काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मर्जर तथा प्राप्ति प्रक्रियामा जानका लागि मर्जर वा प्राप्ति समिति गठन गरेको छ ।
कम्पनीले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने गरी २०७९ साल पुस २९ गते र २०८० साल पुस २९ गते सम्पन्न साधारणसभाहरूमार्फत प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन माघ ९ गते मर्जर तथा प्राप्ति समिति बनाउने निर्णय गरेको हो ।
फाइनान्सको स्थलगत निरिक्षणका क्रममा नेपाल राष्ट्र बैंकले समस्याउन्मुख कम्पनीको रुपमा औल्याएको थियो । राष्ट्र बैंकले कम्पनीलाई कारबाही गर्दै सञ्चालन समितिलाई सचेत समेत गराइसकेको अवस्था छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनी ६५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको थियो ।
यस वर्ष इम्पेरमेन्ट चार्ज वापत् १ अर्ब रुपैयाँभन्दा बढी रकम छुट्याएका कारण कम्पनी खुद नोक्सानीमा गएको हो । गत वर्ष यस अवधिसम्म इम्पेरमेन्ट चार्ज वापत् ३ करोड रुपैयाँभन्दा बढी रकम छुट्याएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij