Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक ११ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 147
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक ११ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ११ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    प्राइम कमर्सियल बैंकले नगद लाभांश दिने

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

    यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ ।यस रकमबाट नै सेयरधनीले कर तिर्नुपर्ने छ ।

    सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र

    पाटन । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ । 

     

    ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अवसरमा आज सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा डा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा ओ बोङ याङबीच हस्ताक्षर भएको हो । हस्ताक्षरसँगै पाँचबुँदे समझदारीपत्र आदानप्रदान गरिएको छ ।

     

    शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा पन्तले जानकारी दिनुभयो ।

    साताको पहिलो दिन शेयर बजार ओरालो तर्फ , नेप्से परिसूचक २६१७.९५

    काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार आरालोको बाटोबाट यात्रा शुरु गरेको छ ।

     

    नेप्से परिसूचक ९.१९ बिन्दुले झरेर २६१७.९५मा अडिएको हो ।

    आइतबार कुल ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८सय ६४ रुपैयाको कारोबार भयो ।

    १ करोड ११ लाख ३४ हजार १ सय ७८ शेयरको किनबेच भयो ।

    प्राधिकरणले आफ्नो अक्षमता लुकाउन उद्योगीहरूको बिजुली लाइन काटेको पीडित तथा प्रताडित उद्योगी समूहको आरोप

    काठमाडौँ । पीडित तथा प्रताडित उद्योगी समूहले नेपाल विद्युत् प्राधिकरण नेतृत्वले आफ्नो अक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उद्योगी समूहले यस्तो आरोप लगाएको  हो । 

     

    प्राधिकरणमा देखाइएको फर्जी नाफा, खरिद प्रक्रियामा भएको जालझेल , विद्युत् पूर्वाधार निर्माणमा गरिएको बेइमानी लगायतका विषयमा पोल खुल्ने डरले आम सर्वसाधारणको ध्यान अन्तै मोड्न प्राधिकरण योजनाबद्ध रूपले लागेको उद्योगीहरूले बताएका छन् । उनीहरूले एक प्रेस सम्मेलनको आयोजना गरी आइतबार यस्तो बताएका हुन् ।

    सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

    काठमाडौँ।  सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो ।

     

    सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छः स्वास्थ्यमन्त्री

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ । औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नेपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

     

    “ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन ।

    जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

    लुक्ला (सोलुखुम्बु)।  ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ । उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

    गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीका सन्ततिलाई नेपालको कला, संस्कृति तथा भूगोलसँग जोडेर पुर्खाको थातथलोका बारेमा जानकारी दिन र नेपालमा नै लगानी गर्नसक्ने अनुकूल वातावरणको सिर्जना गर्न नेपाल सरकार सधै प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को ‘ग्लोबल’ सम्मेलन तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य मजबुत बनाउन नेपाल सरकार सदैव तयार रहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “गैरआवासीय नेपाली दिवसका अवसरमा सङ्घले वार्षिक साधारणसभाका साथै गैरआवासीय नेपालीहरूको लगानी, गैरआवासीय नेपालीको नागरिकता, प्रवासी नेपालीको मताधिकार, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, महिला तथा युवाका विषयमा छलफल गर्नेगरी आयोजना गरिएको यो ग्लोबल सम्मेलनले सङ्घले उठान गरेका विषयमा नेपाल सरकारलाई नीतिगत सुधारका लागि पृष्ठपोषण हुने विश्वास सरकारले राखेको छ ।” गैरआवासीय नेपालीको यो कार्यक्रमले नेपालमा लगानीको वातावरण रहेको स्पष्ट सन्देश विश्व समुदायमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा लगानीको वातावरण उपयुक्त रहेको र त्यसका लागि वर्तमान सरकारले आवश्यक सहजीकरण गरी वैदेशिक लगानीमैत्री कानुनी तथा नीतिगत व्यवस्था गरेको बताउनुभयो ।

    उद्योगी व्यवसायीहरूद्वारा काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग संयुक्त रुपमा आग्रह

    काठमाडौँ । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् ।

     

    भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने उल्लेख गर्नुभयो ।

    चुच्चे नक्सा अंकित गरी सय दरको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिइयो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट  चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ सय दरको नोट छाप्न लागिएको हो ।गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर  ७ जेठ २०७७ मा संविधान संशोधन गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने देखिएको थियो ।

    प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

    काठमाडौँ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ । 

     

    प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याउनुभयो ।

    फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

    मनिला ।फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।

     

    आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

    राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।

    सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ ।

    भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी

    नयाँ दिल्ली ।भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ।

     

    बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिएभने र विमानलाई लडाकु विमानले बेलायत र सिङ्गापुरमाथिको आकाशमा पहरा दिएका थिए।

    सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ।

    यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

    काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

     

    सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले भन्सार छली मालवस्तु लोडगरिएको ट्रक र दुई जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठायो

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाठौँले भन्सार छली लोड गरी ल्याएको मालवस्तुसहितको ट्रक र पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठाएको छ ।विशेष सूचनाका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका वडान १४ कलंकीबाट  ना ७ ख ३४८१ नम्बरको ट्रकमा अवैधरूपमा भन्सार छली ल्याएको सामनसहित दुई जनालाई पक्राउ गरेको हो ।

     

    प्रहरीले जारी गरेको विज्ञप्तिमा पक्राउ व्यक्तिहरूमा जिल्ला मोरङ बेलाबारी नगरपालिका वडान २ बस्ने सवारी ३५ वर्षका  चालक विकास पोखरेल र जिल्ला रामेछाप मन्थली नगरपालिका वडान ३६का सह चालक यामलाल घिसिङ रहेका छन् भने उक्त ट्रकमा उलन ,क्याटराइज र भेलभेटका सर्ट २१०४ थान, साडी ६४ थान , जिरा १ बोरा र खुर्सानी १ बोरा रहेको उल्लेख गरिएको छ ।

    थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

    बागमती ।  स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो ।

    जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

    काभ्रेपलाञ्चोक।  पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।

    सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा ,प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ

    काठमाडौँ  । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा  पुगेको छ   । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हो  । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार सय रुपैयाँले बढेको छ।

     

    यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम गरेको  थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो। बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो ।
    त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।

    लघुवित्तमाथि मर्जरका लागि दबाब बढाउँदै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूमाथि मर्जरका लागि दबाब सिर्जना गर्न थालेको छ ।सहुलियत दिँदा समेत लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जाने उत्सुकता नदेखाएकाले राष्ट्र बैंकले दबाब सिर्जना गर्न लागेको हो ।

     

    नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले लघुवित्त वित्तीय संस्थाहरूमाथि मौखिक दबाब बढाउन थालेको बताएका छन् ।चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २०८२ असार मसान्तसम्म मर्जरमा जाने लघुवित्तलाई सहुलियत दिने व्यवस्था गरिएको छ। गत आर्थिक वर्ष ६ संस्था मर्जरमा गएर लघुवित्तको संख्या तीन वटा घटेको थियो।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    काठमाडौंँ ।  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गर्नुभयो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

    युनिलिभर नेपालको साधारण सभा भोलि बस्दै ,हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा

    काठमाडौं।  युनिलिभर नेपालको भोलि सोमबार कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

     

    सभाले कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका यो नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै हो ।   

    आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । यसका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा पनि छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

     

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस