Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 135
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १२ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन

    काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

     


    जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

    काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

     

         मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति ९एमड्याक० बैठकमा उहाँले भन्नुभयो, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”

     

    मातहतका कार्यालयमा रहेको बेरुजु घटाउन दिर्नेशन दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”

    सूचीकृत भए / नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद बिक्री प्लेटफर्म सञ्चालनमा

    काठमाडौँ । धितोपत्रको दोस्रो  बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर सहज रुपमा खरिद बिक्री गर्न सक्ने एक प्लेटफर्म सञ्चालनमा आएको छ । एन आई सी एशिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएकोको हो । दोस्रो बजारमा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सेवा क्यापिटलले दिई  आइरहेको छ । यो सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न धेरै किसिमका कानूनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्थालाई सहज गर्न यस्तो प्लेटफर्म सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ ।

    सिटिजन्स बैंकको साधारण सभा सम्पन्न,लाभांश वितरण गर्ने प्रस्ताव पारित

     

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको सभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।

     

    उक्त साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ४ प्रतिशतले हुने ५६,८०,३८,९६० रूपैयाँ २३ पैसा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

     

    मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

     

    कम्पनीले बिक्री गरिने १०० रुपैयाँ अंकित दरका एक करोड ७६ लाख १० हजार ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

    शेयर बजार : नेप्से परिसूचकमा २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा,५ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा २७.४१ अंकले बढेर २६४५.३६ बिन्दुमा आएको छ । आज ५ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
     २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । 
    यस दिन ३०७ कम्पनीको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र एलआइसी नेपाल रहेका छन् ।

    निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग

    काठमाडौँ ।निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । 

     

    इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गर्नुभएको हो । अध्यक्ष कार्कीेले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनालाई दिनुपर्ने ऋण प्रवाह गर्न नसक्नु, भारतबाट विस्फोटक पदार्थ आयातमा अनौपचारिक रोक लगाउनु, वन तथा वातावरण मन्त्रालयले रुख कटानको स्वीकृति नै नदिनु, सरकारी जग्गा प्राप्तिमा हदबन्दीलगायतका झमेलाले आयोजना समयमै बनाउन नसकिएको उल्लेख गर्दै विद्युत् उत्पादनको अन्तिम मितिको म्याद बढाउन आग्रह गर्नुभयो ।

    ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’

    हेटौँडा । काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताउनुभयो । 

     

    उहाँले हाल ११ नं प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताउनुभयो । “हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन”, प्रवक्ता केसीले भन्नुभयो,“हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ ।”

    एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
    भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    हाथवे इन्भेष्टमेन्टको खुद नाफा १२१.१९ प्रतिशतले  बढ्यो

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२१.१९ प्रतिशत धैरै हो ।
    हाथवेको सञ्चालन आम्दानी १२२ प्रतिशतले बढेर ४ करोड ८८ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड १९ लाख रुपैयाँ थियो । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस ५.४४ रुपैयाँ रहेको छ ।

    आज युनिलिभर नेपालको साधारण सभा , हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा

    काठमाडौं।  युनिलिभर नेपालको आज सोमबार कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

     

    सभाले कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका यो नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै हो ।   

    आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया  १० र बिक्रीदर एक सय ७४ रुपैँया  ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ ।

    तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

    काठमाडौँ । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताउनुभयो । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ ।

    अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

    किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन रु ९० हजार रहेको जानकारी दिनुभयो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत वर्ष रु ६०÷६५ हजार कारोबार भएको थियो । अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । ग्रेडिङ राम्रो भएको अलँैची रु ९० हजार र ग्रेडिङ नभएको नर्मल अलँैची रु ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ । पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

    सुनको मूल्य तोलामा चार सयले  घट्यो , प्रतितोला १ लाख ६७ हजार रुपैयाँ

    काठमाडौं।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । 

     

    आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ ।

    कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

    काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

     

    यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

    एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित

    काठमाडौँ । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । 

     

    काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन ।

    एमाले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको जग्गामा भवन निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासबाट  अल्पकालीन अन्तरिम आदेश जारी  भएको हो ।अधिवक्ता ज्ञानबहादुर बस्नेतले यो विवादमा रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । 

     

    अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । दरपिठ गरिएको सो रिट अगाडि बढाउन इजलासमा दिइएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेका थिए । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण समेत तत्काल अघि नबढाउन भनेको हो ।

    कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

    भैरहवा । रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ हुनुहुन्छ । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहनुभएको छ । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाउनुभएको छ । 

     

    तिहार आउन तीन मात्र बाँकी हुँदा दुवै भाइलाई बत्ती बाल्न प्रयोग हुने माटोको पाला बनाउन र त्यसलाई बिक्री गर्न भ्याइनभ्याइ छ । माग र लगन दुवै उत्तिकै भए पनि यही पेसाले चार जनाको परिवार पाल्दै आएका मोहनले माटो, दाउरालगायत आवश्यक सामान नपाइँदा समस्या भइरहेको बताउभयो । परासी, बुटवल, भैरहवा, खैरेनी र स्थानीय बजारमा पालाको माग रहेको उहाँको भनाइ छ । रूपन्देहीको धकधईमा यो पेसा गर्दै आएका करिब ३० परिवार छन् ।

    रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपाको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ ।

     

    सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।

    ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

    यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख  राजस्व सङ्कलन

    बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

     

    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट रु दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।

    ६० प्रतिशत निर्माण पूरा भएका जलविद्युत परियोजनाको पुँजीकरण गरिने ब्याज रिटेन अर्निङमा  सार्न सकिने

    काठमाडौँ । कर्जाको ग्रेस अवधिमा पुँजीकरण गरेको ब्याजलाई रिटेन अनिर्ङमा लैजान सकिने व्यवस्था गरिएको छ ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले  पुर्वाधार विकास बैंकको लगानी रहेका जलविद्युत परियोजनको ६० प्रतिशत निर्माण सम्पन्न भएको खण्डमा ग्रेस अवधिमा पुँजीकृत गरेको ब्याजलाई नाफा सार्ने बाटो खुलाएको हो ।राष्ट्र बैंकका  अनुसार ५० मेगावाट वा सो भन्दा माथिका विद्युत आयोजनाको ग्रेस अवधिको ब्याज पुँजीकरण गरी नियामकीय कोषमा राखेको रकम रिटेन अर्निङमा लौजानका लागि ६० प्रतिशत निर्माण सम्पन्न गरेको प्रमाणित हुनुपर्छ ।

    वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

    वीरगञ्ज(पर्सा। दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ । प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिनुभयो ।

     

     
     

     

     
     

     

     

    प्रतिक्रिया दिनुहोस