काठमाडौँ । नेपाललाई चालु आर्थिक वर्ष २०८१÷८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।उद्योग विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता प्राप्त भएको हो । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।
दर्तामध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४ उद्योग दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।योसँगै नेपालमा कुल वैदेशिक लगानी ५ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
तीमध्ये अधिकांश साना उद्योग छन् । साना उद्योग संख्या ३ सय ४५ छ । मझौला उद्योग संख्या ५ र ठूला उद्योग ४ रहेको विभागको तथ्यांक छ ।यसरी प्राप्त लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठूलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल संख्याको ४४ प्रतिशत हो ।
यसैगरी सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग दर्ता भएको देखिन्छ । ऊर्जा र खनिजमा भने ६ महिनासम्म एफडीआई आएको देखिएको छैन । पूर्वाधारमा २ उद्योग दर्ता भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij