काठमाडौँ । राजस्व अनुसन्धान विभागले वीरगञ्जको सन्दिप विरुद्ध बिगो र शतप्रतिशत बिगो जरिवाना गरी सवा २५ करोड बढीको मुद्दा दायर गरेको छ ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मंसिर ६ गते वीरगञ्ज महानगरपालिका वडान ६ स्थित स्थायी लेखानम्बर ६०९१४७७९९ भएका आर के एन्ड सन्सले राजस्व चुहावट गरेको कसूरमा प्रोप्राइटर सन्दिप सर्राफ विरुद्ध अभियोग पत्र दर्ता गरिएको विभागले एक विज्ञप्ति गरी जनाएको हो ।
सुन र सुनका गरगहना र चाँदी तथा चाँदीका गरगहना भन्सार चोरी पैठारी गरी ल्याई इस्टिमेट बिल , चलान बिल जारी गरी गरेको तथा राजस्व छली गर्नको लागि निजले ई बिलिङको इजाजत लिएतापनि सो बमोजिमको ई बिलिङ जारी नगरी गैर बीजकको प्रयोग गरी तथा बीजक नै प्रयोग नगरी गलत आय विवरण बुझाई राजस्व चुहावट गरेको कसूरमा मुद्दा दायर गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘ प्रतिवादीलाई सो कसूरमा राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण ) ऐन ,२०५२को दफा २ (छ१)बमोजिम रु १२,६७,६८,६४५÷१०(बाह्र करोड सतसट्ठी लाख अठसट्ठी हजार छ सय पैँतालीस पैसा दश मात्र ) बराबरको बिगो कायम गरी प्रतिवादी आरके एन्ड सन्स (स्थायी लेखा नम्बर ६०९१४७७९९ ) वीरगञ्जका प्रोपराइटर सन्दिप सर्राफलाई ऐ.ऐनको दफा २३को उपदफा (१)बमोजिम रु १२,६७,६८,६४५÷१०(बाह्र करोड सतसट्ठी लाख अठसट्ठी हजार छ सय पैँतालीस पैसा दश मात्र ) बिगो जफत हुन र बिगोको शतप्रतिशत जरिवाना समेतको सजाय तथा सोही उपदफाको खण्ड (घ) बमोजिम हदैसम्मको कैद सजायको मागदाबी लिई उच्च अदालतको अस्थायी इजलासमा वीरगञ्जमा मिति २०८१÷०८÷०६ गते अभियोग पत्र दायर गरिएको छ ।’