![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २४ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.२७ प्रतिशत धेरै हो ।
माउन्टेन इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ७३ करोड ७९ लाखबाट बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
हिमालयन लाइफ इन्सुरेन्सको बोनस सेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्सुरेन्स लिमिटेडको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४८८.८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ४२८.७७ रुपैयाँ कायम भएको छ ।
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बन्दिपुर, डुम्रेमा आवेदन पेश गर्न सक्नेछन् ।
आज बिहीबार पनि शेयर बजारमा गिरावट , ११.६४ बिन्दुले नेप्से परिसूचक २७०० बिन्दु तल झरेर घट्दा कारोबार बढेर ९ अर्ब २४ करोड बढी
काठमाडौँ । आज बिहीबार पनि शेयर बजार ओरालो लागेर २७०० बिन्दु तल झरेको छ । बिहीबार ११.६४ बिन्दुले झरेर २६९९.८१ बिन्दुमा अडकिएको हो । आजको कारोबार भने बढेर ९ अर्ब बढी भएको छ । मंगलबार शेयर बजार घट्दाको कारोबार भन्दा हिजो बुधबारको कारोबार नेप्से परिसूचक घटेपनि कारोबार बढेको थियो । बिहीबार पनि कारोबार बढेर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २सय ८७ रुपैया २७ पैसा बराबरको कारोबार भएको हो ।
नागरिक लगानी कोषको खुद नाफा १३.९७ प्रतिशतले बढ्यो
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३.९७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
युनिक नेपाल लघुवित्तको खुद नाफा १७.५० प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा १७.५० प्रतिशतले घटेर २ करोड ७४ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।
खराब कर्जा बढ्दा यसको खुद नाफा घटेको हो । यसअवधिमा यसको खराब कर्जा ६.०६ प्रतिशत विन्दुले बढेर १६ प्रतिशत पुगेको छ । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा पनि खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी १०.२१ प्रतिशतले बढेर २३ करोड ४७ लाख १६ हजार रुपैयाँमा आएको छ ।
साहस उर्जा लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ७० करोड ९८ लाख नाफा
काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५४.८७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले ९.७३६८ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ९.७३६८ प्रतिशत ९कर सहित० नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरण : लामिछानेलाई ५४ लाख धरौटी माग
चितवन ।जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश गरेको छ ।
जिल्ला न्यायाधिश दयाराम ढकालको इजलासले प्रतिवादी लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार सो रकम बराबरको धरौटी माग गर्ने आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “माग भएको धरौटी वा जमानत वा बैंक जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु । सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।”
सुपर माछाखोला साना जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने सम्झौता
काठमाडौंँ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा आज बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दुई तिहाईको घमण्ड गर्ने सरकारले अध्यादेशबाट सरकार चलाएको अध्यक्ष प्रचण्डको भनाइ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश संसद छल्ने नियतले ल्याएको बताएका छन् ।प्रचण्डले बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सरकारले संसद् छल्ने नियतले एकपछि अर्काे अध्यादेश ल्याएकोआ आपत्ति प्रकट गरेका हुन् ।
उनका अनुसार माघ ८ गते संसद् बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँच पाँचवटा अध्यादेश ल्याइएको छ। पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक भएपनि जनाउँदै प्रचण्डले भने, ‘३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली। तपाइँहरु पनि अब विकासको हाजी हुनुभएको हो?’
सुन चाँदी पसलमा डाँका योजना बनाउने एक भारतीय सहित चार जना पक्राउ
सिरहा।अपराधिक गतिविधि गर्ने गिरोहका एक भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका ८ का ४५ बर्शिय इन्दल भन्ने इन्द्रनारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउने’ : गभर्नर महाप्रसाद अधिकारी
पाटन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गर्नुभयो । उहाँले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतको बजेटले नेपालको अर्थतन्त्रमा पर्ने दबाब
काठमाडौँ । भारतले हालै ल्याएको बजेटबाट नेपालको अर्थतन्त्रमा पर्ने दबाबलाई समयमै सार्ने उपाय खोज्नुपर्ने संकेत गरिएको छ ।भारतकी अर्थमन्त्री निर्मला सीतारमणले माघ १९मा ल्याएका केही पक्षबाट सिकेर केही पक्षको दबाबलाई सार्न पर्ने आवश्यकता देखिएको हो ।यो बजेटले भारतको मध्यम वर्गको विस्तार तथा सबलीकरणमा ध्यान दिएको छ । मध्यमवर्ग आम्दानीको धेरै हिस्सा खर्च गर्ने भएकाले यसलाई अर्थतन्त्रको चालक पनि भनिन्छ ।
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।
कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले वृद्धि , प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ
काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा लगातार बढिरहेको छ ।
कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, २ जनाको अवस्था गम्भीर
काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
टक्सार (भोजपुर)। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भन्नुभयो, “युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।” जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij