Logo

Nov 19 2024 | २०८१, मंसिर ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, मंसिर ४ मंगलबार

  • 108
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ४ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

    काठमाडौँ । जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड)अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

    अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

    उक्त अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् विद्युत् वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ । नेपालको विद्युत् वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत् आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने जनाइएको छ । 

    यस परियोजना अन्तर्गत भरतपुर ९बागमती प्रदेश०, बुटवल–भैरहवा ९लुम्बिनी प्रदेश० र पोखरा ९गण्डकी प्रदेश० लगायतका क्षेत्रलाई प्राथमिकता दिइनेछ । ऊर्जा दक्षता र विद्युत् आपूर्ति विश्वसनीयता सुधार गर्दै लक्षित क्षेत्रका जनतालाई दिगो रूपमा विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्य परियोजनाको छ । सन् २०२५ देखि सुरु हुने विद्युत् वितरण सुदृढीकरण परियोजनालाई सरकारको वार्षिक बजेट प्रणालीमा समावेश गरिने सम्झौतामा उल्लेख छ ।

    चालु आवको तीन महिनामा ५ अर्ब १५ करोडको धितोपत्र सूचीकृत, पौने पाँच अर्बको एफपीओ निष्काशन अनुमति

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो तीन महिनामा ५ अर्ब १५ करोडको धितोपत्र सूचीकृत गरिएको छ ।३ अर्ब ४३ करोड बराबरको बोनस शेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपीओ गरी कूल रु ५ अर्ब १५ करोड बराबरको धितोपत्र सूचीकृत गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।समीक्षा अवधिमा  नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड  बराबरको हकप्रद  शेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब  ७६ करोड बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको छ ।

     

    गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको पहिलो तीन महिनामा ९सय बिन्दुले बढी रहेको  थियो ।  २०८०को असोज मसान्तमा नेप्से सूचकांक १८६४.६२ रहेकोमा २०८१को असोज मसान्तमा नेप्से सूचकांक २७४२.८९ बिन्दुमा रहेको राष्ट्र बैंकले पुँजी बजार परिदृश्यमा जनाएको छ ।२०८१को असोज मसान्त सम्म धितोपत्र  बजार पुँजीकरण दोब्बरले बढेको छ । २०८१को असोज मसान्तमा ४३ खर्ब ६१ अर्ब ४५ करोड कायम भएको  छ भने २०८०को असोज मसान्तमा बजार पुँजीकरण २८खर्ब ६१ अर्ब ५२ करोड मात्र रहेको थियो ।

    चालु खाता र शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

    काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।

     

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । 

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ५९ अर्ब ६५ करोडले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ रू दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रू चार अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रू एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९ईक्विटि मात्र० रू तीन अर्ब ३८ करोड रहेको थियो ।

    गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

     

    “२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ ।”

    शेयर बजार : नेप्से परिसूचकमा ५१.११ अंकले घटेर  २७०२.६५ बिन्दुमा, १० अर्ब ४६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ५१.११ अंकले घटेर  २७०२.६५ बिन्दुमा आएको छ । यस दिन १० अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छन् । 
    यस दिन ३१० कम्पनीको २ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र पोखरा फाइनान्स परेका छन् ।

    कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय ५० करदाता पुनरावलोकनमा

    काठमाडौँ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । 

     

    आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको रु दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो ।

         “आर्थिक वर्ष २०८०÷८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम रू एक खर्ब ३० अर्ब २४ करोड  छभने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम रू एक खर्ब २३ अर्ब ८० करोड छ”, विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । 

     

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रू चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०३ रुपैयाँ तोकेको छ । 

    यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आजदेखि ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

    सुपरमाई हाइड्रोपावरको साधारण सभा मंसिर २८ गते , लाभांश पारित गर्ने  प्रस्ताव

    काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सुपरमाई हाइड्रोपावरले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा लिसरा रिसेप्सन प्रालि, नक्साल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते , २५.५० प्रतिशत लाभांश पारित गर्ने  प्रस्ताव

    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद  गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

     गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

    श्वेतगंगा हाइड्रोपावरको साधारण सभा मंसिर ६ गते

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंगलबार मंसिर ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह

    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । 

     

    मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गर्नुभयो ।

    चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ : मन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिर्वतन र चुरे दोहनका कारण तराई मधेस क्षेत्रमा पानीसँग सम्बन्धित जटिल समस्या उत्पन्न हुने बताउनुभएको छ ।

     

    खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाल पानीको धनी मुलुक भए पनि वातावरणीय प्रभाव र चुरे दोहनका कारण पानीका मुहान सुक्न थालेकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताउनुभयो । 

     

    मन्त्री यादवले भन्नुभयो, “तराई मधेस क्षेत्रमा धमाधम चुरे दोहन गरिँदै छ, यसले गर्दा पानीका मुहान सुक्दै जान थालेका छन् । पानीको समस्या हुँदै आएको छ ।” उहाँले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचे वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गर्नुभयो ।

    डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

    डडेल्धुरा ।  डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो । 

     

    इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।

    शेष घलेसहित उच्चस्तरीय बैठक बस्न जाँदा एनआरएनएको कार्यालयमा ताला, बैठकको लागि विकल्प खोज्दै घले

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले कार्यालय बन्द गर्ने अकल्पनीय भएको बताएका छन् ।बद्री केसी पक्षबाट कार्यालय बन्द भएको कार्यलाई संयोजक घलेले नसोचेको कार्य भनी टिप्पणी गरेका हुन् । सर्वोच्च अदालतको फैसला बमोजिम एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको र घले सो बैठक गर्न जाँदा कार्यालय बन्द भएको पाए ।

     

    मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि उनी कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी पक्षले  निर्धारित बैठक भाँडेको छ ।

    ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन ९एफएओ०का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ ।

     

    ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा वृद्धि र ग्रामीण समुदायको जीविकोपार्जनमा गरेको सहयोगको सराहना गर्नुभयो ।

    शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ । 

     

    विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उहाँले सम्मान गर्नुभएको हो । 
    प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।

    पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण

    पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।

     

    खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक“ र “नौ आतङ्कवादी“ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् । 

    पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ ।

    तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

    मदिरा पेय पदार्थको निर्यात वृद्धि दर विगत पाँच वर्षयता २ सय प्रतिशत भन्दा बढीसम्म

    काठमाडौँ । मदिरा पेय   पदार्थको निर्यात वृद्धि दर विगत पाँच वर्षयता २ सय प्रतिशत भन्दा बढीसम्म भएको पाइएको छ ।मदजन्य पदार्थहरूमा बियर, रम, भोडका ह्विस्कीको निर्यात अवस्था राम्रो रहेको पाइएको छ । यसले आयातलाई प्रतिस्थापन गर्दै गएको वा आन्तरिक र बाह्य बजारमा आफ्नो स्थान ओगटि रहेको सरकारी तथ्यांकले देखाएको छ ।
    नेपालबाट गत ५ आर्थिक वर्ष (आव)मा बियर निर्यात परिमाण र निर्यात मूल्यको आधारमा राम्रो तथा आकर्षक देखिएको भन्सार विभागको प्रतिवेदनले जनाएको छ ।गत ५ आवमा बियरको निर्यात परिणाम ३९ प्रतिशत वार्षिक औसत वृद्धि भएको छ भने मूल्यको आधारमा ३७.२ प्रतिशत औसत वृद्धि भएको सरकारले जनाएको छ । आव २०७५÷७६मा  ५ करोड १६ लाख बराबर ६ लाख ८४ हजार ३ सय ८६ लिटर निर्यात गरिएको थियो भने आव २०७९÷८०मा १८ करोड २७ लाख बराबरको २५ लाख ६२ हजार  १ सय ४३ लिटर बियार निर्यात गरिएको जनाइएको छ ।

    सुनको मूल्य तोलामा ११ सय सयले बढ्यो , प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ

    काठमाडौँ  । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

    वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो

    काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ ।

     

    नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।

     

     

     

    प्रतिक्रिया दिनुहोस