Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक ८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, कात्तिक ८ बिहीबार

  • 198
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक ८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ८ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    गोर्खाज फाइनान्सको खुद नाफा ६०.६४  प्रतिशतले घट्यो

    काठमाडौं । गोर्खाज फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा फाइनान्सको खुद नाफा ६०.६४% ले घटेर २ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

     

    एक वर्षको अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । यसको खुद ब्याज आम्दानी १२.९१% ले घटेर ८ करोड १६ लाख रुपैयाँमा झरेको छ ।

    र्खाज फाइनान्सको खराब कर्जा बढेको छ । खराब कर्जा १.९४% बाट बढेर ३.२१% पुगेको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २४ पैसाले घटेर ११ रुपैयाँ १९ पैसामा सीमित भएको छ । खुद नाफा घटेकाले त्यसको असर प्रतिसेयर आम्दानीमा परेको हो ।

    २ कम्पनीको बोनस र हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को सेयर भाउ समायोजन भएको छ । स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँ आधार भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको मूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।
    लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)को ८८.४५ प्रतिशर हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार भाउ १ हजार ९८८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा १८.२५ अंकले घटेर २६२७.१४  बिन्दुमा, ५ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से   परिसूचकमा १८.२५ अंकले घटेर २६२७.१४  बिन्दुमा आएको छ । आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।यस दिन  ५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  
    यस दिन ३ सय १७ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र आइसीएफसी फाइनान्स परेका छन् ।

    गुडविल फाइनान्सले पहिलो त्रैमासमा ४ करोड ९५ लाखभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं  । चालु अर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म आइपुग्दा गुडविल फाइनान्सले ४ करोड ९५ लाख खुद नाफा कमाएको छ ।

    फाइनान्सको खुद ब्याज आम्दानी, संचालन नाफा लगायतका सूचक बढेपछि खुद नाफा बढेको हो । खुद नाफा बढेपनि फाइनान्सको वितरण योग्य नाफा भने अझै २ करोड २९ लाख ऋणात्मक रहेको छ । 

    हाल गुडविलको चुक्ता पुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ । कम्पनीको नेटवर्थ भने १९४.५७ रुपैयाँ छ ।

    सिन्धु विकास बैंकको खुद नाफा १०९५.३३  प्रतिशतले बढ्यो

    काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा १०९५.३३% ले धेरै हो ।बैंकको सञ्चालन नाफा पनि ३९८.२०% ले बढेर ३ करोड २९ लाख रुपैयाँ कायम भएको छ । यसको खुद ब्याज आम्दानी भने ५३.६४% ले घटेको छ । हाल बैंकको चक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ४१ लाख रुपैयाँ जम्मा रहेको छ । 

     

    यसको वितरणयोग्य नाफा ३७ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ ।

    आशा लघुवित्तको साधारण सभा मंसिर ७ गते , १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

    काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित होटल उग्रचण्डी, बनेपामा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो।

     

    सभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ। साथै, प्रस्तावित १५ प्रतिशत लाभांशको अन्तिम स्वीकृतिसमेत सभाले प्रदान गर्नेछ।

    साना किसान विकास लघुवित्तको ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३४ हजार ८२० कित्ता संस्थापक शेयर कात्तिक ८ गतेदेखि विक्रीमा आएको छ । फरवार्ड माइक्रोफाइनान्सको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक घरधनीहरूसँग अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

     

    प्रतिकित्ता ५४२ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि मंसिर १२ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे

    काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

     

    सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गर्नुभयो ।

     

    मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौँ ।”

    जानकी फाइनान्सले पहिलो त्रैमासमा ६ करोड ९० लाखभन्दा बढी खुद नाफा कमायो

    काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ हजार ७३८ प्रतिशत धेरै हो ।
    यसको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले घटेर ४ करोड ९३ लाख कायम भएको छ ।

     

    यस फाइनान्सले ७ करोड ७१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । जसकारण कम्पनीको नाफामा वद्धि देखिएको हो । चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा ४३ करोड ९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस ४० रुपैयाँ पुगेको छ ।

    आजसम्म एलआइसी नेपालको हकप्रद सेयर कायम सेयरधनीले आवेदन दिन पाउने

    काठमाडौँ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।

     


    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ ।

    इजरायल जान गोला प्रथाबाट छनौट भएका वैदेशिक रोजगारमा जाने नेपाली  श्रमिक नपठाइने

    काठमाडौँ  । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने निर्णय गरेको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएकाले सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने निर्णय गरेको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट भएको थियो ।वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले यस सम्बन्ध जानकारी सार्वजनिक गरे अनुसार इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थालिने छ ।

    बीपी राजमार्ग पुननिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको निर्णय कुर्दै डिभिजन सडक

    काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ । बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अबरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ देखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो ।

    सुन–चाँदीको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

    सुनको भाउ प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ ।आज चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ ।

    समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौँ। नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

     

    नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर,  अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। सविताले ८ औँ, सावित्राले १२ औँ, रेखाले १३ र ३६औँ, अस्मिताले ४७ औँ र रश्मीले ९४ औँ मिनेटमा गोल गरे। नेपाल पहिलो हाफमै ४–० ले अगाडि थियो। दोस्रो हाफमा नेपालले थप २ गोल गरेको हो।

    राष्ट्र बैंकबाट तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री मंगलबारसम्म

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री मंगलबार ४ बजेसम्मका लागि खुला गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गरी यस्तो जनाएको हो ।२.५ ग्रामको सुनको असर्फी तथा चाँदीका स्मारिका सिक्का तथा मेडालियन बिक्री खुला भएको जनाउँदै राष्ट्र बैंकले पहिला आउनेले पहिले पाउने विधि अपनाएर बिक्री गरिने जनाएको छ ।

     

    सुनको २.५ ग्रामको असर्फी मंगलबार कार्तिक १३ गते १ बजेसम्मका लागि मात्र खुला गरेको छ । मौज्दात रहेमा मंगलबार ४ बजेसम्म बिक्री गरिने सूचनामा छ । चाँदीको गाई अंकित २५ ग्रामको, गाई अंकित , लक्ष्मी अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित १० ÷१० ग्रामका सिक्का प्रति व्यक्ति बढी पाँचवटा सम्म बिक्री गरिने जनाइएको छ ।

    पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले आज  उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।

    यसअघि अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।

     

    संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो । 

     

    “जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ । नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्‍याउने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।”

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुंगानाको शपथ ग्रहण

    काठमाडौँ  । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुंगानालाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

    वीरगञ्ज (पर्सा)। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिनुभयो ।

     

    “दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ”, उहाँले भन्नुभयो, “गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि पाँच हजार पाँच सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौँ । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइपलाइनबाटै ल्याइनेछ ।” परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस