काठमाडौँ । नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि चौथो चरणको वार्ता सक्दो छिट्टै गर्ने सहमति भएको छ । नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति (आईजीसी) बैठकले यस्तो निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षको सहमतिमा तयार भएका व्यापार सन्धि २००९, पारवहन सन्धि २०२३ र अनधिकृत व्यापार नियन्त्रण सम्झौता २००९ अन्तर्गतका विभिन्न विषयमा बृहत छलफल पछि यस्तो निर्णय गरिएको छ ।
पारवहन सन्धि कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित ‘लेटर अफ एक्स्चेन्ज’ लाई छिट्टै निष्कर्षमा पु¥याउनु पर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्न आवश्यक पर्ने बीआईएस प्रमाणपत्र प्राप्ति प्रक्रिया छिटो छरितो बनाउने सहमति समेत भएको छ ।भारतीय लगानीमा नेपालमा निर्माणाधीन आयोजनामा आवश्यक उपकरण तथा अन्य सामग्री आयात सहजीकरण गर्ने, नेपालमा उत्पादन नहुने पशुजन्य खाद्यपदार्थ भारतबाट हुने आयात सहजीकरण गर्ने सहमति पनि बैठकमा भएको छ ।
यसैगरी नेपालको गुणस्तर तथा तापतौल विभाग र भारतको ब्युरो अफ इन्डियन स्ट्यान्र्डर्ड तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यता प्रक्रिया अगाडि बढाउने बैठक छलफलको निष्कर्ष रहेको छ ।
औषधि आयात निर्यात व्यवस्थित गर्ने, भन्सार प्रक्रिया सहजीकरण गर्ने र दुवै पक्षका विषयगत संयन्त्र मार्फत सम्बन्धित विषय समयमै टुंग्याउँदै जाने विषयमा समेत सहमति भएको छ ।मन्त्रालयका अनुसार व्यापार तथा लगानीका हिसाबले महत्वपूर्ण साझेदारका रूपमा रहेका नेपाल–भारतबीच विद्यमान संयन्त्र थप क्रियाशील बनाइ नियमित छलफल तथा बैठक गरी दुवै पक्षको हित प्रवद्र्धन हुने गरी अगाडि बढ्नुपर्नेमा दुवै पक्षबाट जोड दिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij