Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २५ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २५ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २५ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    साना किसान लघुवित्तको खुद नाफा ६९.५२ प्रतिशतले घट्यो

    काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इम्पेरमेन्ट चार्ज वापत् ३ करोड ५ लाख रुपैयाँभन्दा बढी छुट्याएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा १० करोड ३ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो । यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को रकम ६९ दशमलव ५२ प्रतिशत कम भएको हो ।

    इम्पेरमेन्ट चार्ज वापत्को रकम कम व्यवस्था गर्नुपरेकाले कम्पनीको खुद नाफा १७ प्रतिशत बढेको छ । गत वर्ष ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५१ करोड ७७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा १ अर्ब ५४ करोड १६ लाख ३० हजार रुपैयाँ छ ।

    युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा

    काठमाडौं ।युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो।कम्पनीको सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

    नेपाल हाइड्रो डेभलपर्सले दोस्रो त्रैमाससम्म कमायो ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा

    काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यसको खुद नाफा ३१.१० प्रतिशतले बढेर ४ करोड ३४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ३ करोड ३१ लख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

    विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यस कम्पनीको खुद नाफा पनि बढेको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ९.५५ प्रतिशतले बढेर ७ करोड १९ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

    रिलायबल नेपाल लाइफ इन्सुरेन्सले ५१.७० प्रतिशतले बढ्यो

    काठमाडौं  ।  रिलायबल नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१.७० प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ८.२७ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेकोमा अहिले बढेर ६९ करोड १९ लाख रुपैयाँ पुगेको हो ।

    माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.२७ प्रतिशत धेरै हो ।

    माउन्टेन इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ७३ करोड ७९ लाखबाट बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । 

    अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

    काठमाडौँ। पठन संस्कृतिको प्रवर्द्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवर्द्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवर्द्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ ।

    ग्राण्डी अस्पतालद्वारा झण्डै तीन हजार बिरामीलाई घरमै गएर उपचार

     काठमाडौँ, १४ माघ । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले तीन वर्षमा झण्डै तीन हजार बिरामीलाई घरमै गएर सेवा प्रदान गरेको छ ।

    ग्राण्डीले स्थापनाको नवौँ वर्षको अवसरमा सन् २०२२ जनवरीमा विरामीको घरमै गएर सेवा प्रदान गर्ने उदेश्यका साथ ‘ग्राण्डी याट् होम’ सेवा सञ्चालन गरेको थियो  । ग्राण्डीले हालसम्म दुई हजार ७५५ विरामीलाई घरमै गएर सेवा प्रदान गरेको अस्पतालका एजिएम अर्चना प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अशक्त, वृद्ध र दिर्घरोगका विरामीलाई लक्षित गरी उक्त सेवा सञ्चालन गरिएको हो । 

     ग्राण्डीले सन् २०२२ मा ७५५, सन् २०२३ मा ९०० र सन् २०२४ मा ११०० विरामीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्राण्डीले बिरामीको घरमै पुगेर रगत तथा दिशापिसाव जाँच गर्ने, डाक्टर परामर्श सेवा प्रदान गर्ने, औषधी सेवा, विरामीको टाँका काट्ने, पिसिआर परिक्षण, घाउको डेसिङ गर्ने, फिजियोथेरापी गर्ने लगायतका काम ग्राण्डी याट् होममार्फत प्रदान गर्दै आएको छ ।

    भारतको केन्द्रीय बैंकद्वारा सन् २०२० पछि पहिलो पटक दर कटौती

    मुम्बई  ।  विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उछिनेसँगै भारतको केन्द्रीय बैंकले लगभग पाँच वर्षमा पहिलोपटक शुक्रबार ब्याज दर घटाएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने आधार रेपो दर २५ आधार अङ्कले घटाएर ६.२५ प्रतिशतमा झार्ने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले गत वर्ष दरमा कटौती गरे । केहीले यसलाई जारी राखे पनि सुस्त मुद्रास्फीतिले भारतलाई त्यसो गर्नबाट रोकेको थियो । देशमा खुद्रा मुद्रास्फीति हालै घटेको छ । डिसेम्बरमा चार महिनाको न्यून ५.२२ प्रतिशतमा झरेको छ तर अझै पनि केन्द्रीय बैंकको मध्यम अवधिको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्य दबाब कम हुँदै गएकोले अब वृद्धि बढाउनेमा ध्यान केन्द्रित गर्ने ठाउँ प्रदान गरेको देखिन्छ । सुस्त उत्पादन र कमजोर सहरी उपभोगका कारण सेप्टेम्बर त्रैमासिकमा भारतको अर्थतन्त्र अपेक्षाभन्दा धेरै ढिलो विस्तार भएको थियो ।

    उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

    लुम्बिनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सरकारले उद्योगमैत्री नीति बनाउने उल्लेख गर्दै आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित दुई मेगावाट क्षमताको सोलार प्लान्टको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्तमान सरकार देशको आर्थिक विकासमा टेवा पु¥याउन औद्योगिक क्षेत्रको विकास र स्वदेशमा रोजगार सिर्जना गर्न नीतिगत सुधारमा लागेको बताउनुभयो ।

    ९० हजार टन गहुँ आयात गर्न करिब पाँच दर्जन फर्म इच्छुक

    काठमाडौँ । भारतबाट गहुँ आयात गर्न करिब पाँच दर्जन फर्मले चाहना जाहेर गरेका छन् ।नेपाल सरकारले ९० हजार टन गहुँ आयात गर्न प्रस्ताव माग गर्दा  ५८ फर्मले इच्छा देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको हो ।विभागले २० माघसम्मको समय राखेर आपूर्तिकर्ताबाट प्रस्ताव माग गरेको थियो । तोकिएको कोटाभित्र रहेर गहुँ आयात गर्न ती फर्मले आवेदन दिएको जनाइएको छ ।

    नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

    काठमाडौँ ।संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ । स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराउनुभएको हो । उहाँले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पु¥याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गर्नुभयो । आयोगकी सदस्य डा थापाले नेपालमा महिला अधिकारको प्रवद्र्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    जाजरकोटमा जडीबुटी प्रशोधन सुरु

    काँक्रेविहार (सुर्खेत) ।  जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो । हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिनुभयो । तीस टन टिमुर प्रशोधन गरेर पठाउने लक्ष्य लिइएकामा हाल साढे चार टन खरिद गरी प्रशोधन गरिएको उहाँले बताउनुभयो । “पहिलो चरणमा सुगन्धवाल, जटामसी र टिमुर सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य छ ।

    प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताउनुभयो ।

    बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको परेड अवलोकन गर्नुुभएको छ । नेपालको भ्रमणमा रहनुभएका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिनुुभएको थियो । समारोहमा अधिराजकुमार एड्वर्डले भन्नुभयो, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

    काठमाडौँ  । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा २ वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक रु २३ लाख शुल्क लिने विषयमा पनि छलफल भएको छ ।

    काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएको छ । आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उहाँले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । “संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?” उहाँले प्रश्न गर्नुुभयो, “तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुप¥यो ! राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।” उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गर्नुभयो ।

    सुनको मूल्य घट्यो, आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री

    काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

    काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको छ महिनासम्मको समग्र खर्च विगत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सरकारको स्रोततर्फ रू छ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ । जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५ दशमलव ८६ प्रतिशतले बढी हो । वैदेशिक अनुदानतर्फ रू सात अर्ब ७१ करोड ९२ लाख खर्च भई गत आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७९ प्रतिशतले बढी खर्च भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा मन्त्रालय अन्तर्गतका आयोजनाको लागि रू एक खर्ब १ अर्ब ९६ करोड ५५ लाखको स्रोत सहमति प्रदान गरिएको छ । गत आर्थिक वर्षसम्मको सिर्जित दायित्व रू २८ अर्ब ५१ करोड ९० लाख भुक्तानी दिन बाँकी रहेकोमा समीक्षा अवधिसम्म रू २२ अर्ब २२ करोड ८९ लाख भुक्तानीका लागि स्रोत व्यवस्थापन गरिएको छ । बाँकी रकमको पनि स्रोत व्यवस्थापन गरी दायित्व भुक्तानी गर्न सहजीकरण गरिएको छ ।

    चालु आर्थिक वर्षको अर्धवार्षिक मूल्याङ्कन: बजेट खर्च ३५ दशमलव ८९ प्रतिशत, राजस्व वृद्धि १० दशमलव ०९ प्रतिशत

    काठमाडौँ ।चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१र८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म  कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत खर्च भएको छ ।

    तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

    काठमाडौँ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    राष्ट्रिय गौरवका आयोजनामा २५.७% मात्र प्रगति, ६६ अर्ब ७५ करोड विनियोजन

    काठमाडौँ । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि त्यस्ता आयोजनाको प्रगति अपेक्षित हुन नसकेको पाइएको छ । 

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij