काठमाडौँ । शनिबारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल)पहिलो संस्करण सुरू हुँदैछ । खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुुभएको छ, “क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।”
सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गर्नुभएको छ । साथै, उहाँले शनिबार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल गर्नुुभएको छ ।
उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ । शनिबार हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।