काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस १२ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
शुभ लक्ष्मी कोषको मंसिरमा खुद नाफा २४ प्रतिशत घट्यो
काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको खुद नाफा कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा २४ प्रतिशत कमी आएको छ ।
कात्तिक मसान्तमा फण्डले रू. ६ करोड २४ लाख नाफा कमाएकोमा मंसिर मसान्तमा रू. ४ करोड ७४ लाखमा झरेको हो । मंसिरमा फण्डको आम्दानीमा कमी आएपछि नाफा घट्न पुगेको हो ।
राष्ट्र बैंकद्वारा ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिटेन्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको हो । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ ।
राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको बताइएको छ । यस कदमले रेमिटेन्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले मङ्सिर मसान्तमा कमायो रू. १२ करोड २५ लाख नाफा
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले मङ्सिर मसान्तसम्ममा रू. १२ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा २४ दशमलव ८९ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू.१६ करोड ३१ लाख नाफा कमाएको थियो । मङ्सिर महीनामा फण्डको आम्दानीमा कमि आएकोले नाफा घटेको हो ।
आशा लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले लगानीकर्तालाई वितरण गरेको १४।२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
युनाइटेड अजोड इन्सुरेन्सको ४ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा संस्थापक सेयरधनी आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता सेयर रहेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २२५ रुपैयाँ तोकेको छ ।
दोस्रो स्टक एक्सचेन्ज खोल्न सिफारिस गरिएको प्रतिवेदन अर्थ मन्त्रालयमा
काठमाडौं । मन्त्रिपरिषद्ले धितोपत्र बजार सञ्चालनसम्बन्धी एउटा अध्ययन प्रतिवेदनलाई अर्थ मन्त्रालय पठाउने निर्णय गरेसँगै नेपालमा दोस्रो स्टक एक्सचेन्जको औचित्यबारे फेरि चर्चा सुरु भएको छ।
गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदनलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।
उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको समितिका संयोजकले बताएका छन्।समितिले गत वैशाखमै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक गरेको छैन।
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
बरहथवा । यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उहाँले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाउनुभएको छ ।
चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उहाँको योजना छ । “तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ”, उहाँले भन्नुभयो, ‘‘त्यसकारण पुस २५र२६ सम्म बेचिसक्ने योजना छ ।” तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ ।
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो ।
एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।
दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो ।
जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ ।
मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ । नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो । परियोजना सञ्चालन भएसँगै नार्कसँगको सहकार्यमा विभिन्न जातका माछाका भुरा उत्पादन गरी वितरण गर्न थालिएको परियोजना प्रमुख राजबाबु महर्जनले बताउनुभयो । नदी तथा खोलामा पर्यावरण सन्तुलनलाई कायम राख्नका लागि परियोजनाको जलायश तथा त्यससँग प्रभावित अन्य खोलाहरूमा भुरा छाडिदै आएको उहाँले बताउनुभयो ।
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
कटारी (उदयपुर) । कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । “अहिले पनि केन्द्रमा दुईवटा निलगाई, चार मृगको उपचार गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको दुईवटा निलगाईलाई बचाउन सकेनौँ ।” कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो ।
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्गअन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिनुभयो ।
उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।
स्वर्णिम होटलले आइपीओ जारी गर्ने
काठमाडौँ ।स्वर्णिम होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ ।
सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो , प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ कायम
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३३ डलरमा र चाँदी प्रतिऔंस २९ डलरमा कारोबार भइरहेको छ ।
दोस्रो स्टक एक्सचेन्ज खोल्न सिफारिस गरिएको प्रतिवेदन अर्थ मन्त्रालयमा
काठमाडौं । मन्त्रिपरिषद्ले धितोपत्र बजार सञ्चालनसम्बन्धी एउटा अध्ययन प्रतिवेदनलाई अर्थ मन्त्रालय पठाउने निर्णय गरेसँगै नेपालमा दोस्रो स्टक एक्सचेन्जको औचित्यबारे फेरि चर्चा सुरु भएको छ।
गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदनलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।
उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको समितिका संयोजकले बताएका छन्।समितिले गत वैशाखमै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सरकारले हालसम्म सार्वजनिक गरेको छैन।
यद्यपि अर्थ मन्त्रालयमा त्यसलाई पठाएसँगै अब दोस्रो धितोपत्र बजार स्थापनाको बाटो खुल्ने ठानिएको छ।नेपालमा हालसम्म धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मात्र सञ्चालनमा छ।
भारतीय अर्थतन्त्रको जग : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।
कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले सिंहको राति नौ बजेर ५१ मिनेटमा निधन भएको पुष्टि गरेको छ । सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
झापा ।कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो ।
आजको मौसम कस्तो रहला त ?
काठमाडौँ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह देखि भोली शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबदेखि कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भर्ने , अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामको शुल्क तिर्न नपर्ने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ ।
रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाकारणले यो वर्ष शुल्क उठाइने भएको छ।
यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो । चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो । शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै निःशुल्क गर्न भनेकी थिइन् । तर प्रक्रिया अगाडि बढेकाले निःशुल्क गर्न नसकिएको बोर्डको भनाइ छ ।
छाया सेन्टर विवाद : लगानीकर्तासँगै व्यवसायी पनि बाहिरिन थाले
काठमाडौं ।छायादेवी सेन्टरको विषयमा सर्वोच्च अदालतको सम्भावित फैसलालाई मध्यनजर गर्दै त्यसका सञ्चालक तथा बहालमा बस्नेहरू त्यहाँबाट बाहिरिन थालेका छन् ।
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको मुद्दाको सुनुवाई, बहस र हालसम्म प्राप्त तथ्य र प्रमाणका आधार आउनसक्ने फैसलालाई मध्यनजर गरी त्यहाँका सञ्चालकहरू सेयर फिर्ता लिने र बहालमा बस्नेहरूले धमाधम ठाउँ छाड्दै जान थालेका छन्।
काठमाडौं महानगरपालिका –२६, ठमेलको भगवान् बहालस्थित विक्रमशील महाविहारको पूर्वतर्फ सयौं वर्ष पुरानो कमलपोखरीमा बल मिच्याइँ गर्दै पृथ्वीबहादुर पाण्डेसहित शक्तिशाली ४३ व्यवसायीको समूहले व्यापारिक भवन छाया सेन्टर ठड्याएपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले न्यायालय गुहारेका थिए। कित्ता नं १६७ क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा र २ दाम जग्गा मासेर बैंकर पाण्डले छायादेवी कंम्पप्लेक्स बनाई २०७५ सालदेखि सञ्चालनमा ल्याएका हुन।
एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता
काठमाडौँ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयमा सहकार्य गर्न सिसिटिभी जडान गराउने सम्झौता–पत्रमा उल्लेख छ ।
यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ भने घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
© 2024 All right reserved to Nayasadak.com | Site By : Sobij