काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ५ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
पहिलो चौमासिकमा रु १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको भाउ सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३२३ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ८१ लाखभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र नेपाल फाइनान्स परेका छन् ।
छ्याङ्दी हाइड्रोपावरको साधारण सभा पुस ५ गते
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते एकैपटक गर्ने भएको छ । सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ ।
कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।
साथै सभाले गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको कुल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित)छ । मङ्सिर ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।
मुलुकको अर्थतन्त्रः बाह्य क्षेत्र सवल, आन्तरिक दबाबमै
काठमाडौँ । विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबाबमा रहेको देखिएको छ ।
केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । आयात चार दशमलव दुई प्रतिशतले घटेको र निर्यात छ दशमलव एक प्रतिशतले घटेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ दशमलव पाँच प्रतिशतले बढेको छ ।
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।
मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएकामा आजका लागि बढेर एकको खरिददर एक सय ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ ।
सिनामङ्गल डिपोमा आज आयोजित कार्यक्रममा निगमका उपनिर्देशक प्रदीप यादव र पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायणप्रसाद गौतमले सम्झौतापत्रमा हस्तक्षर गर्नुभयो । सम्झौताअनुसार पुल्चोक क्याम्पसले बढीमा छ महिनाभित्र डिपिआर निगमसमक्ष हस्तान्तरण गर्नेछ ।
डिपिआर तयार गर्न निगमले एक करोड ९८ लाख ८४ हजार एक सय ८३ रुपैयाँ ७३ पैसा उपलब्ध गराउनेछ । विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ ९एपिआइ० मापदण्डअनुसारको डिपो डिपो निर्माण गर्ने योजना छ ।
सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६३ हजार रुपैयाँ
काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ९०० रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ५० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३६.८२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३१.१७ डलरमा कारोबार भइरहेको छ ।
बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सफलतापूर्वक सम्पन्न
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित साझा पावर कम्पनी लिमिटेड मार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तरगत पहिलो व्लाष्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको आउटलेट तर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको हो । तल्लो बलेफी खोला जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित रहेको छ । यो जलविद्युत आयोजना काठमाडौंबाट ७२ किलोमिटर दुरीमा रहेको छ । यस जलविद्युत आयोजनाको बाँधस्थल बलेफिको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । यस आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ । उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ ।
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षणपत्र बुझाइएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।