
काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कंगोका विद्रोहीहरू र विदेशी सेना सम्मिलित शान्ति सैनिकबीचको भिडन्तमा १३ शान्ति सैनिकको मृत्यु भएको छ ।त्यहाँ कार्यरत नेपाली सैनिक सुरक्षित रहेका छन् । विद्रोही एम २३ समूहसँग भिडन्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दक्षिण अफ्रिकाको सेनाले विद्रोहीलाई गोमा शहरतर्फ प्रवेश गर्न रोक्ने प्रयास गर्दा ९ जना सैनिकको मृत्यु भएको हो ।यसैगरी मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिकको मृत्यु भएको छ ।
नेपाली सेनाका प्रवक्ताले कंगोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको जानकारी बीबीसीसँगको कुराकानीमा बताएका छन् ।कंगोल एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।संयुक्त राष्ट्र संघ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन्।
पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसंघीय शान्ति सैनिक मारिएका छन्।राष्ट्रसंघले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो।फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै लोकतान्त्रिक गणतन्त्र कंगो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसंख्या रहेको गोमाबाट राष्ट्रसंघले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले गोमा नजिकै नेपाली फौजहरू नरहेको भन्दै त्यहाँ रहेको मिसन हेडक्वार्टरमा खटिएका कतिपय नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसंघले स्थानान्तरण गरेर युगान्डाको एन्टाबे लगिएको वा लैजाने प्रक्रियामा रहेको बताए।उक्त मिसन अन्तर्गत सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा भारत, बैगलादेश र नेपाल पर्छन्। डीआर कंगोेमा दक्षिण अफ्रिकाका झन्डै १,१४०, मलावीका ५६० भन्दा बढी र उरुग्वेका ७५० जनाभन्दा बढी शान्ति सैनिक रहेको गएको अक्टोबरको एउटा आँकडाले देखाउँछ।
विद्रोहीहरूले अहिलेसम्मकै बढी भूभागमा नियन्त्रण कायम गरेपछि एम२३ र लोकतान्त्रिक गणतन्त्र कंगोको सेनाबीचको लडाइँ यसै वर्षको सुरुबाट चर्किएको छ।राष्ट्रसंघका अनुसार द्वन्द्वका कारण अघिल्लो वर्ष ४ लाख मानिसहरू घर छाडेर भागेका थिए।स्थानीय नेताहरूले अघिल्लो हप्ता एम२३ ले कब्जा गरेका स्थानमा २०० गैरसैनिक मारिएको भन्दै गोमामा अवस्थित अस्पतालले सैयौँ बिरामीको उपचार गरिरहेको जनाएका थिए।पछिल्ला केही दिनमा यूके, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौँ देशहरूले आफ्ना नागरिकलाई गोमा छाड्न भनेका छन्।मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले उक्त लडाइँले नागरिकहरूलाई थप खतरामा पार्नसक्ने चेतावनी दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij