काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा होटलहरुको व्यापार र नाफाबीचको सम्बन्ध उल्टो देखिएको छ ।सामान्यरूपमा व्यापार बढ्दा नाफा बढ्ने हुने हुँदा पहिलो त्रैमासिकमा सूचीकृत होटलहरू व्यापार ८.०१ प्रतिशतले बढे पनि खुद नाफा १२.८२ प्रतिशतले खुम्चिएको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटलको पहिलो त्रैमासिकमा खुद नाफा १२ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।नेप्सेमा सूचीकृत ६ वटा होटल कम्पनीले पोहोर पहिलो तीन महिनामा १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यो वर्ष ३ वटा कम्पनी खुद नाफा बढाउन सफल भएका हुन् । बाँकी तीन मध्ये २ वटा घाटामा गएका छन्। सिटी होटल र कालिन्चोक दर्शन प्रालि घाटामा गएका हुन्।
खुद नाफा सिटी होटलको ५ करोड ६२ लाख र कालिन्चोक दर्शन प्रालिको ८५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । सिटी होटल पोहोर पहिलो तीन महिनामा पनि ६ करोड ३ लाख रुपैयाँ घाटामा थियो। कालिन्चोकले भने २ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।यो वर्ष व्यापार ४७.७८ प्रतिशतले घटेका कारण कालिन्चोक घाटामा गएको हो। कालिञ्चोकले यो वर्षको पहिलो तीन महिनामा ४ करोड ४६ लाख रुपैयाँको व्यापार गरेको छ।
सिटी होटल पनि व्यापार बढाउन असफल भएको छ। यो कम्पनीको व्यापार ४.९२ प्रतिशतले घटेको छ। कम्पनीले तीन महिनामा ११ करोड २ लाख रुपैयाँको व्यापार गरेको छ।कालिन्चोक दर्शन प्रालि र सिटी होटल दुवैको प्रति शेयर आम्दानी ऋणात्मक छ । कालिन्चोकको १.४३ र सिटी होटलको ३.३६ रुपैयाँ ऋणात्मक रहेको उनीहरुले नै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।सिटी होटलका निर्देशक अक्षय गोल्यानले होटललाई ह्यात प्लेसबाट ह्यात सेन्ट्रिकमा रुपान्तरणका लागि कोठाहरु रेनोभेसनको काम हुँदा व्यापार बढ्न नसकेको र त्यही कारण घाटा भएको पनि जानकारी सार्वजनिक गरेका छन् ।
ओरियण्टल होटलको खुद नाफा ९७.६४ प्रतिशत घटेको छ। उसको खुद नाफा ३ लाख रुपैयाँमा सीमित भएको छ। व्यापारमा संकुचन र सञ्चालन खर्च बढ्दा यो होटलको खुद नाफामा असर परेको हो। पोहोर तीन महिनामा २१ करोड १४ लाख रुपैयाँको व्यापार गरेको होटलले यो वर्ष २१ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।ओरियण्टल होटलको प्रति शेयर आम्दानी ०.०३ रुपैयाँ र प्रति शेयर नेटवर्थ सबैभन्दा धेरै ३४३.५९ रुपैयाँ छ।सोल्टी, तारागाउँ रिजेन्सी र चन्द्रागिरि हिल्स भने खुद नाफा बढाउन सफल भएका छन्। खुद नाफा चन्द्रागिरि हिल्सले १९.७२, सोल्टी होटलले १८.३८ र तारागाउँ रिजेन्सीले ३.६४ प्रतिशतले खुद नाफा बढाएका छन्।
चन्द्रागिरीले १९ करोड ५८ लाख रुपैयाँको व्यापार गरेर २ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको हो। यो कम्पनीको व्यापार ५ प्रतिशतले घटेपनि सञ्चालन खर्च नियन्त्रण गरेर खुद नाफा बढाउन सफल भएको हो। पोहोर पहिलो तीन महिनामा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।सोल्टी होटलले सबैभन्दा धेरै १२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोर यसै अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। सोल्टीले यो वर्ष व्यापार २८.७० प्रतिशतले बढाएको छ। उसले तीन महिनामा ५१ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको हो।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन बर्तौलाले स्तरीय सेवाका कारण होटल व्यापार बढाउन सफल भएको जानकारी सार्वजनिक गरेका छन् ।तारागाउँ रिजेन्सीले तीन महिनामा २७ करोड ५२ लाख रुपैयाँको व्यापार गरी ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ। व्यापार १८.५२ प्रतिशतले बढी पनि तारागाउँले त्यो अनुपातमा खुद नाफा बढाउन सकेको देखिएको छैन् । सञ्चालन खर्च बढेका कारण उसको नाफा ३.६४ प्रतिशत भन्दा नबढेको हो।