
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरिएको ६ वर्षमा करिब १८ लाख श्रमिक सूचीकृत भएका छन् ।सामाजिक सुरक्षा कोष अनुसार १७ लाख ९७ हजार ६४० श्रमिक सूचीकृत भएका हुन्। तीमध्ये १२ लाख ५३ हजार ५१५ श्रमिक वैदेशिक रोजगारमा रहेकाहरु हुन्।औपचारिक क्षेत्रका ५ लाख ४३ हजार ४९१, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ जना आबद्ध भएको कोषले जनाएको छ।सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो। योजना भने २०७६ साउनदेखि कार्यान्वयनमा ल्याइएको थियो। यो अवधिमा १९ हजार ६७९ रोजगारदाता कोषमा सूचीकृत भएका छन्। कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ।
कोषले विभिन्न सुविधा योजनाअन्तर्गत हालसम्म १ लाख ८० हजार ९२२ श्रमिकलाई ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम जम्मा भएको जनाइएको छ।सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सरकारको ध्यान केन्द्रित भएको बताए।
प्रधानमन्त्रीले भनेका छन् ‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ ,सरकार छ।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij