Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू....

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..

    आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

    आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

    तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    अमेरिकी डलरको भाउ बढ्यो , यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । 

     

    अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    आज सार्वजनिक विदा : सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द हुने

    काठमाडौं ।आज  सेयर बजार बन्द हुने भएको छ । मंगलबार 9माघ १ गते) माघे संक्रन्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।  आजको दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

    वीरगञ्ज (पर्सा) । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०÷८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा ११ दशमलव दुई प्रतिशतले कर्जा प्रवाह बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले आव २०७९÷८० मा यहाँका औद्योगिक क्षेत्रमा रु एक खर्ब नौ अर्ब ५९ करोड कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव ६८ प्रतिशत रहेको छ । त्यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४ दशमलव ५५ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामानको उत्पादनतर्फ चार दशमलव ४७ प्रतिशत रहेको छ । त्यसैगरी निर्माण उद्योगतर्फ पाँच दशमलव ६७ प्रतिशत, खानी उद्योगतर्फ एक दशमलव २५ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    नागरिक लगानी कोषको ३० औँ साधारणसभा सम्पन्न, १३ प्रतिशत बोनस र लाभांश दिने प्रस्ताव पारित

    काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ  वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०÷८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश –कर सहित)– स्वीकृत गरेको हो । त्यसैगरी आ.व २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताउनुभयो । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिनुभयो । संगठन तथा व्यवस्थापन –ओ एण्ड एम)  गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उहाँले बताउनुभयो । प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राख्नुभयो ।

    तीन करोडसम्मको राजस्व विवादसम्बन्धी मुद्दा मिलाउने जिम्मा अब  राजस्व अनुसन्धान विभागलाई, राजस्व अनुसन्धान विभागले दर्ता गरिसकेका  मुद्दा सरकारले फिर्ता लिन सक्ने

    काठमाडौँ । तीन करोडसम्मको राजस्व विवादसम्बन्धी मुद्दा मिलाउने जिम्मा अब  राजस्व अनुसन्धान विभागलाई दिइएको छ । गत  शुक्रबार मन्त्रिपरिषद्ले पारित गरी सिफारिस गरेका  अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले  हिजो प्रमाणीकरण गरेसँगै विभागलाई यो अधिकार प्राप्त भएको हो ।राष्ट्रपतिद्वारा जारी भएको  आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश मार्फत राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ । यो अध्यादेशबाट राजस्व अनुसन्धान विभाग थप शक्तिशाली  भएको छ । सरकारले सरकारी सेवा सुधार्न ल्याएको अध्यादेशमा सरकारी सेवा सुधार्न यस्तो संशोधन गरिएको छ । अहिले महिनौँसम्म अड्किएका फाइलहरू अब ७ दिन भित्र गर्नुपर्ने लगायतका विषयहरू समेटिएबाट काम छिटो छरितो हुने अपेक्षा गरिएको छ ।  यसअघि राजस्व अनुसन्धान विभागलाई ५० लाखसम्मको राजस्व विवाद मिलाउने अधिकार थियो । त्यो भन्दा माथिको विवाद भने मुद्दामा जानु पथ्र्यो । २०६५/६६देखि गैर कर राजस्व चुहावट सम्बन्धी समेत अनुसन्धान, तहकिकात र अभियोजन गर्ने अधिकार पाएको राजस्व अनुसन्धान विभागले अब तीन करोडसम्मका राजस्व चुहावटसम्बन्धी विवाद मिलाउन सक्ने भएको छ ।

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’बारे माघ मसान्तसम्म राय सुझाव माग

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको  कारोबार गर्ने सहकारी संस्थाका लागि राय सुझाव दिन सरोकारावालाहरूलाई आग्रह गरेको छ ।बैंकले एक सूचना जारी गरी वेबसाइटमा राखिएको मस्यौदा हेरी त्यसमा आवश्यक राय सुझाव माग गरेको हो ।

    बैंकले सार्वजनिक गरेको सूचनामा सहकारी ऐन २०७४को दफा ३ बमोजिम स्थापना भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित गर्न राय सुझाव माग गरेको हो ।

    बैकले जनाएको सूचनामा भनिएको छ ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा ५(१)को खण्ड (च१) र सहकारी ऐन २०७४को दफा १५१को उपदफा (१क)ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको ‘ बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’को मस्यौदा यस बैंकको वेबसाइट राखिएको व्यहोरा अनुरोध छ । संलग्न मस्यौदामा तहाँको राय सुझाव २०८१ माघ मसान्तसम्म यस बैंकमा लिखित रुपमा अथवा इमेल मार्फत उपलब्ध गराई दिन हुन अनुरोध छ ।’

    बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत

    काठमाडौँ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।

    सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

    चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् रु चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

    पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

    वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

    सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक

    काठमाडौँ ।सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहितको मस्यौदा सार्वजनिक गरेको छ । 

    पछिल्लो समय ठूलो समस्या देखिएको सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर्शीता र सन्तुलन ल्याउन राष्ट्र बैंकले सोमबार ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड’ को मस्यौदा सार्वजनिक गरेको हो । उक्त मापदण्डको मस्यौदामा सहकारी संस्थाले आफ्ना सदस्यबाट मात्र बचत सङ्कलन गर्न पाउने, कार्यक्षेत्रअनुसार बचत सङ्कलन सीमा तोक्ने, ऋण लगानीका कडाइ गर्ने, उत्पादनशील क्षेत्रको लगानीमा जोड दिनेलगायत विषय राखिएका छन् । 

    राष्ट्र बैंकले सहकारी क्षेत्रको अनुशासन र पारदर्शीता सुनिश्चित गर्न यो मस्यौदा ल्याएको जनाएको छ । माघ मसान्तभित्रमा यो मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ । मस्यौदा मापदण्डमा राखिएको सदस्य बाहेकबाट बचत सङ्कलन गर्न पूर्णतः निषेध गर्ने तथा निश्चित सीमाभित्र मात्रै सङ्कलन गर्न पाउने प्रावधानले गैर–सदस्यबाट हुने जोखिमपूर्ण बचत सङ्कलनको अभ्यासलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij