काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित होटल उग्रचण्डी, बनेपामा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ। साथै, प्रस्तावित १५ प्रतिशत लाभांशको अन्तिम स्वीकृतिसमेत सभाले प्रदान गर्नेछ।
आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अघिल्लो वर्ष कुनै लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो।