Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

खुम्बु क्षेत्रमा स्थानीय सरकारको अवरोध नहटे हवाई सेवा नै ठप्प पार्ने चेतावनी

खुम्बु क्षेत्रमा स्थानीय सरकारको अवरोध नहटे हवाई सेवा नै ठप्प पार्ने चेतावनी

  • काठमाडौंँ । खुम्बु क्षेत्रमा स्थानीय सरकारले हेलिकोप्टर उडानमा अवरोध नहटाएपछि वायुसेवा कम्पनीहरुले सोलुखुम्बु जिल्लामा सम्पूर्ण हवाई सेवा नै ठप्प पार्ने चेतावनी दिएका छन्। वायुसेवा सञ्चालक संघले बुधबार प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।
    खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर उडानमा अवरोध कायमै राखेको भन्दै जिल्लाभर हवाई सेवा  ठप्प पार्ने चेतावनी संघले दिएको हो।जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर उडानमा अवरोध गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपनि गाउँपालिकाले विभिन्न हेलिप्याडमा अवरोध कायमै राखेको संघले जनाएको छ । यो समस्या समाधानका लागि माघ ९ गतेसम्मको अल्टिमेटम दिइएको छ।
    संघका अध्यक्ष मनोजी कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘माघ ९ भित्र पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधानका लागि आग्रह गर्छौं। अन्यथा सोलुखुम्बुभित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले समेत सम्पूर्ण हवाई सेवा स्थगित गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने सम्बन्धित पक्षलाई अवगत गराउन चाहन्छौं,’

    खुम्बु क्षेत्रमा पुस २१ देखि हेलिकोप्टर उडान हुन सकेको छैन। खुम्बु क्षेत्रमा दैनिक १० वटाभन्दा बढी माउन्टेन फ्लाइट हुँदै आएकामा अहिले बन्द छ। यसबाट  हेलिकोप्टर कम्पनीले दैनिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेका छन्।सोलुखुम्बुका जिल्ला प्रमुख अनोज कुमार घिमिरेले समस्या समाधानका लागि माघ ११ गते बैठक राखेको जानकारी दिए।

    प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज उडान गर्न दिन यसअघि नै तयार भइसकेको छ।  अब पालिकाको निर्णयको प्रतिक्षा गरिएको छ ।  पालिकाले भोलि गाउँ सभा राखेको छ । अत्यावश्यक सेवा बन्द कुनै पनि बहानामा बन्द गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो भन्दै घिमिरेले यस विषयमा छलफलका लागि हामीले सबै सरोकारवालाको उपस्थितिमा ११ गते बैठक राखेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij