Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २१ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू....

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २१ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २१ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू।।।

    images

    लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

    काठमाडौं ।लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नबिल इन्भेष्टमेण्ट  बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

    सो सम्झौतामा लुम्बिनी सेरामिक्सका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।लुम्बिनी सेरामिक्सले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले ६ महिनाभित्र आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

    स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

    काठमाडौँ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो । काठमाडौँ महानगरपालिका–१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । 

     

     

    भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेषगरी सानासाना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।

    चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो

    काठमाडौं ।  चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६१ करोड २० लाख रुपैयाँ थियो।

    काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । 

     

     

    ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल ९चाबहिल० वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुछ हने छ ।

    एलआइसी नेपालको ४ लाख ९२ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आज (माघ २१ गते) देखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

    सुनको भाउ १ लाख ६२ हजार ८०० र चाँदी १८ सय ९५ मा स्थिर

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम रहेको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७८०.५९ र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

    गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

    गण्डकी ।गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जार्री गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो । 

    “प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

    पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु

    काठमाडौँ ।ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । 

     

     

    यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ ।  “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”, सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।

    छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

    पाटन (ललितपुर) । प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताउनुभएको छ । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उहाँले बताउनुभयो । माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो ।

    सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प पनि गर्नुभयो । “विदेशमा गएर नेपाली युुवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ,” विद्यार्थीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।” प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिनुभयो । उहाँले विद्यार्थी अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनुपर्नेमा जोड दिँदै युवाका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाउनुभयो ।

    सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै

    काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । 
    आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ ।

    गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारको काम एनआइएमबी एस क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । इन्सुरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ । 

     

     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij