काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ११ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
काठमाडौँ । सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन। उनकाअनुसार सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपच नलिई क्यासिनो सञ्चालनलाई संवद्ध कसूर तोक्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा ,२ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार
काठमाडौँ । नेप्से सूचक ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा आएको छ । ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ४ वटा समूहको सूचक हरियो भएको छ । विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि नेप्सेमा सकारात्मक माहोल देखिएको हो । आज विकास बैंक, फाइनान्सलगायतका समूहमा भने बढी गिरावट आएको छ ।
यस दिन ३१० कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’
पाटन । सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्याय ः अबको बाटो’ विषयक छलफलमा सहभागी मानव अधिकारकर्मी, द्वन्दपीडित, नागरिक समाजका अगुवालगायतले सङ्क्रमणकालीन न्यायको विषयलाई काठमाडौँ केन्द्रित भएर मात्रै हेर्न नहुने भन्दै द्वन्द्वकालका घटना र न्यायिक निरुपणलाई द्वन्द्वपीडितमैत्री भएर हेर्न आग्रह गर्नुभएको हो ।
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुढाथोकीले सवारीसाधन आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २५ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय बस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ ।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित
काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिनुभयो ।
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।
विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्र्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
मलेसिया लगायतका देशमा जान स्वास्थ्य परीक्षण प्रणालीको सिण्डकेट अन्त्य भएको घोषणा गर्न सरकारलाई मेडिकल व्यवसायी संघको आह्वान
काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले सरकारलाई मलेसियालगायत अन्य देशको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य भएको घोषणा गर्न माग गरेको छ ।राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघले मलेसियामा सिण्डिकेट खारेज भइसकेको बताउँदै सरकारलाई यसको घोषणा गर्न भनेको हो ।
सरकारले सूचना सार्वजनिक नगरेकाले आशंका पैदा भएको जनाउँदै संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ त्यसैले चाँडै नै मलेसिया लगायत अन्य देशको स्वास्थ्य परिक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य भएको सुचना नेपाल सरकारको आधिकारिक निकायबाट प्रकाशित होस् भन्ने हाम्रो चाहाना छ । मलेसियामा मरि सकेको सिण्डिकेट नेपालमा यो वा त्यो बहानामा जन्मन नपाओस, दुई अर्ब भन्दा बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिव दश हजार व्यक्तिहरु आश्रित क्षेत्र तहस– नहस गर्दै सिण्डिकेट नलागोस् भन्नको लागि हामी सबै व्यवसायीहरु चनाखो हुन जरुरी छ ।’
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया बढाइयो
काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सरकारले सिफारिस समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट प्राधिकरण अध्यक्षको नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ ।
नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको को साधारण सभा पुस मसान्त भित्र नभए नभए के हुन्छ ?
काठमाडौं । आर्थिक वर्ष सकेको ६ महिना भित्र साधारण सभा सकिनुपर्ने सामान्य अवस्था रहेकोमा यस पटक चार बैंकहरूको साधारण सभा पुस मसान्त भित्र हुन नसक्ने देखिएको छ ।विभिन्न कम्पनी आर्थिक तथा व्यवहारिक स्वास्थ्यका लागि साधारण सभा समय भित्र भइसक्नुपर्ने कुरो महत्वपूर्ण मानिएको हो ।
धेरै बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसकेका हुने देखिएको भएपनि ४ बैंकहरू नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको साधारण सभा पुस मसान्त भित्र हुनेमा शंका उत्पन्न भएको छ ।बैंकहरूको नियामक संस्था नेपाल राष्ट्र बैंकबाट साधारण सभा गर्न पाउने अनुमति ‘एजीएम क्लियरेन्स’ यी चार बैंकहरूलाई प्राप्त भइनसकेको हो ।त्यसैले उनीहरूको साधारण सभा पुसपछि धकेलिने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकको गत वर्ष पनि समयमै साधारण सभा सम्पन्न हुन सकेको थिएन ।
जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताउनुभयो ।
“मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्टिकोणले विविधतायुक्त छ, यहाँको भू–भाग, जलवायु र वातावरणीय संरचनाले हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।” सङ्घदेखि स्थानीय तहका वडासम्म विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । मुलुक विपद् जोखिमको उच्च जोखिममा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्ने बतानुभयो ।
चोरी निकासी गरी ल्याउन खोजिएको साढे तीस लाख बराबरको मालवस्तु बारा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । बारा प्रहरीले साढे तीस लाख बढीको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।बारा जिल्ला प्रहरीबाट खटिएको प्रहरी नायब निरीक्षक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा न ७ जितपुर चोकमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक नम्बर ना ४ ख ३९८४मा बिलबीजक भन्दा बढी मालसामान फेला पारेको थियो ।
भारतबाट गहुँ ल्याउन सरकारको प्रयास निष्फल हुँदा नेपाली मैद्या उद्यमी समुद्रपारबाट गहुँ मगाउँदै
काठमाडौ । भारतबाट गहुँ ल्याउन सरकारको प्रयास निष्फल हुने देखेपछि उद्योगीहरूले गहुँको आपूर्ति समुद्रपारबाट गर्न थालेका छन् । यो माघमा नेपालका मैदा उद्योगहरूमा गहुँको अभाव हुने देखेर उद्योगीहरू समुद्रपारका देशहरूबाट गहुँ मगाउन थालेका हुन् ।उनीहरूले अस्ट्रेलिया र युक्रेनबाट गहुँको आयात गर्न थालेका छन्। भारत सरकारले नेपाललाई गहुँ आयातको कोटा नदिएकाले उनीहरूलाई टाढा जानुपरेको हो ।
गहुँको पछिल्लो सिजन २०८० को चैत र वैशाखमा स्टकिस्ट व्यापारी र उद्योगले खरिद गरेर भण्डार गरेको गहुँको सफाइ गर्न थालेका छन् । घुन र किरा लाग्दा औसत प्रति क्विन्टल गहुँमा ४ किलोसम्म धुलो निकाल्न थालेको मैदा उद्योग क्षेत्रका एक उद्योगीले जनाए ।
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ ।देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ ।
प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौँमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
भुगर्भ सिमेन्ट लिमिटेडलेआईपीओ जारी गर्ने तयारी
काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नेलगायत प्रस्ताव पारितका लागि यही पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
आज सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौँ । सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा छ ।
यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
आज बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ५० हजार तिनसय रुपैयाँमा
काठमाडौँ । नेपाली बजारमा आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प
एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ।आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।
एमाले सचिवालय बैठकको निर्णय : भीम रावल पार्टीबाट निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई जिम्मेवारी मुक्त
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।
“पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो ।