काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १४ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
इन्फिनिटी लघुवित्तको साढे ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५४ हजार ५१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमध्ये ३३ हजार ५१६ कित्ता सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (कात्तिक १४ गते) बाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ ।
समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ३७.५८ गुणा बढी आवेदन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ३७.५८ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज तेस्रो दिन (कात्तिक १४ गते) साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ३१ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
शेयर बजार :नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ बिन्दुमा , १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार
काठमाडौं । नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ । २ दिनमा ७४ अंक बढेपछि बुधबार सेयर बजारमा करेक्सन आएको हो । ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित भएको अनुमान गरिएको छ ।
यस दिन ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।
नेपाल रिपब्लिक मिडियाको साधारण सभा मङ्सिर १० गते , लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, काठमाडौं ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान साढे १० बजे सभा शुरू हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुकासाथै चालू आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सपोर्ट लघुवित्तको खुद नाफा ६३.०८ प्रतिशतले बढ्यो
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६३.०८ प्रतिशतले धेरै हो ।
संस्थाको खुद ब्याज आम्दानी ३४.३० प्रतिशतले बढेर १ करोड ९४ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड ४४ लाख रुपैयाँ थियो । यता, सञ्चालन नाफा १५.८५ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढ्दा नै नाफामा सुधार आएको हो ।
राजश्व चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयले बनायो संयुक्त रणनीति
काठमाडौँ । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि रणनीति तय गरेको छ । त्यसका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएको जनाइएको छ ।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द भएको छ ।
मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तसँगको मर्जर रद्द भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत गराएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम दुई कम्पनीबीचको मर्जर प्रक्रिया रद्द भएको बताइएको छ। राष्ट्र बैंकले यही कात्तिक २ गते पत्रमार्फत दुई कम्पनीको मर्जर प्रक्रिया रद्द गर्न निर्देशन दिएको बताइएको छ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन ।
बैठकले वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय गरेको छ । साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा , पुस ४ गते साधारण सभा
काठमाडौं । सोल्टी होटल लिमिटेडले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । नबिल बैंकले २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
यो धनतेरसमा राष्ट्र बैंकले करिब साढे अठार करोडको सुनको असर्फी र चाँदीका सिक्का बेच्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले धनतेरसका दिन १८ करोड रुपैयाँभन्दा बढीको सिक्का बेचेको छ । राष्ट्र बैंकले मंगलबार १८ करोड ४९ लाख ७९ हजार रुपैयाँ मूल्यका सिक्का बेचेको हो ।बैंकले बबरमहलस्थित टक्सार महाशाखामा सुन र चाँदीका सिक्का बिक्री गर्ने खुलाएको थियो । २.५ ग्रामको असर्फी ४ हजार ५२० थान बिक्री भएको महाशाखाले जनाएको छ । असर्फी सीमित संख्यामा रहेका कारण बैंकले मंगलबार मात्र बिक्रीमा राखेको थियो।बैंकले असर्फी एक दिन मात्र बिक्री गर्ने भनेका कारण बिहानैदेखि ग्राहकको लाइन लागेको थियो।
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो बिन्दुमा ,प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ
काठमाडौँ । आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २१ सय ५ रुपैयाँ कायम रहेको थियो ।
बक्यौता बिजुली महशुल नबुझाउँदै उद्योगीहरूको लाइन जोडिए आन्दोलन गर्ने कर्मचारी युनियनहरूको चेतावनी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगमा महशुल नबुझाउँदै लाइन जोड्ने निर्णय गरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।प्राधिकरणका दुईवटा कर्मचारी युनियनले बुधबार ऊर्जामन्त्री दीपक खड्कालाई पत्र लेखे यस्तो चेतावनी दिएका हुन् । कर्मचारी युनियनहरूले बक्यौता महसुलको किस्ता तिर्न सुरु नगरेको अवस्थामा लाइन जोड्ने निर्णय नगर्न पत्रमा चेतावनी दिइएको हो ।
प्राधिकरणको राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले लाइन जोड्नेभन्दा महसुल उठाउने तिर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल विवादलाई स्थायीरुपमा समाधान गर्नका लागि सहजीकरण गर्न अनुरोध गर्दै पत्रमा उनीहरूले अन्यथा डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएका छन् ।
इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममाः एचआरडब्ल्यू
बेरुत ।लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ।
युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियालीहरू एक महिनामा लेबनानस्थित शरणार्थी केन्द्रहरूबाट स्वदेश फिर्किएका छन् ।
“लेबनानबाट भागेका सिरियालीहरू, विशेष गरी पुरुषहरूले सिरियाली अधिकारीबाट स्वेच्छाचारी हिरासत र दुर्ब्यबहारको जोखिम मोल्छन्,” समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक एडम कुगलले भन्नुभयो, “शङ्कास्पद अवस्थामा निर्वासनमा रहेकाको हिरासतमा भएका मृत्युले भाग्नेहरूलाई स्वेच्छाचारी नजरबन्द, दुब्र्यवहार र उत्पीडनको खतरालाई उजागर गरेको छ।
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौँ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति नगरप्रमुख बालेन्द्र साहद्वारा चिन्ता प्रकट
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।
आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताउनुभयो ।
“अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ”, प्रमुख शाहले भन्नुभयो, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”
मखन र कालीमाटी क्षेत्रका ड्राइफ्रुट्स पसलहरूमा छापा, चाडपर्वको बेला दुःख दिन खोजेकोमा व्यापारीहरू निराश
काठमाडौं । तिहारको पूर्व सन्ध्यामा मखन र कालीमाटी क्षेत्रका ड्राइफ्रुट् पसलहरूमा छापामारी गरिएपछि व्यापारीहरू निराश भएका छन् ।कार कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरपालिकाले ड्राइफ्रुट्सका पसलहरूमा छापा मारेका हुन् ।
तिहारको मुखमा यसरी छापामारी गर्नु भनेको व्यापारीहरूलाई तर्साउनु बाहेका अन्य केही हुन सक्ने न्यूरोड क्षेत्रका व्यापारीहरूले बताएका छन् ।त्यसपनि दशैँको मुखमा चीनतर्फको बाटोबाट ल्याउने गरिएको ड्राइफ्रुट्स र फलफल रोकिएर व्यापारीहरूलाई घाटा भएकै थियो । मुख्य व्यापार हुने बेला छापामारी गरी थप दुख दिइएको ती व्यापारीले नया सडकसँगको कुराकानीमा बताए ।विभिन्न बहाना बनाउँदै उनीहरूले विभिन्न पसलहरूमा छापामारेका हुन् ।
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो ।
उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो ।
कलाकार रमेश दुलालले गरे काग सम्मेलन, काग सम्मेलनमा सयौँ काग एकै ठाउँमा भेला
काठमाडौँ । ‘२१औँ काग सम्मेलन’ बुधबार बिहान सम्पन्न भएको छ । काग तिहारको विशेष अवसर पारेर जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरुमा झैँ यो वर्ष पनि कागहरुलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।
राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले सम्मेलन सम्पन्न भएसँगै भने। उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।
‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । सोहीअनुसार कागको स्वाभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए । दुलालले विगतमा आफूले नाकाबन्दीका विरुद्ध भारतीय दूतावास अगाडिसमेत काग सम्मेलन गरेको स्मरण गर्दै आजको सम्मेलन भने साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले जितोस् भन्ने कामनाका साथ गरिएको बताए ।
विश्वकप क्रिकेट लिग–२ :नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित
काठमाडौँ । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।