Logo

Dec 05 2024 | २०८१, मंसिर २०गते

images

बुढानीलकण्ठ नगरपालिकाको ११ औँ स्थापना दिवस मनाइयो


२०८१, मंसिर १६ आइतबार

  • 180
    Shares

  • बुढानीलकण्ठ नगरपालिकाको ११ औँ  स्थापना दिवस मनाइयो

    काठमाडौँ । बुठानीलकण्ठ नगरपालिकाको ११ औँ स्थापना दिवस मंसिर १६ गते मनाइएको छ ।आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।हात्तीगौँडास्थित बुढानीलकण्ठ नगरपालिकाको परिसरमा आयोजित कार्यक्रमको सञ्चालन ९ नम्बर वडाकी वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले गरेकी थिइन् ।नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने विशेष अतिथिहरूमा  बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका माननीय मन्न बहादुर खड्का,   काठमाडौँ क्षेत्र नं. ४ (ख) का बागमती प्रदेश सभा सदस्य माननीय जयराम थापा ,बागमती प्रदेश सभा सदस्य माननीय मिना पराजुली , बागमती प्रदेश सभा सदस्य माननीय ज्ञान बहादुर तामाङ र अतिथिहरूमा , राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय लिली थापा , राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीलगायतको सहभागिता थियो । सहभागीहरूले नगरपालिकाको  उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

    बागमती प्रदेश, काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मंिसर  १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महांकाल , विष्णुबुढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । नेपालको राजधानीमा अवस्थित काठमाडौं जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये महानगरपालिका बाहेक जनसंख्याको आधारमा नेपाल भरीको दोस्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बुढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत शृंखला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

    यस नगरपालिकाभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् । विश्व मानचित्रमा यस बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमि रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस