Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

  • काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    images

    मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताउनुभयो । किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताउनुभयो । भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिनुभयो । दुई मन्त्रीको भेटमा रक्षामन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।

    भेटमा नेपाली सेनाका महासेनानी धर्मेन्द्रकुमार झाले खाँदबारी–किमाथाङ्का सडकखण्डको अतिविकट खण्डमा ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले उक्त सडकका लागि हाल छुट्याइएको बजेट अपर्याप्त रहेको र बजेटको सुनिश्चितता भएमा आगामी दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने उहाँको भनाइ थियो । कोशी ल्हासा राजमार्गअन्तर्गतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म यसअघि नै सडक कालोपत्र भई यातायात सञ्चालनमा रहेको अवस्था छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्ड भने नेपाली सेनाले ट्रयाक खोल्ने तथा स्तरोन्नति गर्ने कार्य गरिरहेको छ । खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १५८.५१ किलोमिटर रहेको छ । उक्त दूरीमा पनि आंशिक रुपमा यातायातका साधान सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij