काठमाडौँ । चैतको पहिलो साता हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मिलनको आयोजना हुन लागेको छ ।राजधानीमा एक पत्रकारको आयोजना गरी हिमवत्खण्ड कला साहित्य संस्कृति सम्मिलन चैत १देखि ३ गते तदनुसार मार्च १४देखि १६तारिखसम्म हुने जनाइएको हो ।
मदन भण्डारी कला सहित्य प्रतिष्ठानको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा उक्त सम्मिलनको आयोजना हुनेछ । आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ नेपाल हिमवत्खण्डको केन्द्र स्थल हो। नेपाल सभ्यता र ज्ञानको पवित्र भूमि हो र यो विश्वमा मानव सभ्यताको आदिभूमि हो । ज्ञानोदयको आदिभूमि हो। यसै हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो। यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौं नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो। ’ हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि विश्वामित्र, मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रभुत्ति महान् कविहरूको जन्म भएका जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘ यहीं नै ने मुनि नामका ऋषि र किरातहरूका ऋषि आक्नीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको हो। यसै पावन भूमिमा गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भयो ।’
प्राचीन नेपाल अहिले भन्दा ठुलो थियो उल्लेख गर्दै आयोजकले विज्ञप्तिमा भनेका छन् ‘ विक्रमादित्यका छोरा समद्रगुप्तको प्रयागस्थित अभिलेखमा–’कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवाल क्षेत्र सबै) को बिचको देशलाई ’नेपाल’ भनी वर्णन गरिएको छ । हिमवत्खण्डको यो विशाल यज्ञभूमि, तपोभूमि, ज्ञानभूमिमा कैयौं ऋषि–महर्षिहरूले ज्ञानको आविष्कार गरेर गरेका थिए । उनीहरूले नै अनेक धर्मशास्त्र, नीतिशास्त्र, राज्यशासनका विधिविधानहरू सृजना गरेर हिमवत्खण्डलाई युगयुगसम्म सङ्गठित गराउने थिति बसाले । हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल जति विविधतापूर्ण र विशाल छ, त्यत्तिकै यसको गहनता र महत्ता पनि व्यापक र विशाल छ। यस भूखण्डका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्यहरू विशिष्ट छन् । पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिहरूको पवित्र तपोभूमि भन्ने बुझिन्छ ।’ आयोजकहरूका अनुसार हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित हिमालय श्रृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डबारे प्राचीन कालदेखि नै विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन्। वेदव्यासद्वारा रचित अठार पुराणहरूमध्ये प्रमुख स्कन्द पुराण पनि हो । यसअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्द पुराणको यसै खण्डमा वर्णन गरिएअनुसार हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।
संस्कृतका महाकवि कालिदास रचित ’कुमारसम्भव’मा ’हिमवत्खण्डलाई सवा लाख पर्वतमाला समावेश रहेको हिमालय पर्वतको भूखण्ड, जसले पूर्व र पश्चिम दिशाका समुद्रलाई स्पर्श गर्छ’ भनी वर्णन गरिएको छ । यस वर्णनअनुसार हिमवत्खण्ड हिमवत्खण्ड भन्नाले हिमाली भू–भाग मात्र नभई हिमालदेखि समुद्री सतहसम्मको भूखण्ड हो र यसअन्तर्गत समुद्री सतहबाट करिब ६६०० मिटर उचाइमा अवस्थित कैलाश पर्वत, ४५०० मिटर उचाइमा रहेको मानसरोवर ताल आसपास करिब २५०० किलोमिटर पूर्व र पश्चिमसम्म फैलिएका विशाल हिमाली शृङ्खला र ती हिमालय शृङ्खलाका फेदीबाट बहने खोला, नदी, झरना, तालतलैया तथा तिनको जलाधार क्षेत्र एवम् अनेकौं भौगोलिक बनावटसहितको समष्टि भन्ने बुझिन्छ ।
पश्चिममा कैलाश मानसरोवरबाट प्रसवित सिन्धु नदी, पूर्वमा तिब्बतबाट प्रवाहित भई हिमवत्खण्डको पूर्वी भूभागबाट भारतको अरुणाचल प्रदेश एवम् बङ्गलादेश हुँदै हिन्द महासागरमा मिसिने ब्रह्मपुत्र नदी जसलाई तिब्बतमा दिहाङ्ग नदी भनिन्छ, उत्तरमा कैलाश पर्वतसँगै हिमालय पर्वत शृङ्खला र दक्षिणमा गङ्गा नदी तट र यसबिचमा अवस्थित सम्पूर्ण जल, जङ्गल र जमिनसहितको क्षेत्रलाई समष्टिमा हिमवत्खण्डअन्तर्गत समेटिएको छ । भौगोलिक अवस्थितिलाई दृष्टिगत गर्दा हाम्रो देश नेपाल लगभग समग्र हिमवत्खण्डको मध्य भागमा पर्छ । हिमवत्खण्डको सम्पूर्ण ओज थेग्न सक्ने र यहाँका परम्परित विशेषता भएको सानो तर सुन्दर हिमाली देशका हामी नेपाली यसै भूखण्डका बासिन्दा हौं। नेपाल हिमवत्खण्डका सम्पूर्ण अवयव विशेषताको प्रतीक हो । यस देशले सम्पूर्ण हिमवत्खण्डको पूर्ण प्रतिनिधित्व गर्ने क्षमता राख्दछ । हामीले यस भूमिको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक र प्राचीन महत्वबारे जान्नुपर्छ र यस धरामा उत्पत्ति भएका वैदिक सनातन धर्म, संस्कार, संस्कृति, ज्ञानपरम्परा, मूल्य–मान्यतासँग एकाकार भई तिनलाई युगानुकूल बनाउँदै लैजानुपर्छ । यद्यपि हाम्रो समाजमा समाजविकासका क्रममा कतिपय सङ्कीर्ण रुढिवादी परम्परा विकसित नभएका होइनन् । यसबारेमा विद्वानहरूबिच गहनतम छलफल हुनुपर्छ र समाजमा विकसित हुँदै आएका त्यस्ता विकृतिहरूका विरुद्ध सङ्घर्ष गरी तिनलाई परिकक्षत गर्दै जान् पर्छ। यो आजको समयको माग हो।
सम्मिलनमा नेपालका सातओटै प्रदेशमा बसोवास गर्ने विभिन्न जातजातिका सांस्कृक्तिक झाँकीहरूको प्रदर्शनी पनि गरिने छ र ती सांस्कृक्तिक सम्पदाका बारेमा गोष्ठी–पत्रको प्रस्तुतिसहित प्राज्ञिक विमर्श गरिने छ । यस सम्मिलनमा भारतका नेपाली भाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चलको देहरादून, उत्तर प्रदेशको बनारस, लखनउका साथै अन्य देश म्यानमार, भुटान, बङ्गलादेश, थाइल्यान्ड, चीनको तिब्बतमा बसोबास गर्ने नेपाली भाषी लेखक–साहित्यकार, संस्कृक्तिविद्, सांस्कृतिक अभियन्ता तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहने छ ।
सम्मिलनका उद्देश्यहरूमा भनिए अनुसार हिमवत्खण्ड संसारकै गौरव हो। यही गौरवशाली भूखण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खलाहरू अवस्थित छन् । भारोपेली तथा भोट बर्मेली भाषाको आधारक्षेत्रका रूपमा रहेको यस भूभागमा अस्तित्वमा रहेका नेपालीसहित विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन, आपसी सद्भाव र सांस्कृतिक एवम् मौलिक सिर्जनशील पक्षको महिमागान एवम् विचार विमर्श यस सम्मिलनको खास उद्देश्य रहने छ । हिमवत्खण्डका समस्त सांस्कृतिक वैभवप्रति गर्व गर्दै यहाँको प्रक्ति, संस्कृति तथा मानवीय मूल्यको संरक्षण गर्नु यस सम्मिलनको उद्देश्य हुने छ । हिमवत्खण्डको यस भेगमा सिर्जित वैदिक तथा बौद्ध वाङ्मय, ज्योतिषविज्ञान, योग एवम् आयुर्वेद र अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । ज्ञान तथा चेतनाका ती महिमाशाली परम्पराप्रति गौरवबोध गर्नमा यस सम्मिलनले थप भूमिका खेल्ने छ ।
हिमवत्खण्डका मौलिक तथा रैथाने संस्कृति, ज्ञानपरम्परा, तन्त्र–मन्त्र, कला–साहित्य, रीतिरिवाज, शिल्पकला, वेशभूषा, खानपान, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सम्मिलनले यस क्षेत्रमा पुनर्जागरण ल्याउने छ । हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामहरूबारे खोज–अन्वेषण, अध्ययन–अनुसन्धान तथा संरक्षण, संवर्धन र प्रवर्धन गर्नका निमित्त यस सम्मिलनले ऊर्जा प्रदान गर्ने छ । नेपाल अनेक जातजाति, संस्कृति तथा भाषाभाषीका इनद्रेणीको रूपमा परिचित रहँदै आएको छ । यस मुलुकमा रहेको प्राकृक्तिक, जैविक तथा सांस्कृक्तिक विविधता नै यस धराको ऐश्वर्य हो।
हिमवत्तीको साझा मञ्च बनाउने र समय समयमा पालैपालो सरहका संस्कृतिको योजना पनि सम्मिलनले अघि सार्ने छ। हिमवत्खण्डका ज्ञानसम्पदा र सास्कृतिक गति लिन पनि यस सम्मिलनको महत्वपूर्ण उद्देश्य हुने जनाइएको छ ।सम्मिलनका मुख्य आकार्षणहरूबारे जनाइए अनुसार नेपालका सातओटै प्रदेश हिमाल, पहाड, तराईका सास्कृतिक झांकीहरूको प्रतिनिधित्व गराइने छ । सम्मिलनमा नेपालबाहिरबाट एक जना गोष्ठी–पत्र विज्ञसहित बढीमा ५ जनाको समूह बनाउने गरी आमन्त्रण गरिएको छ । नेपालका सातओटै प्रदेशबाट एक एक ओटा गोष्ठी–पत्र प्रस्तुत गरिने छ । नेपालबाहिरका सहभागी स्थानबाट प्रतिनिधिमूलक गोष्ठी–पत्र प्रस्तुत गरिने ओटा गोष्ठी तथा मञ्चलाई मौलिक नेपालीपनको झल्को दिने गरी सजावट गरिने छ । सम्मिलनमा सास्कृक्तिक प्रस्तुति गरिने छ। सम्मिलनमा प्राज्ञिक विमर्श गरिने छ । समस्त दर्शक तथा सहभागीलाई सम्भव भएसम्म आ–आफ्ना मौलिक तथा राष्ट्रिय पोसाकमा सहभागी हुन अनुरोध गरिने छ ।
सम्मिलनको कार्यक्रम तालिका सार्वजनिक गरिए अनुसार पहिलो दिन (मितिः २०८१ चैत १ गते । समयः १ः३० बजे । स्थानः राष्ट्रिय सभा गृहमा समुघाटन समारोह विभिन्न सांस्कृतिक झाँकीसहित जसमा प्रमुख अतिथि सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, विशिष्ट अतिथि, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, विशिष्ट अतिथि, माननीय संस्कृक्ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे , विशिष्ट अतिथि सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङज्यू, विशेष अतिथि, वैरागी काईलाज्यू (पूर्वकुलपति, नेपाल प्रज्ञा–प्रतिष्ठान बरिष्ठ कवि तथा मुन्धुमविद्) लगायत सहभागी हुने जनाइएको छ ।
पहिलो दिन (मितिः २०८१ चैत १ गते । समयः बिहान ११ः०० बजेदेखि) नेपाल पर्यटन बोर्डमा चलचित्र विकास बोर्डको सौजन्यमा हिमवत्खण्डका नेपाली संस्कृति झल्किने चलचित्रहरूको प्रदर्शन हुने छन् । दोस्रो दिन (मितिः २०८१ चैत्र २ गते । समयः बिहानः ८ बजे। स्थानः राष्ट्रिय सभा गृह) प्राज्ञिक विमर्श÷गोष्ठी सत्र सञ्चालन हुनेछ । जसमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङ, वैरागी काइँलाज्यू आदिको विशिष्ट आतिथ्य रहनेछ । नेपालको लोकसंस्कृतिबारे गोष्ठी–पत्र यस सत्रमा नेपालका सातओटै प्रदेशका नेपाली लोकसंस्कृति सम्बन्धमा गोष्ठीपत्रको प्रस्त्ति हुनेछ भने नेपालबाहिरको नेपाली लोकसंस्कृति सम्बन्धी म्यानमार, बंगलादेश, भुटान, थाइल्यान्ड, चीनको तिब्बतका साथै भारतका पश्चिम बंगाल, सिक्किम, मणिपुर, असम, देरादुन आदिबाट गोष्ठीपत्र प्रस्तुत हुनेछ ।
विशेष गोष्ठी–पत्र बारे जनाइए अनुसार हिमवत्खण्डमा नेपाली भाषाको अवस्थाः प्रा.डा. चुडामणि बन्धु , हिमवत्खण्डका नेपाली भाषा र यसको अन्य भाषासँगको अन्तरसम्बन्धः प्रा.डा. माधवप्रसाद पोखरेल , हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरणः डा. रमेश ढुंगेल, हिमवत्खण्डको नेपाली खानपान संस्कृतिः डा. भेषराज अधिकारी नेपाली चलचित्रमा भाषा र संस्कृति (समूहगत विमर्श)
विद्वत सत्र÷विशेष प्रवचनः यस सत्रमा ’हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’ विषयमा डा. जगमान गुरुङबाट, हिमवत्खण्डमा नेपाली भाषा र नेपाली लोकसंस्कृक्तिको अवस्थाका बारेमा पर्वन याम्लिङ किरणबाट र हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृक्तिक’का सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रवचन हुनेछ ।
दोस्रो दिन (मितिः २०८१ चैत २ गते । सायः साँझ ४ः३० बजे। स्थानः राष्ट्रिय सभा गृह) हिमवत्खण्ड कन्र्सट हुनेछ जसमा नेपालका तर्फबाट नौमती बाजा, सङ्गिनी भाका, वालुङ भाका (वालुङभोटे समुदायमा प्रचलित लोकधुन), स्याब्रो भाका (शेर्पा समुदाय प्रचलितगीत तथा नृत्य), तामाङ सेलो भाका, पालाम भाका (लिम्बू समुदायमा प्रचलित गीत तथा नृत्य), साकेला भाका (पूर्वी पहाडी भेगमा बसोबास गर्ने किरात राई समुदायको भाका), झिझिया (तराई–मधेश मैथिली समुदायमा प्रचलित गीत तथा नृत्य) मैथिली धुन (छठी पर्व लोकलय), धिमाल भाका धून (पूर्वी मधेशमा बसोबास गर्ने धिमाल समुदायको) सोरठी भाका (मगर समुदायमा प्रचलित), मारुनी भाका, नेवारी धुन (काठमाडौं उपत्यकामा प्रचलित), ठाडी भाका धन (सुदूरपश्चिममा प्रचलित लोकलय), सखिया पैया (पश्चिमा थारु, गीत तथा नृत्य), कौरा (गण्डकी प्रदेशका मगर समुदायमा प्रचलित गीत तथा नृत्य), ढोटी भाका (थकाली समुदायमा प्रचलित लोकलय), सिङ्गारु भाका (कर्णाली प्रदेशमा प्रचलित गीत तथा नृत्य), हुड्केली धुन (सुदूर पश्चिम), टप्पा भाका (कर्णाली प्रदेशमा प्रचलित), देउडा भाका (गीत तथा नृत्य) र नेपालबाहिरका सिक्किम दार्जिलिङ मेघालय , मणिपुर आदिबाट सांस्कृतिक प्रस्तुति हुने जनाइएको छ ।
यसैगरी तेस्रो दिन (मितिः २०८१ चैत ३ गते। स्थानः होटल लेमन ट्री, बुढानिलकण्ठ । समयः बिहान ८ः३० बजेदेखि) विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । जसमा सञ्चारमाध्यममा नेपाली भाषा (समूह विमर्श)), कविता उत्सव तथा समापन सत्र हुनेछ
सोही दिन घोषणापत्र तयारी समितिका तर्फबाट घोषणा–पत्र जारी हुनेछ र त्यसपछि कविता उत्सव हुनेछ । कविता उत्सवमा देश तथा विदशेका विभिन्न पुस्ताका चर्चित १५ जना कविका कविता वाचन हुनेछन् । यसपछि सभाध्यक्षबाट हिवमत्खण्ड कला–साहित्य–संस्कृति मञ्चको घोषणा हुनेछ । त्यसपछि सम्माननीय प्रधामन्त्रीबाट पवन चाम्लिङलाई ’हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मान–२०८१’ समर्पण गरिने छ । अन्त्यमा सम्माननीय प्रधानमन्त्रीबाट विदेशी पाहुनाहरुलाई नेपालका तर्फबाट सम्झनाको चिनो समर्पण र सम्बोधन गरेपछि सम्मिलन समापन हुने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij