काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।
खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रवर्द्धन गर्न सकिने प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायी समक्ष आग्रह गरे ।
पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्रबिच महत्त्वपूर्ण छलफल भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चेम्बरका अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरे । नेपालमा लगानीको वातावरण एवं प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए ।