काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ९ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य १७ सय २२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
कुथेली बुखरी स्मल हाइड्रोपावको १० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७ सय ०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
नेको इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न , धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले नेकोलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न पुस ९ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले १ स् ०।२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यस्तै उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत रु १५ करोड बराबरको विविध सामग्री निर्यात भएको प्रमुख भट्टराईले बताउनुभयो । आयात सामग्रीको नियमानुसार मूल्याङ्कनबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्याङ्कन कार्य अगाडि बढिरहेको बताइएको छ ।
आज महुली लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं ।महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गरेको हो।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्काशन गरेको हो।
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च
काठमाडौँ ।सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब रू २५ खर्ब हाराहारी छ ।
“चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा रू ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण रू २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको छ ।
वर्णबास म्युजियम होटलले आइपीओ जारी गर्ने
काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका तीनवटै बाइपास सुरुङ छिचोलिए
काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ पूरा भएको छ।आयोजनाले अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु पूरा भएसँगै यस आयोजना अन्तर्गत पूरा गर्नुपर्ने तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु पूरा भएको थियो।
यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ। आयोजनाको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम पूरा भइसकेको छ । सुरुङमा लाइनिङको काम अझै सुरु भइसकेको छैन ।
भोलि क्रिसमसको सार्वजनिक बिदा , शेयर कारोबार बन्द रहने
काठमाडौं । भोलि बुधबार सार्वजनिक बिदा हुने भएको छ । मंसिर १० गते तदनुसार २५ डिसेम्बर २०२५ क्रिसमस परेको छ ।
इसाई धर्मावलम्बीहरूको हरेक वर्ष २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस मनाउने गरिन्छ । भोलि सार्वजनिक बिदाको दिन शेयर कारोबार बन्द रहने छ ।
सटिजन्स बैंक र इजी डेन्टल प्रा.लि. बीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टल प्रा. लि.मा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन्े विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै
काठमाडौं, पुष ९ – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ ।
यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९% ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् ।
नेपाल वायु सेवा निगमका आन्तरिक उडान बन्द
काठमाडौँ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिलेसम्म आन्तरिक उडान गर्दै आएको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड हुँदा सरकारी विमान सेवाको आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड भएको थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार उडान गर्दै आएको एक जहाजको पनि इन्जिनको उडान आवर सकिएका कारण आन्तरिक उडान अस्तिबाट बन्द भएको छ ।इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको उनले जनाए ।त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ ।
निर्माण व्यवसायीहरूबाट सावाँ ब्याज भुक्तानी नहुँदा बैंकहरूको नाफालाई असर पर्ने चिन्ता
काठमाडौैँ । निर्माण व्यवसायीले बैंकहरूको सवाँ ब्याज भुक्तानी नदिँदा उनीहरूको नाफालाई असर गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीलाई ऋणको साँवा ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म तन्काइदिए पनि त्यसले समाधान दिन नसकेको हो ।
सरकारले उनीहरुको भुक्तानी नतिरेको भन्दै उनीहरूले बैंकको भुक्तानी तिर्न नसकेको बताउँदै आएका छन् ।निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको कारण देखाउँदै साँवा ब्याज नतिरेका कारण बैंकहरुको खराब ऋण बढ्ने भएको छ। राष्ट्र बैंकले नै निर्माण व्यवसायीका कारण बैंकहरुको खराब ऋण १.५० प्रतिशतभन्दा धेरै बढ्ने आकलन गरेको छ।
बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो ।
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिनुभयो ।
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने
महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय निर्माण गरी सञ्चालन गर्न प्रदेश सरकारले सघाउने बताउनुभएको छ । मुख्यमन्त्री सिंहलाई भेटन सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका दृष्टिविहीनहरूले आवाससहित पठनपाठनको उचित व्यवस्थान गरिदिन अनुरोध गरेसँगै उहाँले प्रदेशको राजधानीमा आवाससहितको विद्यालय निर्माण र सञ्चालन गर्ने सन्दर्भमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । मुख्यमन्त्री सिंहले विद्यालय भवन बनाउन जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापन गरी पठनपाठनको वातावरण बनाउने उल्लेख गर्नुभयो ।
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
गलकोट (बागलुङ) । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । जिल्लामा उत्पादन भएको किबी बुटवल,काठमाडौँ र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ । विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौँसम्म लैजान थालिएको छ ।
सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम छ ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर तोलाको १८ सय ५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६१९.५६ डलरमा र चाँदी प्रतिऔंस २९.७१ डलरमा कारोबार भइरहेको छ ।
चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा : संसद् सचिवालय
काठमाडौँ ।चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार उहाँ स्वतः निलम्बनमा परेको उल्लेख छ ।
सो दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिन्छ”, भन्ने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।
वीरगञ्ज नाकाबाट आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीको आयात घट्यो
वीरगञ्ज ।वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।
गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व सङ्कलन गरेको थियो ।
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
काठमाडौँ ।सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
आकर्षक तलब र सुविधा दिने भनी विभिन्न प्रलोभनहरू देखाइ नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईसहित अन्य मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक, याहुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्माको कायिन प्रान्तको म्यावडीमा लगी जबर्जस्ती अवैध कार्यमा लगाइएको पाइएको भन्दै सो सम्बन्धमा विगतमा पनि सचेत गराइएको मन्त्रालयले सूचनामार्फत स्मरण गरिएको छ ।
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij