Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

चिनियाँ नाकाबाट शर्तसहित चोभारको सुक्खा बन्दरगाह सिधै ल्याउन पाउने रुट निर्धारण

चिनियाँ नाकाबाट शर्तसहित चोभारको सुक्खा बन्दरगाह सिधै ल्याउन पाउने रुट निर्धारण

  • काठमाडौँ । चिनियाँ नाकाबाट आयात गरी ल्याइने मालवस्तु सिधै चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याउन रुट तोकिएको छ । सरकारले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु शर्तहरूको अधीनमा रही ल्याउने गरी सडक मार्गको रुट तोकेको हो ।

    रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट सिधै मालवस्तु चोभार ल्याउने गरी रुट तोकिए अनुसार अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइने भन्सार विभागले जनाएको छ ।

    यसैगरी तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रबिसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल–धुलिखेल–बनेपा–साँगा–सूर्यविनायक–कोटेश्वर–बल्खु हुँदै चोभारस्थित बन्दरगाहसम्म सवारी लैजान पाइने जनाइएको छ ।

    गत २९ कात्तिकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चोभारस्थित सुक्खा बन्दरगाहलाई चिनियाँ नाकाबाट आउने सामानका लागि पनि खुला गर्ने निर्णय गरेको थियो । सोही सूचनामा विभागले आन्तरिक परिवहनका लागि सडक मार्ग तोक्न सक्ने गरी तोकिएको  थियो । नाकाबाट सवारीसाधन सिधै सुक्खा बन्दरगार ल्याउने क्रममा विभिन्न शर्त तोकिएको छ ।

    सूचनामा उल्लेख भए अनुसार प्रचलित बैंकिङ प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्ने , चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्ने छ ।
    यसैगरी प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय अनुशरण (ट्रयाकिङ ) प्रणाली भएको ताला लगाइएको हुनुपर्छ । तर गुडाएर लैजाने नयाँ सवारीसाधनका हकमा जीपीएस आवश्यक नहुने पनि जनाइएको छ ।

    काबुभन्दा बाहिरको परिस्थिति बाहेक आन्तरिक परिवहन लिएको ७२ घण्टाभित्र ढुवानी साधन काठमाडौँ चोभार पुगिसक्नु पर्नेछ ।  यसरी आएको सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने शर्त कै रूपमा राखिएको छ । सवारीसाधनलाई बाटोमा खोल्न, हेर्न र जाँच गर्न नपाइने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij