काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
भारतबाटै बढेर आयो पेट्रोल डिजेल र मट्टितेल, मध्यरातदेखी लागू
काठमाडौं।नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाइएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ । निगमका अनुसार भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर २.२४ र डिजेलमा ३.५५ रुपैयाँले मूल्य बढेर आएको जनाइएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
जापानी येन १० को खरिदर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयर कहिलेसम्म आवेदन खुला रहला त ?
काठमाडौं । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडाैं। संघीय संसदका चार समितिको बैठक बस्दैछन्। अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ। जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुने जनाइएको छ। विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डाले निरन्तरता पाउनेछ। जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ।
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट फेरि ४० अर्ब तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।केन्द्रीय बैंकले आज माघ २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।यो २१ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६.८२ अंकमा आएको छ । ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।
एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने घोषणा
काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
मंगलबार घटेको सुनको मूल्य बुधबार बढ्यो, तोलाको ४ सय बढ्यो
काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।बुधबार सुन प्रति तोला १ लाख ५५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।
तोलामा १ सय रुपैयाँ बढ्दा सोमबार सुन प्रति तोला १ लाख ५५ हजार ८ सय रुपैयाँ कायम थियो। आइतबार १ हजार ६ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँ बढेर प्रति तोला १ हजार ८३० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा ४० रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला १ हजार ८२० रुपैयाँमा आइपुगेको थियो।
आइतबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँ थियो। सोमबार उक्त मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर बुधबार प्रति औंस २६७५.३८ डलर भएको छ। चाँदी प्रति औंस २९.७५ डलर छ।मंगलबार सुन प्रति औंस २६७०.९२ डलर र चाँदी प्रति औंस २९.६३ डलर थियो।
लिवर्टी इनर्जीले बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन नसकेको हो । यी शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न पेश गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । उहाँले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई आज उक्त पदमा नियुक्त गर्नुभएको हो ।
यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था
काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण र स्थानीय तहमा नेतृत्व पद रिक्त भएमा अस्थायी व्यवस्थाको प्रावधानलगायत समावेश गरेर कानुन ल्याइएको बताउनुभयो । त्यसैगरी अध्यादेशमार्फत् श्रमिकहरूको पेन्सन र अवकाश उमेरमा एकरूपता कायम गरिएको छ । साथै, गैरआवासीय नेपालीलाई सहज नागरिकता, भिसा व्यवस्था, विदेशी र घरेलु लगानीमा सहजीकरण, सामाजिक सुरक्षा व्यवस्थाको दुरुपयोग रोक्न कदम चालिएका छन् । यसबाहेक, आपराधिक मुद्दामा मिलापत्र प्रक्रिया र सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनलाई सरल र प्रभावकारी बनाइएको उहाँको भनाइ छ । विपद् व्यवस्थापन, योजना तर्जुमा, र राजस्व असुलीमा सुधारका व्यवस्था अध्यादेशमार्फत् सुनिश्चित गरिएका छन् ।
सभापति लामिछानेलाई साठी लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो । सभापति लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो । सभापति लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गर्नुभएको थियो । बचतकर्ता ९जाहेरवाला० को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गर्नुभएको थियो । पीडितकोतर्फबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा दिनेश त्रिपाठी बहस गर्नुभएको थियो ।
अगाडि बढ्दै नेपाल आयल निगमको धनगढी डिपो सार्ने प्रक्रिया
काठमाडौँ । नेपाल आयल निगमको धनगढी डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको छ । उक्त डिपो सार्न जग्गाको छिनोफानो भएपछि स्थानान्तरण प्रक्रियामा गति आएको हो ।यस अनुसार कैलालीको अत्तरिया चोकबाट ५ किलोमिटर पूर्वतर्फ हाल गोदावरी नगरपालिका वडा नम्बर ७ मा पर्ने पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको २० बिघा १६ कठ्ठा ८ धुर जग्गा डिपो स्थानान्तरणका लागि उपयुक्त देखिएको थियो । निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख इञ्जिनियर प्रदीपकुमार यादवले सो क्षेत्रका जग्गादाताहरू डिपोका लागि जग्गा दिन तयार भइसकेको जनाएका छन् । उनका अनुसार नयाँ बन्ने डिपो साबिकको तुलनामा १२ गुणाभन्दा धेरै क्षेत्रफलमा फैलिनेछ । डिपोमा १८०० किलोलिटरको पेट्रोल ट्यांक, ६६०० किलोलिटर क्षमताको डिजेल ट्यांक, ५०० किलोलिटर क्षमताको मटितेल ट्यांक र ३००० किलोलिटरको पानी ट्यांक रहनेछन् ।अहिलेको डिपोमा ८३० किलोलिटरको पेट्रोल, १५९० किलोलिटरको डिजेल, ७० किलोलिटरको मटितेल र ४०० किलोलिटरको पानी ट्यांक रहेको थियो ।
पुसमा घरजग्गा कारोबार थप गतिशील
काठमाडौँ । सुस्त बनेको घरजग्गा कारोबार पुस महिनाले थप गति पाएको छ । पुसमा अहिलेसम्मकै सर्वाधिक घरजग्गा कारोबार भएपछि घरजग्गा व्यवसायी उत्साहित भएका छन् ।उनीहरूका अनुसार आर्थिक शिथिलताले संकटमा परेको घरजग्गा व्यवसाय तंग्रिन खोजेको छ। मंसिरमा एक्कासी बढेको घरजग्गा कारोबार पुसमा थप उकासिएर यो वर्षको सबैभन्दा बढी कारोबार पुसमा भएबाट उनीहरूले यस्तो बताएका हुन् । दुई महिनाको कारोबारबाट व्यवसायीहरु केही आशावादी भएको बताउँदै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मंसिरपछि पुसमा घरजग्गा क्षेत्रमा खरिदबिक्री बढेबाट व्यवसायीहरूमा विश्वास पलाएको बताए । घरजग्गाको क्षेत्रमा शेयर बजारका लगानीकर्ता आउन थालेको उनको बुझाइ छ । शेयर बजारमा लगानीकर्ताहरूको विश्वास खस्किएयता यस क्षेत्रमा लगानीकर्ताहरू आउन थालेको बुझिएको हो ।कतिपय सन्दर्भमा बैंक किस्ता तिर्न पनि सम्पत्ति बेचिरहेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरुबाट पुसमा ४७ हजार ४७९ लिखत पारित भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को पुसमा ४५ हजार २७७ लिखत पारित भएको थियो।पुसमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालयमा भएको छ । एक महिनामा इनरुवाले १८६७ लिखत पारित गरेको छ। मोरङको बेलबारीले १६३२, भद्रपुरले १६२३, जनकपुरले १५३४, राजविराजले १२५८, मलंगवाले ११११, सिरहाले १०५७ र तौलिहवाले १०५१ लिखत पारित गरेको जनाइएको छ ।
शेयर बजार : नेप्से परिसूचकमा १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा,५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा आएको छ । ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् यस दिन २ सय ९९ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी र सिन्धु विकास बैंक रहेका छन् ।
व्यावसायिक वातावरण सुधार गर्न कालोबजारीसम्बन्धी ऐनबाट मुनाफा र कारबाहीको व्यवस्था हटाइयो
काठमाडौँ । सरकारले व्यावसायिक वातावरण सुधार गर्न कालोबजारी सम्बन्धी ऐनबाट मुनाफा र कारबाहीको व्यवस्था हटाएको छ ।सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था अध्यादेशमार्फत् हटाएको हो । ऐनअनुसार कुनै पनि व्यवसायीले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने यसभन्दा बढी मुनाफा लिए स्वतः कालोबजारी ऐनमा कालोबजारी कसुरमा व्यवसायीलाई ५ वर्ष कैद वा जरिवाना वा दुवै हुन सक्ने प्रावधान थियो । यो प्रावधान अध्यादेशबाट हटाइएको छ । ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ को उपदफा (१) झिकिएको छ,’ अध्यादेशमा भनिएको छ, ‘उपदफा (२) मा रहेका उपदफा (१) बमोजिम भन्ने शब्दहरूको सट्टा ‘प्रचलित कानुनबमोजिम’ भन्ने शब्द राखिएका छन् ।’ राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अध्यादेश जारी गरेसँगै अब व्यवसायीलाई कालोबजारीसम्बन्धी यो बन्धनबाट मुक्ति मिलेको छ । उद्योगी व्यवसायीहरूले यसका लागि लामो समयदेखि पहल गर्दै आएका थिए । यसले खुला बजार अर्थनीतिलाई प्रभावित गरेको भन्दै यस्तो पहल गर्दैआएका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij