
काठमाडौँ । विदेशी सञ्चिति बढेको अवस्थाबाट फाइदा लिन सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यकता उद्योगी व्यवसायीहरूले औँल्याएका छन् । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालले आइतबार आयोजना गरेको ४८ औं वार्षिक साधारणसभामा सहभागी उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटो क्षेत्रमा ठूलो योगदान रहेको बताए । मन्त्री दाहालले गाडी बिजनेस गर्ने व्यवसायीहरूले व्यवसाय मात्र नगरी अर्थतन्त्रमा ठूलो योगदान पु¥याइरहेको बताए । गाडी व्यवसायीहरूको समस्यामा सरकारको भूमिका बारे राजनीतिक नेतृत्व चिन्तित रहेको धारणा मन्त्री दाहालले व्यक्त गरे ।
उनका अनुसार अब आयात मात्र नभई यहीँ उत्पादन गर्ने अवस्थामा पुग्नुपर्छ । अहिले एसेम्बल गर्ने अवस्थामा पुगेको अब निर्माण तहमा पुग्नुपर्छ । सरकार भौतिक पूर्वाधारलाई व्यवस्थित र दीर्घकालीन बनाउन लागिरहेको बताउँदै उनले मौद्रिक नीति कस्तो आउनुपर्छ र आउँछ भन्ने कुरा व्यवसायीलाई पहिले थाहा हुनुपर्ने बताए । सरकारले विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने तर यो मात्र विकल्प र समाधान नभएको पनि उनले जनाए । सरकारले व्यवसायीलाई मात्र पेल्ने नीति ल्याउन नहुने भन्दै उनले अहिलेको सरकारले सहजीकरण गर्छ र गरिरहेको विश्वास दिलाए ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रलाई अझ मूल्यांकन गर्नुपर्ने बताउँदै पछिल्लो समय देखिएको आर्थिक अवस्थाले अटो मोबाइल्स संकटतर्फ धकेलिएको चिन्ता व्यक्त गरे ।अध्यक्ष चौधारीका अनुसार एक लाख बढी जनशक्ति र १० लाख अप्रत्यक्ष रोजगार सिर्जना गरेको यो क्षेत्रमा संकट बढेकोले उपायको खोजी गर्नु पर्छ ।देशको राजस्वमा संकलनमा २१ प्रतिशत योगदान यो क्षेत्रको रहेको भन्दै अध्यक्ष चौधरीले अहिले आर्थिक मन्दीले घट्दो क्रममा छ यसले कति संकट भएको देखाएको जनाउँदै मौद्रिक नीतिले अटो मोबाइल क्षेत्र विरुद्ध पूरै पूर्वाग्रही दृष्टिकोण अपनाएको बताए ।
सरकारले अटोलाई प्रोत्साहन गर्न फेरि एक पटक दीर्घकालीन रणनीति ल्याउनुपर्ने बताउँदै उनले अब विद्युतीय सवारी साधनको विकल्प नरहेकाले यसलाई अझ प्रोत्साहन गर्नुपर्ने सरकारसँग आग्रह गरे ।कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले अटो मोबाइल्स क्षेत्रको दायरा बढ्दै गइ विद्युतीय सवारी साधनको प्रयोग बढ्दो भएको अवस्थालाई सरकारले ध्यान दिई नीतिगत सुधार गर्नुपर्ने बताए ।
सवारी साधनबाट लिने कर घटाउनुपर्ने बताउँदै अग्रवालले छिमेकी मुलुक भारतको तुलनामा चार गुणा महँगो भएको बताए । उनले करभन्दा पनि दायरा बढाउनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत हायर पर्चेज दर घटाउनुपर्ने सुझाउ दिए । नितिगत अस्थिरताका कारण अर्थतन्त्र सुधार हुन नसकेको बताउँदै उच्चस्तरीय आर्थिक सुधार आयोगले कतिपय नीतिहरू सुधार गर्नुपर्ने उनले बताए ।उनका अनुसार आर्थिक क्रियाकलाप खुम्चिएको अवस्थामा नीति बलियो बनाउनुपर्छ । खनिज निर्यातलाई अघि बढाउनुपर्छ । वातावरणीय प्रभावलाई खलल नपुग्ने गरी खनिज निर्यात गर्नुपर्छ । यस्तो कुरामा भावनामा बग्न हुँदैन ।बैंकको ब्याजदर एकल अंकमा आएको अवस्थामा पनि लगानी बढन नसकेको अवस्थालाई प्रस्तृत गर्दै उनले तत्काल नीतिगत परिवर्तन नगरे अझ आर्थिक मन्दी बढन सक्ने चिन्ता व्यक्त गरे ।
यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल विदेशी मुद्रा सञ्चिति पर्याप्त भए पनि अर्थतन्त्र चलायमान बन्न नसकेको स्थिति चिन्ताको विषय भएको बताए । ब्याजदर एकल अंकमा आए पनि लगानी बढ्न नसकेकोमा आम रूपमा निराशा छाएको उनले बताए ।उनका अनुसार पछिल्लो समय अटो क्षेत्र केही चलायमान भएको देखिए पनि हुनुपर्ने बिन्दुमा हुन नसकेको हो । सरकारले यसलाई चलायमान बनाउने नीति ल्याउनुपर्छ ।
नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालको सम्पन्न ४८ औँ वार्षिक साधारणसभामा संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो । २०३२ सालामा नाडाको सुरूवात गरेका सदस्यहरूलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको हो । सम्मान पाउनेहरूमा तोलाराम दुगड, डबलकाजी तुलाधर, महेन्द्रविक्रम पाण्डे, हुकुमचन्द्र दुगड, विजय गजानन्द वैद्य, सञ्जय खेतान, शिवकुमार अग्रवाल, उमेशचन्द जैन, मोहनगोपाल खेतान, प्रेमसुन्दर तुलाधर, फान्स सिंह, महेन्द्रविक्रम वंशी, ईश्वर गोपाल, नागराज गोयल, शिवप्रसाद गुप्ता र चरण सिंह रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij