काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २० बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
फस्र्ट माइक्रोफाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत प्रतिशत र एनआरएनको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात एनआरएनको शेयर मूल्य रू. १ हजार ६१ दशमलव ९० र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको रू. ७३१ दशमलव १९ कायम भएको छ ।
शेयर बजार : नेप्से परिसूचकमा १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा,८ अर्ब ३६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा आएको छ । आज ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा २ वटा समूहको सूचकमात्र बढेको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय ७ कम्पनीको १ करोड ६७ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र एलआइसी नेपाल परेका छन् ।
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
बागमती ।हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले रु सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । ह्याविटयाट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
तारागाउँ रिजेन्सी होटल्सको ११ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर बाहेक) दिने घोषणा गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पेश गर्न आगामी पुस २५ गते साधारण सभा पनि बोलाएको छ ।
छिमेक लघुवित्तकोे १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रि ओपन सेसन : नेप्से सूचक १.५० अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५० विन्दुले बढेको छ । यससँगै सूचक २७५२.३७ अंकमा आएको छ । ७८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १३ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
२७ कम्पनीको भाउ बढेको छ भने ५२ वटाको मूल्य घटेको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डका बेला भएको सहमति टेकेर भएको राँगा भैसीको मासु चीन निर्यात गर्ने सम्झौता नेपालका लागि अवसर हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा गरेको ९ महत्वपूर्ण सम्झौतामध्ये एक ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल’मा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । यसबारे विशेषकुरा प्रष्ट हुन बाँकी रहेको भएपनि राँगाको मासु निर्यातलाई ठिक ढंगले विकास गरे यो नेपालको एक गेम चेन्जर हुन सक्ने देखिएको कतिपय सरोकारवालाहरूको भनाइ छ । झन् यसमा परम्परागत तड्का लगाइए त भन्न नसकिने लाभ प्राप्त गर्न सकिने च्यासल खड्गी टोलका व्यापारी बताउँछन् ।
नेपाल र चीन सरकारबीच गरिएको यो सम्झौता यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जाँदा गरिएको सहमति टेकेर भएको कृषि मन्त्रालयले जनाएको छ ।नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न स्वीकृति प्रक्रिया तीव्र पार्न प्रचण्डको चीन भ्रमण क्रममा सहमति भएको थियो । उक्त सहमति अनुसार नै अहिले चीन र नेपालबीच सम्झौता भएको हो ।
मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबीच भेटवार्ता
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्धिपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
वीरगञ्ज (पर्सा) । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् ।
वीरगञ्ज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाहबाट रु एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।
इतिहासकार राणाको निधन
काठमाडौँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उहाँ जन्मनुभएको हो ।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो । फर्किनुभएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताउनुभएको हो ।
एनएसीका आन्तरिक उडान बन्द हुने
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगम (एनएसी)को आन्तरिक उडान एक सातापछि बन्द हुने भएको छ । तेस्रो ट्विनअटर जहाजको उडान अवधि सकिन लागेकाले निगमको आन्तरिक उडान ठप्प हुन लागेको हो।
एनएसीका एक कर्मचारीले फ्लाइङ आवर सकिन लागेका कारण तेस्रो ट्विनअटर जहाज पनि ग्राउण्डेड गर्नुपर्ने अवस्थामा पुग्न लागेको बताए।ती अधिकारीका अनुसार अहिले उडान गरिरहेको जहाजको फ्लाइङ आवर अब ७० घण्टा मात्र बाँकी छ। एक सातापछि उडान बन्द हुन्छ । यो जहाजको देब्रे इन्जिन मर्मत सम्भार गर्नुपर्ने अवस्थामा भएपनि अहिलेसम्म प्रक्रिया नै सुरु गरिएको छैन।
एनपिएलः सुदूरपश्चिम रोयल्सको दोस्रो जित, काठमाडौं गुर्खाज ७३ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको सहज जित निकालेको छ ।
सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १५।५ ओभरमा ९४ रनमै समेटियो । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो ।
सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य
संयुक्त राष्ट्रसङ्घ ।राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य सङ्कटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान गरेको छ ।
’बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरूरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरूरी छ।”
एक वर्षका लागि सवा अर्ब बढीको मुद्दती बेच्दै नेपाल राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवा बढी बढीको मुद्दती बेच्न आवेदन आह्वान गरेको छ ।मंसिर २० गते एक सूचना जारी नेपाल राष्ट्र बैकले १ अर्ब ३७ करोड बराबरको मुद्दती विभिन्न तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती बेच्न लागेको जनाएको हो ।केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभागले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा बैंकको शर्त मान्ने गरी उक्त रकम ३६६ दिनका लागि मुद्दतीमा रकम लगाउन जनाएको छ ।
बैंकले २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गतेसम्मका लागि ३६६ दिनको लागि मुद्दतीमा राख्ने सक्ने बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त रकमको ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो । राष्ट्र बैैकले क वर्गका वाणिज्य बैंकलाई १ अर्ब ९ करोड ६० लाख ,ख वर्गका राष्ट्रियस्तरको विकास बैंकलाई २० करोड ५५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्तीय संस्थाहरूलाई ६ करोड ८५ लाख रकम बराबरको मुद्दती खरिद गर्न ब्याजदर २३ गते मंसिर७ बजे बेलुकासम्म आवेदन दिन आह्वान गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij