Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

चालु आवको मंसिर मसान्तसम्म पौने २१ अर्ब बढीको एफडीआई प्रतिबद्धता

चालु आवको मंसिर मसान्तसम्म पौने २१ अर्ब बढीको एफडीआई प्रतिबद्धता

  • काठमाडौँ । चालु आर्थिक वर्षमा पौने २१ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आव २०८१÷८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा २० अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो ।

    images

    उद्योग विभागका अनुसार मंसिर मसान्तसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता प्राप्त भएको छ । अप्रुभल रुट बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।गत आव सोही अवधिको तुलनामा १६ करोड बढी प्रतिबद्धता आएको देखिएको छ । गत आव मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।

    विभागका अनुसार यस वर्ष मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १ सय ३८ र अप्रुभल रुटबाट १ सय ८१ उद्योग दर्ता भएका छन् ।सरकारले वैशाखदेखि अटोमेटिक रुटबाट वैदेशिक लगानी स्वीकृति दिन थालेको थियो । योसँगै अहिलेसम्मको कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब ३० अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको छ ।


    यस वर्ष दर्ता भएका उद्योगमध्ये साना उद्योगमा लगानी प्रवाह बढेको देखिन्छ ।उद्योग विभागका अनुसार यस वर्ष दर्ता भएकामध्ये ३ सय १२ उद्योग साना छन् । ४ मझौला उद्योग दर्ता भएको देखिन्छ । ३ वटामात्र ठूला उद्योग दर्ता भएका छन् ।


    यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी आएका क्षेत्रमध्ये सबैभन्दा बढी आकर्षण पर्यटन र सूचना प्रविधिमा देखिन्छ ।उद्योग विभागका अनुसार पर्यटनमा १ सय ४५ उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता भएका उद्योगको ४५ प्रतिशत हुन आउँछ ।यसैगरी सूचना प्रविधिमा १ सय ६ उद्योग दर्ता भएका छन् । यो कुल उद्योगको ३३ प्रतिशत हो । सेवा क्षेत्रमा ४०, उत्पादनमूलक उद्योगमा २२, कृषिमा ५ र पूर्वाधारमा एउटा उद्योग दर्ता भएको समेत तथ्यांकले देखाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij