Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २० आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २० आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २० आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले भोलिदेखि ५ लाख कित्ता अवितरित हकप्रद शेयर विक्री गर्ने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सोमवारदेखि अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । 

    कम्पनीले मंसिर १२ देखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो । 

     

    सर्वसाधारणतर्फको यी शेयर फागुन ५ गतेसम्म लिलामीमा रहनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्नेछ । 

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको थियो । पहिलो चरणमा उल्लेखित कित्ता शेयर भने वितरण नभएको हो ।

    ओम मेगाश्री फर्मास्युटिकल्सले भोलिदेखि आइपीओ निष्कासन गर्ने

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सोमबार देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गर्न लागेको हो ।  

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो । 

    त्यस्तै, कम्पनीले कुल निष्कासनको ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । 

    निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ ।

    महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएको दायित्व सबै वर्तमान सरकारले पूरा गरेको बताउनुभएको हो । 

    उहाँले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढेको बताउनुभयो । 

     

    उहाँका अनुसार अब निर्माण व्यवसायीको कानुनबमोजिमको बिल भुक्तानी सहज रुपमा दिनसक्ने अवस्थामा सरकार पुगेको छ । उहाँले सरकारले निर्माण व्यवसायीहरुले कानुनसम्मत रुपमा दाबी गरेको भुक्तानी नरोकेको उल्लेख गर्नुभयो । 

    अर्थमन्त्री पौडेलले अघिल्लो वर्षको भुक्तानी सकेर विधिपूर्वक भुक्तानीका लागि आएका दाबीलाई सहज रुपमा निर्माण व्यवसायीहरुले पाउने अवस्था आएको बताउनुभयो । भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किएको भन्दै अब निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको गुनासो गर्नु सान्दर्भिक नदेखिने उहाँको भनाइ छ ।

    समाज लघुवित्त वित्तीयको  खुद नाफा ९९.७४ प्रतिशतले घट्यो

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा ९९.७४ प्रतिशतले कम हो ।  गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    कम्पनीको खुद ब्याज आम्दानी भने ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    एक वर्षको अवधिमा कम्पनीको सञ्चालन घाटा भने कम भएको छ । गत वर्ष २ करोड ३० लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनी पुससम्म आइपुग्दा घटेर ९५ लाख ३१ हजार रुपैयाँ भएको छ ।

    लुम्बिनी सेरामिक्स लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

    काठमाडौ ।  लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

    सेयर निष्कासन सम्बन्धी सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन । कम्पनीले कुन परिमाणमा आइपीओ निष्कासन गर्ने भन्ने बारेमा खुलाएको छैन् ।   

    विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँट सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा  नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने कम्पनीको भनाई छ । 

    शेयर बजार : नेप्से परिसूचकमा ६९.८० अंकले बढेर २७२७.५८  बिन्दुमा,१२ अर्ब ९५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ६९.८० अंकले बढेर२७२७.५८  बिन्दुमा आएको छ । आज १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । 

    ९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।


    यस दिन ३३० कम्पनीको २ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब ४२ करोड रुपैयाँसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट  लिमिटेड अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक परेका छन् ।

    सिटि होटल लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । सिटि होटल लिमिटेडले ८० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी अघि बढाएको छ ।

    पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट उक्त हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले विक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मार्फत गराएको हो । 

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

    अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज माघ २० गते उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    एनएलजी इन्सुरेन्सको ३ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनएलजी इन्सुरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।  

    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    अमेरिकी वस्तु आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने क्यानाडाको घोषणा

    ओटावा । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् । दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर ९एक खर्ब ६ अर्ब अमेरिकी डलर० मूल्य बराबरका अमेरिकी वस्तुहरुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”

    नेपालमा ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स, विप्रेषण आप्रवाहमा ४.१ प्रतिशतको वृद्धि

    काठमाडौँ ।६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो।

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब २३ अर्ब रुपैयाँ पुस महिनामा भित्रिएको हो।

    साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब र मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।

    रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता

    झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । विर्तामोडमा आज प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत व्यस्थापन गरेर चरणचरणमा मुआब्जा वितरण गरी सरकारले रेलमार्गलाई अगाडि बढाउने तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार परियोजनाबाट प्रभावितलाई मुआब्जाका लागि स्रोत व्यवस्थापन भइरहेको छ । “पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर परियोजनाबाट सरकार पछाडि हट्दैन”, मन्त्री दाहालले भन्नुभयो, “स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयसँग छलफल भइसकेको छ ।” उहाँले सरकारको ‘ड्रिम प्रोजेक्ट’का रूपमा विद्युतीय रेलमार्ग रहेको जनाउँदै यसबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

    आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

    काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु  रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।

    चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका  १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो ।

    राष्ट्रियसभाः पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म

    काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गर्नुभएको छ ।

     

     

    बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख गर्दै नियन्त्रण गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

    राधाकृष्ण राईस मिलले ल्यायो कृष्णभोग चामल डिलरका लागि सुन देखि टूरसहित उपहार योजना

     

    काठमाडौँ । राधाकृष्ण राईस मिलको उत्पादन कृष्णभोग चामलका डिलरहरुका सुनदेखि  टूरसम्मका उपहार योजना ल्याइएको छ । सुन नै सुनको बहारको नयाँ स्किम २०८२ असार मसान्तसम्मका लागि ल्याइएको हो ।काठमाडौंमा कृष्णभोग डिलर मिट २०२५ का अवसरमा यो स्किम सार्वजनिक गरियो । डिलर मिटमा कम्पनीले देशभरबाट प्रतिनिधित्व गर्ने डिलरहरुलाई सम्मान गरेको छ । वाणिज्य आपूति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, नबिल बैंकका सिनियर डिसिइओ मनोज ज्ञवाली लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

     
    के छ सदनमा नागरिक उड्डयन प्राधिकरण विभाजन गराउने विधेयकमा ?

    काठमाडौँ ।  सरकारले  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक र सेवा प्रदायकका रुपमा विभाजन गर्न दुई वटा विधेयक संसद्मा लगेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको हो। पर्यटन तथा नागरिक उड्ढयनमन्त्री बद्री पाण्डेले दर्ता गराएको विधेयक पारित भए क्यान विभाजन हुनेछ।

     

    सरकारले यसअघि २०७६ फागुन ११ मा क्यानलाई दुई निकायमा विभाजन गर्ने  गरी विधेयक संसद्मा लगेको थियो ।  राष्ट्रिय सभाले २०७८ साउन १८ गते पारित गरेकामा प्रतिनिधि सभाको कार्यकाल २०७९ असोज पहिलो साता सकिँदा त्यो विधेयक  निष्कृय हुन पुगेको थियो।

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । 

    आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । 

    नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

     

    काठमाडौं । नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

    आज प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन

    जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१÷८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४८ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

    आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छभने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

     
     
     
     
     
     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij