काठमाडौँ । पूर्वका हार्डवेयर व्यवसायीहरूले सिमेन्टको मूल्य वृद्धिको विरोधमा आन्दोलित भएका छन् । उनीहरूले सिमेन्टको बिक्री बन्द गरी आन्दोलनमा उत्रेका हुन् ।सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य वृद्धि फिर्ता नलिएर कडा आन्दोलनमा जाने उनीहरूले चेतावनी पनि दिएका छन् ।उनीहरूका अनुसार यो साना व्यवसायी र उपभोक्ता लुटने काम भएको हो ।
सुनसरीका हार्डवेयर व्यवसायीहरूले सिमेन्ट मूल्य वृद्धिको विरोधमा आन्दोलित भएका छन् । उनीहरूका अनुसार एक महिना यता सिमेन्टको मूल्यमा ७० प्रतिशतसम्म मूल्य वृद्धि भएको हो । एक महिना अघि ३८० रुपैया प्रतिबोरा मूल्य पर्ने सिमेन्टको मूल्य अहिले ६३० रुपैयाँसम्म पुगेको इटहरी हार्डवेयर संघका अध्यक्ष भोलाप्रसाद निरौलाले बताएका छन् । उनले सिमेन्ट उद्योगहरूले सिन्डिकेट बनाइ सबै सिमेन्ट उद्योगले मूल्य बढाएको बताए । केही सिमेन्ट माफिया र सरकारको मिलोमतोमा साना व्यवसायी र उपभोक्ता लुट्ने यो काम भएको उनले जनाए । सिमेन्टको मूल्यलाई एकैचोटी डबल दाम बनाएर कोभिड महामारीलगायतको आर्थिक मन्दीको मारमा परेका साना व्यवसायीलाई मार्ने काम भएको उनले जनाए ।
सिमेन्ट उद्योगले मूल्य फिर्ता लिने काम नभए आन्दोलनका लागि संघर्ष समिति बनिसकेको त्यसले थप आन्दोलनको कार्यक्रम तय गर्ने अध्यक्ष निरौलाले जनाए । बिक्री बन्द गरेको विषयलाई बेवास्ता गरिए हामीले कोशी ब्यारेजमा अवरोध सिर्जना समेत गर्ने उनले चेतावनी दिए । इनर्वा व्यवसायीका अध्यक्ष पहलबहादुर कटुवालका अनुसार आफूहरूले सिमेन्टको पुरानो मूल्यमा बिल काटेकोले दिनदिनै सिमेन्टको मूल्य बढ्दै जाँदा व्यवसायी मारमा परेका हुन् । आफूहरूले बिल काटेर बढी मूल्यमा बेच्दा आफूहरू कालाबजारिया हुने र साथै घाटा बेहोर्नुपर्ने उनले जनाए ।
दिनका दिन सिमेन्टको मूल्य वृद्धिले समस्या भएको उनीहरू बताउँछन् । हिजोसम्म निर्माण कार्य गर्ने हो भने गर्नुस सिमेन्ट किन्नुस भनेर बिल काटेको उनीहरूको भनाइ थियो । बिल काटेर आपूर्ति गर्ने बेला दिनका दिन मूल्य वृद्धि भयो भनेर सिमेन्ट उद्योगको तर्फबाट म्यासेजका म्यासेज आउन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको आन्दोलित व्यवसायीहरूको भनाइ छ ।
सरकार मौन बसेकोमा आफूहरू आश्चर्यचकित भएको पनि बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij