काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस १४ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
भोलि सार्वजनिक बिदा ,शेयर बजार बन्द रहने
काठमाडौं । सेयर बजार भोलि सोमबार बन्द हुने भएको छ । भोलि तमु ल्होछारको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
सात कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक,जीवन विकास लघुवित्त,आत्मनिर्भर लघुवित्त,कृषि विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था,मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले चिलिमे हाइड्रोपावरको १० प्रतिशत, मितेरीको ९ दशलमव ५० प्रतिशत , छिमेक लघुवित्तको ८ प्रतिशत, कृषि विकास बैंकको ३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत,जीवन विकास लघुवित्तको १४ प्रतिशत र र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजन पश्चात महालक्ष्मी विकास बैंकको शेयर मूल्य रू। ३७७ दशमलव ६७, जीवन विकास लघुवित्तको रू. १ हजार ३७८ दशमलव ०७, आत्मनिर्भर लघुवित्तको रू. ५ हजार ७१५ दशमलव ५४, कृषि विकास बैंकको रू.३२४ दशमलव १७, छिमेक लघुवित्तको रू.८६१ दशमलव २०, मितेरी डेभलमेन्ट बैंकको रू. ६३५ दशमलव ३९ र चिलिमे हाइड्रोपावरको रू.५१८ दशमलव १८ कायम भएको छ ।
वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनुभएको छ । नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।
“राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँदैछौँ ।”
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।
बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।
१८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दैछ । उक्त सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ्ग सेवा, डिजिटल÷नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न बैंकिङ्ग शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
पेस्तोलसहित एक युवक पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ ।
यस दिन ३१६ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।
एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तमा कमायो रू .१८ करोड ८८ लाख नाफा
काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले मंसिर मसान्तमा रू. १८ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ४३ प्रतिशत कम हो । फण्डले कात्तिक मसान्तमा रू. ३३ करोड २१ लाख नाफा कमाएको थियो । मंसिरमा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. ३४ करोड ९० लाख रहेकोमा मंसिर मसान्तमा रू. २० करोड ९९ लाखमा सीमित भएको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ २८ पैसा रहेकोमा मंसिर मसान्तमा १० रुपैयाँ ७१ पैसामा सीमित भएको छ ।
विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०आँै दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको बताउनुभयो । “दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको थियो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
रसुवा भन्सार कार्यालयबाट बिना भन्सार ल्याइएका झण्डै दुई करोड बराबरका ब्रान्डेड जुत्ताको मालिक खोज्दै राजस्व अनुसन्धान विभाग, दुई दिनदेखि रसुवागढी भन्सार नाका ठप्प
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको एक कन्टेनर ब्रान्डेड जुत्ताको मालिकको खोजी र अनुसन्धान तीव्र पारेको छ । गत मंसिर ४ गते नुवाकोटबाट ना ३ ख ७०१ नम्बरको ब्रान्डेड जुत्ता लोड गरिएको कन्टेनर विभागले नियन्त्रणमा लिएको थियो ।
रसुवा भन्सार कार्यालयबाट छुटेको उक्त कन्टेनरमा प्रज्ञापन पत्रमा उल्लेख भएको सुटकेश , सिरक तथा बल्यान्केटको सट्टा ब्रान्डेड जुत्ता भेटिएको थियो । प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा फरक मालवस्तु भेटिएपछि तीव्र अनुसन्धानमा लागेको राजस्व अनुसन्धान विभाग जुत्ताको वास्तविक मालिक पत्ता लगाउने र भन्सार राजस्व छल्ने तरिकाको जरा पत्ता लगाउने कार्यमा जुटेको छ ।
काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।
“महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भन्नुभयो, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।”
हुम्लामा लगातार हिमपात
हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।
हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराउनुभयो । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो ।
कृषि तथा पशुपन्छी मन्त्रालयका साढे ६ लाख अमेरिकी डलरका दुई परियोजना डिसेम्बरमा सकिँदै
काठमाडौँ । डिसेम्बर २०२४मा साढे ६ लाख अमेरिकीडलरका कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका दुई परियोजना समाप्त भएका छन् । इन्टरनेशनल इकोनोमिक कोपरेशन कोर्डिनेशन डिभिजन स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर असिस्ट्यान्स २०२४÷२५ अनुसार सन् २०२४मा तीन दर्जन परियोजनाहरू समाप्त भइहेका हुन् ।
त्यसमध्ये कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका दुई परियोजनामा एक साढे तीन लाख अमेरिकी डलरको रहेको छ । साढे तीन लाख डलरका एक देश एक उत्पादन प्राथमिकता कार्यढाँचा अन्तर्गत अलैँचीको मूल्य शृंखला प्रवद्र्धन गरिरहन प्रोमोटिङ लार्ज कार्डमम भ्यालु चेन इन नेपाल अन्डर वन कन्ट्री वन प्रायोरिटी प्रडक्ट(ओसीओपी) फ्रेमवर्क शीर्षकको परियोजना तय गरिएको थियो । यस अन्तर्गत अन्तर्राष्ट्रि बजारमा गुणस्तरीय उत्पादन,मूल्य अभिवृद्धि र व्यापार प्रवद्र्धनमार्फत् नेपाली अलैँचीको पहुँच तथा वृद्धिसम्बन्धी गतिविधि गर्न खाद्य एवं कृषि संगठन(फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशन)को तर्फबाट प्राप्त सहयोगको परियोजना बनेको थियो ।सेप्टेम्बर २०२२देखि २०२४ डिसेम्बरसम्मको यो परियोजना थियो ।
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पोखरा । अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।
हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ ।
रेस्टुरेन्ट एन्ड बार एशोसिएशन ९रेवान० पोखराले सन् १९९८ मा सुरु गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्राण्डनै बनेको छ “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।
सुनुवाई समितिबाट श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपाली सर्वसम्मत
काठमाडौं। संसदीय सुनुवाई समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् ।
निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक पनि अनुसन्धानमा प्रक्रियामा अनुपस्थित
सियोल ।दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका लागि उपस्थित हुन गरिएको आग्रहलाई पनि अस्वीकार गर्नुभएको छ । यसअघि पनि उहाँले दुई पटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गर्नुभएको थियो ।
दक्षिण कोरियाली नेता युनविरूद्धको महाभियोग प्रस्तावबारे अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उहाँलाई स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सोधपुछका लागि उपस्थित हुन पत्राचार गरेका थिए ।
पूर्व अभियोजक युन गत बुधबारका लागि बोलाइएको सुनुवाइमा पनि उपस्थित हुन अस्वीकार गर्नुभएको थियो ।
गत डिसेम्बर १४ मा संसदले केही समयका लागि सैनिक कानुन लागु गरिएको घोषणा गर्नुभएको थियो । यद्यपि उक्त कदमलाई व्यापक विरोधपछि केही घण्टामा नै फिर्ता लिइएको थियो ।
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
मुआन ।दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।
बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।
जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको छ ।
पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।
अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
आज राष्ट्र बैंकले ७० अर्ब बराबरको निक्षेप संकलन गर्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गर्न लागेको छ । निक्षेप संकलन उपकरण मार्फत बोलकबोलबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको हो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी ६ माघमा हुने राष्ट्र बैंकले जनाएको छ।अनलाइन बिडिङ सफ्टेवेयरबाट बोलकबोल गर्न पाउने गरी यो आह्वान गरिएको हो ।
सीएनएनको सूचीमा परिन् फोटो पत्रकार र आरोही पूर्णिमा श्रेष्ठ
काठमाडौंँ । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली फोटो पत्रकार र पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।
सन् २०२४ मा विश्वभरीमा विशिष्ट सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् । सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ ।
राष्ट्रपति पौडेलले गरे सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।
गत मंगलबार मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ ।पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।
लिपमोटर नेपालको ऐतिहासिक उपलब्धि, काठमाडौंमा १०० लिपमोटर सी टेन ईभी बिक्री
काठमाडौं । लिपमोटर नेपालले अत्यन्तै छोटो समयमा १०० लिपमोटर ऋ१० कारहरू सफलतापूर्वक बिक्री गर्दै नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिशनतर्फको महत्त्वपूर्ण उपलब्धिको शुभारम्भ गरेको छ। यस उपलब्धिले लिपमोटरको नविनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गर्दछ।
सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घट्यो , प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँ कायम
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६२२ डलरमा र चाँदी प्रतिऔंस २९ डलरमा कारोबार भइरहेको छ ।
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
वालिङ । यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गर्नुभएको हो ।
सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उहाँले राससलाई बताउनुभयो । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिका : ३२ वटा वडामध्ये दश वडामा फोहर वर्गीकरणको योजना कार्यन्वयनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो ।
कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जनाकारी दिनुभयो । चालु आवमा सबै वडामा उक्त अध्यास कार्यन्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उहाँले उल्लेख गर्नुभयो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij