काठमाडौँ ।नेपाली युवा युवतीहरूसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनले ल्याएको एक कार्यक्रम राजनीतिक तथा कूटनीति क्षेत्रमा चर्चा पाइरहेको छ ।चीनले नेपालका ‘देशभक्त’ र ‘अग्रणी’ युवाहरूलाई ‘सशक्तीकरण गर्ने’ उद्देश्यका साथ युवा आदानप्रदान कार्यक्रम घोषणा गरेयता त्यसले चर्चा पाइरहेको देखिएको हो ।काठमाडौँस्थित चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा ‘नेपालको सामाजिक र आर्थिक विकास र रूपान्तरणमा प्रतिबद्ध युवाहरूलाई उक्त कार्यक्रमका लागि आवेदन गर्न’ आग्रह गरेका छन् ।नेपालको दक्षिणी छिमेकी भारत र अमेरिकासहित कतिपय पश्चिमा देशहरूले यस्ता कार्यक्रम विगतदेखि नै सञ्चालन गर्दै आएका छन् ।
जनस्तरमा कूटनीतिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमको चलन भइआएको देखिन्छ ।चिनियाँ राजदूतावासले आफ्नो वेबसाइटमा राखेको विवरणमा १८ देखि ३२ वर्ष उमेरका नेपाली युवाहरूलाई उक्त ’चाइनिज एम्बेसी युथ पायोनिअर प्रोग्राम’ (सीएनवाईपी)ले लक्षित गरेको उल्लेख छ ।आवेदकहरूसँग सो कार्यक्रममा सहभागी हुन एक वर्षको समय दिन भनिएको छ । चिनियाँ राजदूतावासले उक्त कार्यक्रमका सदस्यहरूले दुई देशबीच सांस्कृतिक दूतको भूमिका खेल्ने पनि जनाएको छ ।दूतावासको सूचनामा सीएनवाइपी चिनियाँ राजदूतावासको नेपालका युवा तथा देशभक्त अग्रणी व्यक्तित्वहरूलाई नागरिक आदानप्रदान, सांस्कृतिक आदानप्रदान र व्यक्तित्व विकासका मद्दतले सशक्तीकरण गर्ने एक प्रयास भएको जनाइएको छ ।
चीनको भ्रमण समेत कार्यक्रमको हिस्सा रहेको जनाउँदै त्यसमा नेतृत्व क्षमता विकाससम्बन्धी तालिम र गोष्ठी, भ्रमणको आदानप्रदान र चिनियाँ कूटनीतिज्ञ, विज्ञ तथा उद्यमीहरूसँग आदानप्रदान र सम्बन्ध विस्तारको अवसर योग्यता पुगेका १०–२० जना युवाहरूलाई प्रत्येक वर्ष सामेलन गराइने जनाइएको छ।राजदूतले मधेशी समुदायबाट पनि आवेदन गर्न प्रोत्साहित गर्दै त्यहाँका लागि कार्यक्रमहरू घोषणा गर्ने र त्यसमा सहभागिता र योगदान आवश्यक रहेको एक जवाफमा जनाएका छन् ।चीनलाई नजिकबाट नियालिरहेकाहरूका अनुसार राष्ट्रपति सी चिनफिङको नेतृत्वमा बेइजिङले सञ्चालन गरिरहेको आक्रामक कूटनीतिको हिस्साका रूपमा यसलाई लिन सकिने छ ।
नेपालमा यस्ता कार्यक्रमहरू अन्यदेशहरूले विगतदेखि गर्दै आएकोमा चीनबारे जनाउन पनि यस्तो कार्यक्रमलाई आक्रामकरूपमा आवश्यक भएको विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश र अन्तर्राष्ट्रिय क्षेत्रको अगुवाइ गर्ने अवस्थामा पुगेको देशलाई सबै क्षेत्रमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन् ।उनीहरूका अनुसार अब साइलेन्ट चीन होइन टकिङ चीन हो । नेपालमै आएर राष्ट्रपति सीले पश्चिमाहरूलाई थर्काएका थिए ।
भारत र चीनको बीचमा अवस्थित नेपालमा विभिन्न देशहरूले वर्षौँदेखि नियमितजसो नै युवा लक्षित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आए अनुसार संयुक्त राज्य अमेरिकाको दूतावासले २० देखि ३० वर्षका युवाहरूमा नेतृत्व क्षमता विकास, समुदाय र युवा लक्षित परियोजनामा सहभागिता लगायतको उद्देश्य राखेर स्थापना गरेको यूएस एम्बेसी यूथ काउन्सिल कार्यक्रमकोे एक दशकभन्दा पूरा भइसकेको छ ।उक्त संस्थामा ६०० जना भन्दा बढी सहभागी भइसकेको त्यसको वेबसाइटमा उल्लेख छ । अमेरिकाले युवा लक्षित विभिन्न छात्रवृत्ति र सांस्कृतिक आदानप्रदानसहितका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
त्यस्ता कैयौँ अवसरहरू नेपाली विद्यार्थीहरूलाई दिँदै आएको भारत सरकारले पनि आफ्नो विदेश मन्त्रालयको सहयोगमा ‘ सेन्ट स्टिभन कलेज नेबरहुड फर्स्ट फेलोसिप प्रोगाम’ सञ्चालन गर्दै आएको छ।त्यसमा नेपालसहित बाङ्ग्लादेश, भुटान, माल्दिभ्स, म्यान्मार र श्रीलङ्काका ३५ वर्षभन्दा मुनिका युवालाई सहभागी गराउने गरिएको छ ।