Logo

Jan 10 2025 | २०८१, पुस २६गते

Jan 10 2025 | २०८१, पुस २६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् पुस २५ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू....

नयाँसडक बुलेटिन : यस्ता छन् पुस २५ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू....

काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस २५बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

६५ लाख धरौटीमा रविलाई रिहा गर्न आदेश

काठमाडौँ । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८३ दिनपछि हिरासतमुक्त हुने भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको इजलासले रविलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।रविसँगै प्रतिवादी बनाइएका पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले गत कात्तिक २ गते रविलाई काठमाडौंबाट पक्राउ गरेको थियो। संसदीय छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई पक्राउ  गरिएको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का एसपी होविन्द्र बोगटीको नेतृत्वको टोलीले बालाजुमा रहेको रास्वपाको पार्टी कार्यालयबाट रविलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई गाडीमा सीतापाइला धार्के हुँदै पोखरा पु¥याइएको थियो।शनिबार बिदाको दिन भएकाले हिरासतमा राख्ने अनुमति माग्न उनलाई आइतबार बिहान जिल्ला अदालत कास्की लगियो। अदालतले पक्राउ परेको मितिले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दियो।

आन्तरिक राजस्व विभागद्वारा पुस मसान्त भित्र कर बुझाउन सूचना जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१÷८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो । आयकर ऐन, २०५८ (संशोधनसहित)को दफा ९४ को उपदफा (१) बमोजिम आव २०८१÷८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम आव २०८१÷ ८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको पनि विभागले विज्ञप्ति जारी गरी जनाएको  छ । विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोधसहितको सूचना जारी गरेको हो ।

डेढ वर्षदेखि जलविद्युत् आयोजना कम्पनीहरूको आईपीओ आवेदन अड्किँदा ऊर्जा उद्यमी चिन्तित

काठमाडौँ ।डेढ वर्षदेखि जलविद्युत क्षेत्र क्षेत्रका कम्पनीहरूको सार्वजनिक निष्काशन अड्किएर बसेकोमा सम्बद्ध क्षेत्रका उद्यमीहरूले चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । देशले त्रिपक्षीय सम्झौता गरी जलविद्युत बेच्ने सम्झौता गरी साढे २८ हजार मेगावाट उत्पादनको लक्षय लिएको बताउँदै अध्यक्ष कार्कीले सरकारी क्षेत्रका क्रियाशील कार्यालयहरूको रवैया यस्तो दुखद भएको बताए ।उनका अनुसार २८ हजार ५०० मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुने आकलन रहेको छ । त्यसमा ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् ।उनका अनुसार हालै  लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर भएको छ । उनले १० वर्ष भित्र यसबाट चलायमान हुने अर्थतन्त्र भित्रका अन्य गतिविधि पनि चलायमान हुने बताए । जलविद्युत आयोजना निर्माणका लागि चाहिने  सिमेन्ट डन्डी लगायतका कच्चा पदार्थ स्वदेशी उद्योगबाट खपत हुने छ । यसले यस्ता क्षेत्रको उद्योगमा काम बढ्दा रोजगारी पनि बढ्ने बताउँदै ६५ खर्ब हुने लगानीमा ४० खर्ब नेपालमै रहने र यहाँको अर्थतन्त्रलाई सघाउ पुग्ने अध्यक्ष कार्की बताउँछन् ।

शेयर बजार: नेप्से परिसूचक ढले पनि कारोबार बढ्यो ,कारोबार सवा ७ अर्ब बढी

काठमाडौँ । आज बिहीबार नेप्से परिसूचक १८.१४ बिन्दुले ढलेपनि करोबार रकम सवा ७ अर्ब बढी भएको छ । आज नेप्से परिसूचक २६३५.०९मा अडिएको बेला कुल कारोबार ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५सय ८१ रुपैयाँ ६७ पैसा बराबर भएको छ ।१ करोड ५७ लाख २३ हजार ३ सय ७९ किता शेयरको खरिदबाट सवा ७ अर्ब बढीको कारोबार भएको छ । यो हिजो बुधबारको तुलनामा ९० करोड जतिको वृद्धि भएको छ । बुधबार  नेप्से परिसूचक ६.५३ बिन्दुले बढी २६५३.३८मा पुगेको थियो ।  १ करोड ५५ लाख २ हजार  ७५१ कित्ता शेयरको खरिदबिक्रीबाट कुल कारोबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७सय ८४  रुपैया  ११ पैसा बराबर भएको थियो ।

तरलताको अवस्था कमजोर भएका विकास बैंक र फाइनान्स कम्पनीहरूमा राष्ट्र बैंकको बढ्दो निगरानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले  विकास बैंक र फाइनान्स कम्पनी समेत ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले यही साता वाणिज्य बैंकहरूलाई पत्र काट्दै ती ६ संस्थाले वाणिज्य बैंकहरूमा निक्षेप राखेको छ कि छैन भन्दै सूचना माग गरेको हो । समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली विकास बैंक व्यवस्थापन जिम्मा लिए पछि यस्ता विषयमा जानकारी ठोस गर्न लागेको छ । कर्णाली डेभलपमेन्ट बैंकले वाणिज्य बैंकमा निक्षेप राखेको भन्दै फर्जी निक्षेप प्रमाणपत्र राष्ट्र बैंकमा पेस गरेको खुलेको थियो । राष्ट्र बैंकले १० पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । कर्णाली डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको सम्बद्ध स्रोतको भनाइ छ । राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेकोे सीबीएसमा प्रविष्टि गरिएको थियो । तर, छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।बैंकको उच्च व्यवस्थापनमा रहेका उल्लिखित व्यक्तिले अन्य बैंकमा रहेको नकली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिले उल्लेख गरेको छ ।

सुनको मूल्यमा बिहीबार ८ सय वृद्धि भई तोलाको १ लाख ५३ हजार ३ सयमा कारोबार

काठमाडौंँ ।  सुनको मूल्य बिहीबार अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ बढेको छ ।  बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि तोलामा ५ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबारदेखि मंगलबारसम्म भने कारोबार मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा  थियो। चाँदी अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ४० रुपैयाँ भएको छ। यसअघि गत आइतबार र सोमबार तोलाको १ हजार ८ सय १० रुपैयाँ रहेको चाँदी २० रुपैयाँ बढेर मंगलबार र बुधबार तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक बढ्दो क्रममा छ। बुधबार प्रति औंस २६४७.२१ डलरले कारोबार भएकोमा बिहीबार बढेर प्रति औंस २६५९.११ डलर पुगेको छ।चाँदीमा पनि बढोत्तरी छ। बुधबार प्रति औंस ३०.०४ डलर रहेको चाँदी बिहीबार ३०.१३ डलरले कारोबार भइरहेको छ।

सर्वोत्तम सिमेन्टको साधारण सभा पुस २६ गते , १० प्रतिशत लाभांश वितरण गर्न

काठमाडौँ ।सर्वोत्तम सिमेन्टको साधारण सभा पुस २६ गते बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij