Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

अगाडि बढ्दै नेपाल आयल निगमको धनगढी डिपो सार्ने प्रक्रिया

अगाडि बढ्दै नेपाल आयल निगमको धनगढी डिपो सार्ने प्रक्रिया

  • काठमाडौँ । नेपाल आयल निगमको धनगढी डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । उक्त डिपो सार्न जग्गाको छिनोफानो भएपछि स्थानान्तरण प्रक्रियामा  गति आएको हो ।यस अनुसार कैलालीको अत्तरिया चोकबाट ५ किलोमिटर पूर्वतर्फ हाल गोदावरी नगरपालिका वडा नम्बर ७ मा पर्ने पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको २० बिघा १६ कठ्ठा ८ धुर जग्गा डिपो स्थानान्तरणका लागि उपयुक्त देखिएको थियो ।  निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख इञ्जिनियर प्रदीपकुमार यादवले  सो क्षेत्रका जग्गादाताहरू डिपोका लागि जग्गा दिन तयार भइसकेको  जनाएका छन् । 

    उनका अनुसार नयाँ बन्ने डिपो साबिकको तुलनामा १२ गुणाभन्दा धेरै क्षेत्रफलमा फैलिनेछ । डिपोमा १८०० किलोलिटरको पेट्रोल ट्यांक, ६६०० किलोलिटर क्षमताको डिजेल ट्यांक, ५०० किलोलिटर क्षमताको मटितेल ट्यांक र ३००० किलोलिटरको पानी ट्यांक रहनेछन् ।अहिलेको डिपोमा ८३० किलोलिटरको पेट्रोल, १५९० किलोलिटरको डिजेल, ७० किलोलिटरको मटितेल र ४०० किलोलिटरको पानी ट्यांक रहेको थियो ।

    २०३७ सालमा बनाइएको यो  धनगढी डिपो १ बिघा ८ कट्ठा क्षेत्रफलमा छ । बाउन्ड्री वालबाट ३० मिटरमा भर्टिकल ट्यांक हुनुपर्ने सुरक्षा मापदण्ड भएपनि  यो डिपोसँगै घरसमेत जोडिएकाले यो असुरक्षित भनिएको छ । कसैले चुरोटको ठुटा फाल्दा पनि डिपोमा आउने अवस्था रहेको यादवको भनाइ छ ।यादवका अनुसार सुरुमा निर्माण गर्दा उक्त डिपोबाट जम्मा ४ ट्यांकर पेट्रोलको माग हुन्थ्यो । डिपो रहेको ठाउँको सुरक्षाका अतिरिक्त वर्तमान क्षमताले बजारको माग धान्नसमेत कठिन भएकाले नयाँ डिपोको आवश्यकता भएको छ ।

    यसअघि निगमले कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ३ र ६ मा रहेको राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ७४ बिघा जग्गामध्ये २२ बिघा जग्गा लिन लागेको थियो । तर, स्थानीय तह र कम्पनीबीचको विवादले त्यो जग्गा प्राप्तिमा समस्या देखिएपछि सो स्थानबाट डिपोको योजना पछाडि सारिएको थियो ।निगमको सञ्चालक समिति हुँदै मन्त्रिपरिषद्बाट उक्त जग्गा प्राप्तिका लागि यही माघ १५ भित्रै निर्णय हुने अपेक्षा गरिएको छ ।तीन महिनापछि अर्थात् २०८२ साल वैशाख पहिलो साता डीपीआर तयार गरी डिपो शिलान्यास गर्ने तयारी गरिएको छ । यसको डीपीआर बनाउने जिम्मा काठमाडौँ विश्वविद्यालयलाई दिइएको छ । 

    नयाँ डिपो निर्माण तथा जग्गा अधिग्रहणका लागि साढे ३ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ । त्यसरी बन्ने डिपो ‘स्मार्ट’ हुने जनाइएको छ । उक्त डिपोमा मानवरहित लोड–अनलोड सिस्टम र नगदरहित भुक्तानी प्रणाली सहितको अत्याधुनिक प्रविधि प्रयोग हुने छ ।नेपाल आयल निगम अन्तर्गत अहिले ७ प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो तथा २ वटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij