Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १८ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १८ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १८ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..

    images

    यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णयहरू(सूचीसहित)

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।

    ४ बैंक तथा वित्तीय संस्थाले ९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे १० अर्ब लगानी गर्ने

    काठमाडौं  । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले  साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागको छ । कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा माघ १८ गते शुक्रबार हस्ताक्षर भएको हो । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा सो आयोजना निर्माण हुनेछ ।

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ६.६१ गुणा बढी आवेदन

    काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १४ करोड ८७ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०६ बजेसम्म ४६ हजार ५१८ जनाले १४ लाख ८७ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.६१ गुणा बढी आवेदन हो ।

    शिखर इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीले सेयरधनीहरुलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

    इन्सुरेन्सले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

    सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै

    काठमाडौं ।  सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासनको लागि प्रक्रिया अघि बढाएको छ । त्यसको लागि होटलले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ । सोही अनुरुप यस कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

    प्रतिनिधिसभामा छवटा अध्यादेश पेश , अर्को बैठक यही माघ २४ गते बस्ने

    काठमाडौँ ।  प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुभयो ।

     

     

    सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती थ्यस्थाहरू संशोधन गर्नुपरेको उहाँको भनाइ छ ।

    भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ। सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइनेछ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बालबालिकासम्बन्धी ऐन बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहनेगरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गर्नुभयो । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उहाँको भनाइ थियो । “सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ । तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ”, उहाँले भन्नुभयो, “अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ । अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डो¥याउँछ ।” सांसद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताउनुभयो ।

    भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष लिङ्देन

    काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उहाँले नेपाली कांग्रेस र नेकपा(एमाले)को संयुक्त सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको र सुशासनका पक्षमा कुनै काम गर्न नसकेको भनी आरोप लगाउनुभयो ।

    असीको दशक समृद्धिको दशक बन्नुपर्छः प्रधानमन्त्री ओली (पूर्णपाठ)

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु प्रतिनिधिसभाको पाँचौँ अविधेशनको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असीको दशक समृद्धिको दशक हुनुपर्छ । यो समयलाई खेर नफालौँ । अबको दशकलाई विकासको दशक बनाऔँ र देशलाई स्थिरता दिऔँ ।” उहाँले ६० को दशकलाई गणतन्त्र स्थापना र सङ्क्रमणकालको दशक भन्न सकिने उल्लेख गर्दै उक्त समयमा नयाँ संविधान निर्माणको प्रयास भएको बताउनुभयो । “सत्तरीको दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक रह्यो । यस दशकमा नाकाबन्दी र भूकम्पले सिर्जना गरेका बाधाहरु पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुन बनाउने र दूरगामी महत्वका पूर्वाधार निर्माणका काम भए”, उहाँले भन्नुभयो । संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनःनिर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रक्रियालाई संस्थागत गर्ने दशकका रूपमा यसलाई लिन सकिने उहाँको भनाइ छ ।

    राष्ट्रियसभामा नयाँ विधेयकहरूको प्रस्तुतिले मिडिया र ऊर्जा क्षेत्रको भविष्यलाई नयाँ दिशा दिने

    काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक  पेस गर्नुभएको हो ।

    प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री

    काठमाडौँ  ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी तीन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐनगरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिनुभयो । उहाँले कानुनमा तोकिएको अवधिबाहेक सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको रसूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताउनुुभयो ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

    काठमाडौँ। सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव माग्नुभएकामा बहुमतबाट स्वीकृत भएको हो । यो विधेयक संसद्मा दर्ता भएर समितिमा छलफलका क्रममा थियो तर सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई अध्यादेशमार्फत संशोधन गरेपछि संसद्बाट फिर्ता लिन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । समितिमा छलफलका क्रममा रहेको विधेयकलाई सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै प्रतिपक्ष दलहरूले यसमा विरोधसमेत जनाएका थिए ।

    अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

    अर्लिङ्टन ।आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

     

     

    बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताउनुभयो ।

    प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान

    बरहथवा । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । 

     

     

    विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

     

    चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गर्नुभएको थियो । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा रु सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गर्नुभयो । 

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij