काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस २९ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
विपद्मा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
काठमाडौँ । भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न करिब रु एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले विपद्पश्चात्को पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत भएको जनाएको छ । तत्कालै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ ।
आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले उक्त योजना स्वीकृत गरेको हो । बैठकले योजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई निकासा दिने प्रबन्ध मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।
प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता हुने जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक लाख २० हजार सात सय ३२ संरचनामा क्षति पुगेको थियो । त्यसमध्ये सडक पुल तथा यातायात क्षेत्रको क्षति तीन सय ८१ रहेको छ । यी संरचना पुनर्निर्माण गर्न रु २८ अर्ब १६ करोड लागत अनुमान गरिएको छ । आवश्यक लागत तीन आर्थिक वर्षसम्म जुटाउने र आयोजना सुधार तथा पुनर्निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
प्राधिकरणका अनुसार एक सय ७६ सरकारी भवन तथा सहरी पूर्वाधारमा क्षति पुगेको थियो । ती पूर्वाधार पुनर्निर्माणका लागि करिब रु दुई अर्ब ३१ करोड लागत अनुमान गरिएको छ । जसमध्ये आव २०८१र०८२ मा रु ६९ करोड २८ लाख, २०८२र०८३ मा रु ९२ करोड ४२ लाख र २०८३र०८४ मा रु ६९ करोड ३१ लाख खर्च गर्ने लक्ष्य छ ।
राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकोमा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सङ्कलित रकम रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कोषले गत आवमा रु दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई कर पछिको खुद मुनाफा रु एक अर्ब १५ करोड ८७ लाख रहेको छ । उक्त खुद मुनाफा रकमबाट रु २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
विदेशी बजारमा कर्णाली अदुवाको माग बढ्यो , किसानले पाए ७ गुणासम्म बढी भाउ
काँक्रेविहार । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।
कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।”
उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ ।
चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ ।
सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दाल चिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताउनुभयो ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
काठमाडौँ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५ दशमलव ८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५ दशमलव ८८ प्रतिशत थियो ।
सो प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२ दशमलव ८० प्रतिशत, उद्योग क्षेत्रको १६ दशमलव ३२ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ८८ प्रतिशत योगदान रहने अनुमान छ ।
कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७ दशमलव ९२ प्रतिशत, तरकारी बालीको पाँच दशमलव ११ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल छ दशमलव ९७ प्रतिशत छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१ दशमलव ६४ प्रतिशत छ । आव २०८०र८१ मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन एक दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।
दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न
काठमाडौं । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेलनको समापनका अवसरमा विभिन्न २१ शोधार्थीलाई प्रमाणपत्र र उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेलाई विशेष सम्मान गरिएको थियो ।
तीमध्ये ‘जलवायु परिवर्तनका कारण नेपालीको आयस्रोतमा आएको कमी’ शीर्षकको शोधपत्र प्रस्तुत गरेका सुशान्त रिजालले उत्कृष्ट शोधको अवार्ड जित्न सफल हुनुभयो । ‘नेपालको व्यापारमा डिजिटाइजेसन’ विषयमा रिया रेग्मी र दिपेश कार्कीले तयार पारेको शोधपत्रले रनर अप अवार्ड प्राप्त ग¥यो ।
समापन समारोहमा काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले सहभागी सम्पूर्ण शोधपत्र प्रस्तुतकर्तालाई धन्यवाद दिँदै सबै शोध उत्कृष्ट भए पनि केहीलाई मात्र छनोट गर्नुपरेको उल्लेख गर्नुभयो ।
डा वाग्लेले शोधपत्रको छनोटका लागि छ वटा मापदण्ड तोकिएको र सम्मेलनको ‘थिम’प्रति अनुसन्धानको मेल, प्राज्ञिक तर्कमा योगदान, अनुसन्धानको विधि, तथ्याङ्क विश्लेषणको गुणस्तर, समाधानका सम्भावना र अनुसन्धानको प्रभावशीलता समावेश रहेको जानकारी दिनुभयो ।
भारतको सेन्टर फर ट्रेड एण्ड इन्भेस्टमेन्ट लका एसिस्टेन्ट प्रोफेसर सात्विक सेखरले नेपालजस्तो विकासोन्मुख देशका लागि व्यापार कानुन र प्राज्ञिक ज्ञानबीचको पुल निर्माण गर्न यस्तो सम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले जलवायु परिवर्तन र व्यापारका क्षेत्रमा भइरहेको अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनामा सकारात्मक प्रभाव पार्न सक्ने विचार व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, नेपाल र युरोपलगायतका विभिन्न देशका शोधकर्ताले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
करिब एक दशकको अवधिमा नेपाललाई चीनको अनुदान १२ अर्ब बढी
काठमाडौँ । चीनले नेपाललाई २०७२ यता १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा यससम्बन्धी जानकारी दिएकी हुन् । उनका बैठकमा भने अनुसार चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ ।
शेयर बजार: नेप्से परिसूचक २६०० मुनि, कारोबार साढे ६ अर्ब बढी
काठमाडौँ । आज सोमबार नेप्से परिसूचक २६०० मुनि आउँदा कारोबार साढे ६ अर्ब बढी भएको छ । सोमबार नेप्से परिसूचक २५९४.१३ बिन्दुमा अडिएको छ ।
नेप्से परिसूचकमा १५.५४ बिन्दुले गिरावट आएको बेला १ करोड ३८ लाख ७० हजार ५सय ७९ कित्ता शेयरको खरिद बिक्रीबाट कुल कारोबार ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १सय ४ रुपैयाँ ५४ पैसा बराबर भएको नेप्सेले जनाएको छ ।
माघ महिनाका लागि दुई बाहेक सबै बैंकको ब्याजदर यथावत्
काठमाडौं । माघ महिनाका लागि दुई बाहेक सबै बैंकले ब्याजदर यथावत् राखेका छन् ।अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका हुन्। पुस महिनाको तुलनामा माघ १ गतेदेखि लागु हुने गरी ब्याजदर यथावत राखिएको हो।माघमा १८ वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा यथावत राखेका छन्।
बाँकी दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।माघको लागि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिसश छ भने कम कृषि विकास बैंकको रहेको छ।कृषि विकास बैंकले माघ महिनाको लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।
सुनको मूल्य प्रतितोला १०० सय रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँ कायम
काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६८५ र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।
५ महिनामा वाणिज्य बैंकको खुद नाफा ३० अर्ब बढी
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । यसले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ४९ करोड कमाएको छ । यस्तै, कुमारीले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड र प्रभुले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ६३ करोड ३४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । सिटिजन्स बैंकले ६९ करोड ४९ लाख, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख तथा राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख नाफा कमाएका छन् । चालु अवाको मंसिरको तथ्यांकमा कृषि विकास बैंकको मुनाफा समावेश गरिएको छैन् । गत आवको मंसिरसम्म कृषि विकास बैंकले भने १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij