Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

श्रम बजार नयाँ भएसँगै शोषण पनि नयाँ, महासंघ चुप लागेर बस्दैनः जिफन्ट जिफन्टले श्रमिकका समस्या समाधानमा नयाँ ढंगले आन्दोलन थाल्ने

श्रम बजार नयाँ भएसँगै शोषण पनि नयाँ, महासंघ चुप लागेर बस्दैनः जिफन्ट जिफन्टले श्रमिकका समस्या समाधानमा नयाँ ढंगले आन्दोलन थाल्ने

  • काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बदलिँदो समयअनुसार श्रम बजार नयाँ भएसँगै श्रम बजारमा हुने शोषणका रुप पनि नयाँ नयाँ हुँदै गएको बताएका छन् । महासंघको पर्यटन क्षेत्रको एक घटक नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू)को ४५ औं स्थापना दिवसका अवसरमा सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार र माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गर्दै अध्यक्ष श्रेष्ठले आउटसोर्स लगायतका नाममा बजारमा नयाँ रुप र समस्या उदय भएको बताए । अब बजारका समस्या समाधान गर्न नयाँ ढंगबाट आन्दोलन थाल्नुपर्ने उनले बताए ।

    ‘अब नयाँ ढंगबाट आन्दोलन उठाउनु पर्छ । १० प्रतिशत सेवा शुल्क होस् या आउटसोर्सका साथीहरुले होटल–होटलबाट आन्दोलन थाल्नुपर्छ ।’ श्रमिकका समस्यालाई महासंघले टुलुटुलु हेरेर चुप लागेर नबस्ने चेतावनी दिँदै उनले श्रमिकका आन्दोलन र प्राप्त उपलब्धीको रक्षाका लागि एकताबद्ध आन्दोलन निरन्तर चलाइरहनुपर्ने बताए । जिफन्टले पुस १ गतेदेखि फागुन मसान्तसम्म ३ महिना प्रतिष्ठानका तल्लो तहसम्म पुगेर श्रमिकहरुका समस्या केलाउने उनले बताए । उनले तीन महिने अभियानबाट सत्य तथ्य पत्ता लगाई यूनियन आन्दोलनलाई बलियो राखिराख्न कदम चाल्ने संकल्प लिइएको बताए । हायात होटलमा आन्दोलन गर्ने डिल्ली बजगाईँ लगायतको टिमप्रति सम्मान व्यक्त गर्दै सबै होटल क्षेत्रलाई मजबुत बनाउन योजनाबद्ध रुपमा लाग्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

    यस्तै श्रमिकले राजनीतिमा हस्तक्षेप गर्ने दिन आएको पनि उनको भनाइ थियो । कार्यक्रममा नेस्वहोमयूका अध्यक्ष लक्ष्मण तिवारीले महासंघको संस्थापकमध्येको एक यूनियन नेस्वहोमयूको स्थापना दिवसका अवसरमा पर्यटन क्षेत्रमा क्रियाशिल श्रमिकहरुलाई शुभकामना दिँदै श्रमिक पक्षीय मुद्दाहरुलाई बुलन्द पारिरहने धारणा राखे । श्रमको संसार फेरिएको अवस्थामा समयसापेक्ष चल्नुपर्ने आवश्यकता आएको पनि उनको भनाइ थियो । तिवारीले १० प्रतिशत सेवाशुल्क सुरुवात नेस्वहोमयुले गरेको स्मरण गर्दै गुमेको शेवाशुल्क प्राप्तिका लागि एकताबद्ध र योजनाबद्धरुपमा लाग्नुको विकल्प नभएको धारणा राखे । कार्यक्रममा सर्वोत्कृष्ट ट्रेड यूनियन अवार्ड नेस्वहोमयू होटल पोखरा ग्राण्ड कास्कीलाई प्रदान गरिएको थियो । त्यस्तै स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार–२०८१ बाट नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट इकाईका सुरेश घिमिरेका सुपुत्र सुदिप घिमिरे र नेस्वहोमयू दि बेकरी क्याफे इकाईका विकेश देउलाकी सुपुत्री अंशु देउलालाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij