Logo

Dec 05 2024 | २०८१, मंसिर २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, मंसिर १९ बुधबार

  • 123
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १९ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा

    काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । 

     

    आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

     

    कार्यक्रममा ढकालले विभिन्न २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ । उहाँले पुँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवम् इक्विटी डेरिभेटिभ आदिको विकासका लागि पहल गर्ने, लगानी व्यवस्थापन सेवा, लागि एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवा प्राप्तिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

    काठमाडौँ ।हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

     

    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष ९कन्ट्रोल रूम० भवन, बालुवा थिग्ग्रयाउने पोखरी ९डिस्याण्डर० र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

    लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

     

    राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

    सुपर हेवा पावर कम्पनीको साधारण सभा पुस ११ गते , आईपीओ निष्कासन गर्ने

    काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ११ गते गर्ने भएको छ ।

     

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय नागार्जुन न.पा.४ सितापाईलामा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

    सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्दै

    काठमाडौं ।  बैंकहरुमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।

     


    अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ। जसले गर्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।

    दुधकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा  पुस १० गते

    काठमाडौं । दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले पूँजी बृद्धिको प्रस्ताव गर्दै पुस १० गते तस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

     

    मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाकक्ष, दरबारमार्ग, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफबाट कुल १० दशमलव ६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ छ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९८ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १.९६४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समिति बैठकले १.८६५९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.०९८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

    आखिर नेपाल विद्युत् प्राधिकरणका अध्यक्षको कुर्सीमा बस्न आइपुगे ऊर्जा मन्त्री खड्का

    काठमाडौँ । आखिर नेपाल विद्युत् प्राधिकरणको अध्यक्षको कुर्सीमा बस्न ऊर्जा मन्त्री दीपक खड्का आइपुगेका छन् । प्राधिकरणको बोर्ड अध्यक्षको हैसियत समेत बोकेका  ऊर्जा मन्त्री खड्काले प्राधिकरणको परिसरमा आफ्नो कोठा बनाउन लगाएर कुर्सीमा बसेर कोठाको उद्घाटन गरेका हुन् ।

     

    प्राधिकरणका केही उच्च पदस्थ कर्मचारीहरूले उनलाई स्वागत गरेका छन् ।नेपाल विद्युत प्राधिकरणका  प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तह लगाउन प्राधिकरणमै बस्ने योजना बनाउँदै आएका खड्काले कोठमा आइपुगेको प्राधिकरण स्रोतले जनाएको  छ ।

    नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली

    इजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । “विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उहाँले भन्नुभयो, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।” प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गर्नुभयो । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्र्दै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताउनुभयो । उहाँले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताउनुभयो । उहाँले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताउनुभयो । “हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ ।

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    फुङ्लिङ (ताप्लेजुङ)  । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ ।

    नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    बेइजिङ ।  नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ । बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो ।चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो ।

    चालु आर्थिक वर्षको चार महिनामा १७ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता

    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता १७ अर्ब  बढीको आएको छ ।उद्योग विभागका अनुसार कात्तिक २०८१ सम्म १७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको हो ।वैदेशिक लगानी   पर्यटन क्षेत्रका साना उद्योगमा केन्द्रित रहेको देखिएको छ ।

     

    चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो चौमासिकमा १ सय ५४ उद्योग दर्ता भएका छन् ।यस अवधिमा अटोमेटिक रुटबाट मात्र १ सय ९ उद्योग दर्ता भएका छन् ।  त्यसमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता प्राप्त भएको देखिन्छ ।तथ्यांक अनुसार वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित छ । चालु आव पहिलो चार महिनामा दुई ठूला, एक मध्यम र १ सय ५१ साना उद्योग दर्ता भएका कम्पनीहरूमध्ये १ सय १३ उद्योग पर्यटन क्षेत्रसँग सम्बन्धित छन् ।

    ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

    सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको छ ।

     

    बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस