काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस २ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केहीको जग्गा बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।
बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड ९बालाजु० लाई स्पष्टीकरण सोधेको छ ।
धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ ।
नागीडाँडा ग्रीनहिल्सले आइपीओ जारी गर्ने
काठमाडौं । नागीडाँडा ग्रीनहिल्स लिमिटेडले आइपीओ प्रस्तावसहित पुस २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ४६३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४४९.५१ रुपैयाँ कायम भएको छ ।
एनएमबि क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले ‘एनएमबि हाइब्रिड फन्ड एल-२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । फन्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ । यो बन्दमुखी योजना हो ।
शेयर बजार : नेप्से परिसूचकमा २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा,४ अर्ब ३४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा आएको छ । आज ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।\
माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनःसञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय ९पिक आवर०मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उहाँको भनाइ छ ।
साना किसान विकास लघुवित्तको साधारण सभा पुस २३ गते , १४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय बोडे, भक्तपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको प्रमुखमा सरुवा भएको केही दिनमै कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन्।सुपरिवेक्षण विभागमा सरुवा भएको केही दिनमै पोखरेलले माघ दोस्रो सातादेखि लागू हुनेगरी राजीनामा दिएका हुन।
सेबोनमा सुपरिवेक्षण विभाग प्रमुख रहेका पोखरेल २०७९ कात्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए।उनले सेबोन सञ्चालक समिति र कर्मचारीसामु व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो ।
चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गर्यो
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।आर्थिक वर्ष २०७९-८० मा भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बझाङमा भूकम्पको धक्का महसुस
चैनपुर । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।
केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।
वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग
काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान सुनिश्चित गर्न श्रमिक सङ्घसङ्गठनले माग गरेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले योगदानमा आधारित रकम नियमित नहुँदा श्रमिक समस्यामा परेका बेला सामाजिक सुरक्षा कोषको सुविधाबाट वञ्चित भएकाले त्यस्तो माग गरेका हुन् ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको पूर्वसन्ध्यामा आज जिफन्टले पत्रकार सम्मेलनमा आयोजना गरी वैदेशिक रोजगारमा जाने श्रमिकसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गरेको छ । सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिक÷योगदानकर्ता माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्न, प्रविधिको प्रयोग गरी रकम पठाउन, भरपर्दो र सहज बनाउन तथा नियमित योगदानलाई प्रोत्साहन गर्नका लागि प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । “श्रमिककोे योगदान नियमित नहुनाले कोषको स्किमअनुसार श्रमिक स्वयम् र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ”, उहाँले भन्नुभयो ।
राष्ट्र बैंकले एक महिनामा पाँच खर्ब बढीको तरलता सोस्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक महिनामा पाँच खर्ब बढीको तरलता सोसेको देखिएको छ ।नोभेम्बर १० देखि डिसेम्बर ८ सम्मको अवधिमा नेपाल राष्ट्र बैंकले ५ खर्ब बढीको तरलता तानेको हो ।२१ दिने निक्षेप संकलन बोलकबोल सम्बन्धी सूचना निकालेर राष्ट्र बैंकले विभिन्न मितिमा विभिन्न परिमाणको रकम तानेको हो ।
यस अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन गर्न जारी गरेको सूचनाका आधारमा नोभेम्बर १० का दिन ५० अर्ब ,१३ नोभेम्बर ५० अर्ब १७ नोभेम्बर ५० अर्ब , २० नोभेम्बर ४० अर्ब , २४ नोभेम्बर ५० अर्ब ,२७ नोभेम्बर १०० अर्ब, १ डिसेम्बर ५० अर्ब, ४ डिसेम्बर ५० अर्ब र ८ डिसेम्बरका दिन ७० अर्ब निक्षेप संकलन गरेको देखिएको छ । यो अवधिमा ५ खर्ब १० अर्ब निक्षेप संकलन गरिएको छ ।
भैरहवाका व्यवसायी भन्छन्– विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ ।
निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि सो विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ ।
नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री लेखक
लुम्बिनी । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।
गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधानमा भएको मौलिक हकको सुरक्षा गर्नु र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार लोकतन्त्रको पूर्वसर्त शान्ति सुरक्षा हो भन्नुभयो ।
सुनको मूल्य तोलामा २०० सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँ
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० सय रुपैयाँले बढेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५१ र चाँदी प्रतिऔंस ३० डलरमा कारोबार भइरहेको छ ।
लाभांश पारितका लागि लक्ष्मी सनराइज बैंकले बोलायो पुस २४ मा साधारण सभा
काठमाडौं ।लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक साधारण सभा पुस २४ गते बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
काठमाडौं ।चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रुपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।
साञ्जेन जलविद्युत् आयोजनाले गत मंसिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रुपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिए ।
आजको मौसम कस्तो रहला त ?
काठमाडौं।देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।
तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको महाशाखाले जनाएको छ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ । अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij