Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

यो धनतेरसमा राष्ट्र बैंकले करिब साढे अठार करोडको सुनको असर्फी र चाँदीका सिक्का बेच्यो


नया सडक

२०८१, कात्तिक १४ बुधबार

  • 441
    Shares

  • यो धनतेरसमा राष्ट्र बैंकले करिब साढे अठार करोडको सुनको असर्फी र चाँदीका सिक्का बेच्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले  धनतेरसका दिन १८ करोड रुपैयाँभन्दा बढीको सिक्का बेचेको छ । राष्ट्र बैंकले मंगलबार १८ करोड ४९ लाख ७९ हजार रुपैयाँ मूल्यका सिक्का बेचेको हो ।बैंकले बबरमहलस्थित टक्सार महाशाखामा सुन र चाँदीका सिक्का बिक्री गर्ने खुलाएको  थियो । २.५ ग्रामको असर्फी ४ हजार ५२० थान बिक्री भएको महाशाखाले जनाएको छ । असर्फी सीमित संख्यामा रहेका कारण बैंकले मंगलबार मात्र बिक्रीमा राखेको थियो।बैंकले असर्फी एक दिन मात्र बिक्री गर्ने भनेका कारण बिहानैदेखि ग्राहकको लाइन लागेको थियो।

    महाशाखाकी कामु निर्देशक सम्झना ढकालले राति ११ बजेसम्म असर्फी बिक्री गरेको जनाएकी छिन् । उनका अनुसार स्टकमा धेरै नभएकाले असर्फी मंगलबारका लागि मात्र बिक्रीमा राखिएको थियो । त्यसैले बिहानैदेखि लामो लाइन लागेको थियो । लाइनमा बसेका सबैलाई बिक्री गर्दा रातको ११ बजेको थियो ।राष्ट्र बैंकले गतवर्ष तिहारमा ६ दिनमा २.५ ग्रामको असर्फी ३ हजार १८१ थान बिक्री गरेको थियो। पोहोर ५ ग्राम र १० ग्रामका असर्फी पनि बिक्रीमा राखिएका थिए।५ ग्रामको असर्फी २ हजार ५६० र १० ग्रामको असर्फी २ हजार ५९४ थान बिक्री भएको थियो। यसपालि सुनको भाउ निक्कै महँगिएका कारण राष्ट्र बैंकले २.५ ग्रामको असर्फी मात्र बिक्रीमा राख्ने निर्णय गरेको थियो ।
    यसैगरी राष्ट्र बैंकले यसपालि चाँदीका सिक्का तथा मेडालिन मंगलबार १४ हजार ६०० वटा बिक्री गरेको छ।लक्ष्मी मेडालियन ३ हजार ३००, गणेश मेडालियन २ हजार ६००, गजलक्ष्मी २ हजार ९००, गाई मेडालियन २५ ग्रामको २ हजार ३०० र गाई मेडालियन १० ग्रामको २ हजार ५०० थान बिक्री भएको महाशाखाले जनाएको छ।बैंकले चाँदीका सिक्का बुधबार पनि बिक्री गरिरहेको छ । तर, मंगलबारको तुलनामा लाइन निकै कम छ। सुनचाँदीका सिक्का व्यवसायीहरुले समेत बिक्रीमा राखे पनि ग्राहकहरु राष्ट्र बैंकमा नै पुगेका हुन्।त्यसो त धनतेरसका दिन सुनचाँदी किन्दा समृद्धि हुने विश्वासमा सुनचाँदी पसलमा पनि मंगलबार ग्राहकको चाप बढेको थियो।ग्राहकले सुनचाँदी पसलमा भने गहना र भाँडाकुँडा किनेका थिए। व्यवसायीहरुले सुन चाँदी कति परिमाणमा बिक्री भयो भन्ने हिसाब निकालिसकेका छैनन्।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस