काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ३ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सयपत्री हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले १०० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।कम्पनीको मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी गराएको छ ।
चेक बाउन्स मुद्दामा लामा पक्राउ
काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
प्रभु केवलकारले ३० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सोमबार सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा प्रभु केवलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । यो सम्झौता भए सँगै प्रभु केवलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढेको छ ।
प्रभु केवलकारको लगानीमा ३ वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा रहेको सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्कमा रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मङ्सिर २८ गते , लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीकोे मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले यहि मङ्सिर २८ गते शुक्रवार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा गर्ने निर्णय गरेको हो ।
सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनीले अन्य इजाजत प्राप्त घ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कामहरु अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा मङ्सिर २८ गते , लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीकोे मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले यहि मङ्सिर २८ गते शुक्रवार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा गर्ने निर्णय गरेको हो ।
सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनीले अन्य इजाजत प्राप्त घ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ती गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका कामहरु अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
लक्ष्मी सनराइज बैंकको ४० लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ४० लाख ६१ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर ३ गते) बाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
आज सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहने
काठमाडौं । आज शेयर बजारको कारोबार बन्द हुने भएको छ । पूर्व सभामख दमननाथ ढुंगानाको निधनका लागि शोक दिवसको रूपमा सरकारी बिदा घोषणा भएकाले शेयर बजार बन्द हुने भएको हो । शेयर बजार नियमितरूपमा सरकारी कामकाज भएको दिनमा खुला रहने भए अनुसार आजको शेयर बजार बन्द रहने छ ।
नेप्सेले आफ्नो बेवसाइटमा ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१।०८।०३ मा बसेको बैठकको सार्बजनिक बिदा दिने निर्णयानुसार आज सोमबार धितोपत्रको कारोबार नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।’ उल्लेख गरेको छ ।
पूर्वसभामुख ढुंगानाको निधनको शोक : सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
१७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सोमबार मंसिर ३ गते १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुनेछ । यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।
सानिमा बैंकको साधारण सभा मंसिर ४ गते , ५.२६ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न भोलि मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुझाएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो । वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रू दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । यो अवधिमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।
एडीबीको सहयोगमा बन्ने सिद्धार्थनगरको सडक निर्माण ठेक्का इकेके इन्फ्रास्ट्रक्चरलाई दिइयो
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरमा अर्ब रुपैयाँ बढीको सडक निर्माण ठेक्का ईकेके इन्फ्रास्ट्रक्चरले पाएको छ । सडक, फुटपाथ र ड्रेनेज बनाउन ९ कम्पनीले आवेदन दिएकामा ईकेके इन्फ्रास्ट्रक्चरलाई छनोट गरिएको हो।ईकेके इन्फ्रास्ट्रक्चरका अलावा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन, एआईपीएल–एनएएनसी जोइन्ट भेन्चर, एसपीजीसी–कुमार जेभी, विजय कन्स्ट्रक्सन इन्डिया प्रालि, रमन कन्स्ट्रक्सन, जीयाङछी–बानिया जेभी र आशिष निर्माण सेवा प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका थिए।यी कम्पनीहरुमध्ये सबैभन्दा कम रकम प्रस्ताव गरेका कारण ईकेके इन्फ्रास्ट्रक्चरलाई छनोट गरिएको छ । यो कम्पनीले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। शहरी विकास मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन ईकाईको अनुमतिपछि नगरपालिकाले ठेक्काका लागि गत चैतमा टेण्डर आह्वान गरेको थियो।
आज सोमबार सुनको मूल्यमा प्रति तोला एक हजार रुपैयाँले वृद्धि
काठमाडौँ । सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ निर्धारण भएको हो ।साताको पहिलो दिन तोलामा १०० रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस २६९२.९ डलर पुगेको छ। आइतबार सुन प्रतिऔंस २५६५ डलर थियो।चाँदीको मूल्य आज प्रतिऔंस ३०.७२ डलर छ।
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
काठमाडौँ । “हेलो १ मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो । उहाँको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन । मैले काठमाडौँ फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । चार दिनको पदयात्रा पूरा गरेर काठमाडाँै फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए ।
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
एनआरएन एकता महाधिवेशन गर्न उच्चस्तरीय समितिका संयोजक घलेले पहिलो बैठकबाट निर्णय लिँदै
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशन गर्न पूर्व अध्यक्ष शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले बैठक बोलाएको छ ।उच्चस्तरीय समितिका संयोजक घले निकटका अनुसार आगामी जेठसम्म एकता महाधिवेशन सम्पन्न गर्ने गरी यो बैठक बोलाइएको हो ।एनआरएनए विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले घले नेतृत्वको उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्न जिम्मेवारी तोकेको थियो ।सोही फैसला बमोजिम घलेले मंगलबारका लागि बैठक बोलाएका हुन् ।मंगलबार बोलाइएको पहिलो बैठकबाट एकता महाधिवेशनको विषयमा लिनुपर्ने आवश्यक निर्णय लिइने छ ।
महाधिवेशन अघि संघको विभिन्न देशमा रहेका शाखाहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने , सदस्यताको टुंगो लगाउनुपर्ने जस्ता विषयको टुंगो बैठकबाट लिइने अपेक्षा गरिएको छ ।
उद्योगीलाई प्राधिकरणबाट पठाइएको बिजुली भुक्तानी बिल अध्ययन गर्न उर्जामन्त्रीद्वारा समिति गठन
काठमाडौँ । ऊर्जा मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइनको विषयमा नेपाल विद्युत प्राधिकरणले काटेको बिलको विषयमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा. अरविन्द मिश्रको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका प्रवक्ता चिरञ्जिवी चटौतले जानकारी सार्वजनिक गरेका हुन् ।
समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट (सीए) सुजनकुमार काफ्ले र प्राधिकरणका पूर्व कर्मचारी श्रीराम राज पाण्डेलाई समावेश गरिएको छ । काफ्ले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष हुन् भने दुई महिनाअघि अवकाश पाएका पाण्डे प्राधिकरणको ग्रिड सञ्चालन विभागमा कार्यरत थिए।
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
ढाका ।बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ । यी व्यक्तिमाथि यस गृष्म ऋतुमा भएको जन विद्रोहमा सयौँ मानिसको मृत्युको आरोप लागेको छ ।
विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनका बीच अगस्ट ५ मा देश छोडेर हसिना भारतमा निर्वासनमा बसिरहनुभएको छ ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अक्टोबर १७ मा हसिना र पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू र सैन्य र नागरिक अधिकारीहरू सहित अन्य ४५ जनाका लागि पक्राउ पुर्जी जारी गरेको थियो । बङ्गलादेश अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सञ्चालन गरिरहेको छ ।
प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
गण्डकी। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गर्नुभएको हो । स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताउनुभयो ।
कार्तिकमा मालपोत कार्यालयबाट संकलन हुने राजस्व घट्यो
काठमाडौँ । मालपोत कार्यालयबाट संकलन हुने राजस्व कार्तिक महिनामा कम संलन भएको छ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । घर जग्गाको कारोबारमा हुनुपर्ने सुधार आउन नसकेकोले राजस्व संकलनमा कमी आएको देखिएको हो ।असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलन घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन (1 ton CO2e Emission) उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो ।
यद्वपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो।एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।