काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि आज राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ९ग० मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको आजै चार वर्ष पूरा हुँदैछ ।
नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक ९आइजी० को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ । यसै व्यवस्था अनुसार आजको मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij