुसहितको ट्रक समातेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    काठमाडौँ । प्रर्सा प्रहरीले एक करोड बढीको मालवस्तु लोड भएको ट्रक समातेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको छ ।विशेष सूचनाको आधारमा कार्तिक ६ गते राति सवा १० बजेतिर वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघरबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्ति अनुसार ट्रकमा बिलबीजक भन्दा बढी मालवस्तु रहेकाले ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको हो ।

    सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

     

    बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    सिनेमा हलमा एमआरपी भन्दा बढी मूल्यमा सामान खरिद बिक्री भए कारबाही गरिने

    काठमाडौँ । सिनेमा हलमा महँगो मूल्यमा सामान खरिद बिक्री गर्न निषेध गरिएको छ ।सिनेमा हल भित्र  खाद्य तथा पेय पदार्थको खरिद बिक्री एमआरपी मूल्य भन्दा बढीमा नगर्ने गरी  सरकार र चलचित्र संघबीच सहमति भएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच भएको सहमति अनुसार अब चलचित्र हलभित्र पेय तथा खाद्य पदार्थ खरिद बिक्री एमआरपी मूल्यभन्दा बढीमा बिक्री गर्न नपाइने भएको हो ।चलचित्र हलको परिसरभित्र पाइने पानी, पेय पदार्थ तथा खाद्य पदार्थ खुद्रा बिक्री मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ ।

    तिहारमा ३५ बढी स्थानमा फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।   

     

    गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । हाल ३५  व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो । त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ । “आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्”, प्रमुख पाण्डेले भन्नुभयो ।

    ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

    बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

    ढाका । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । 

     

    यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । 
    राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । 

    प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।

    चालु आवको पहिलो तीन महिना अर्ब बढी नाफा कमाउने बैंकहरू कुन कुन ?

    काठमाडौँ ।चालु आर्थिक वर्षको (आव)पहिलो तीन महिनामा  वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब २३ करोड रुपैया भएको छ । गत आव यो भनेको २१ प्रतिशत बढी हो । गत आवको सोही अवधिको तुलनामा यो २१ प्रतिशतको वृद्धि हो । गत आवमा वाणिज्य वैंकहरूको खुद नाफा १३ अर्ब ३४ करोड रुपैयाँ भएको थियो ।
    पहिलो तीन महिनाको अवधिमा एक अर्ब बढी खुद नाफा गर्ने ८ वाणिज्य बैकहरू रहेका छन् । पहिलो त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ ।

     

    तीन महिनाको अवधिमा नबिल, ग्लोबल आइएमई, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले एक अर्ब बढी खुद नाफा कमाएका छन् ।अर्ब नाफा कमाउने बैंकहरूको सूचीमा पहिलो नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ भने १ अर्ब ५१ करोड २१ लाख कमाएर दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ ।यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख,  प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख ,एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ,  कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

    ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

    काठमाडौँ। मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ । 

     

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

     

    ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिनुभएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस