Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच व्यापारिक लडाइँ ,  आयात निर्यातमा कस्तो असर पर्ला ?

दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच व्यापारिक लडाइँ ,  आयात निर्यातमा कस्तो असर पर्ला ?

  • काठमाडौँ । चीनले  अमेरिकाको अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकामा उत्पादित वस्तुको आयातमा थपेको आयात कर सोमबारदेखि कार्यान्वयनमा आएको छ ।अमेरिकाले चिनियाँ उत्पादनहरूको अमेरिका आयातमा अतिरिक्त भन्सार महसुल थपेको विरोधमा यसअघि चीनले फेब्रुअरी १० देखि लागु हुने गरी गरिएको घोषणा सोमवारदेखि कार्यान्वनमा आएको हो ।विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कैयौँ देशहरूबाट हुने  आयातमा थपशुल्क लगाउने धम्की दिइरहेका बेला चिनियाँ सरकारको निर्णय कार्यान्वयन भइरहेको छ ।

    अमेरिकाले सबै चिनियाँ उत्पादनहरूमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको जनाए पछि चीन सरकारले फेब्रुअरी ४ मा अमेरिकी उत्पादनमा थप महसुल फेब्रुअरी १० देखि लागु हुने   घोषणा गरेको थियो ।ट्रम्पले आइतवार सबै स्टिल र एल्यूमिनिअममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाउने बताएका छन् । जसको पूर्ण घोषणा सोमवार हुने भएको छ ।सुपर बोल प्रतियोगिता हेर्न जाने क्रममा एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य राष्ट्रहरूमा उनीहरूलेजस्तै आयात शुल्क लगाउने योजना रहेको बताए।तर उनले ती कुन–कुन देशमा लक्षित गरिनेबारे भने खुलाएनन् ।

    अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र तरलीकृत (लिक्विफाइड) प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ।त्यस अतिरिक्त अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क लगाइएको छ।गत साता चिनियाँ अधिकारीहरूले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएका छन्।

    त्यसैगरी डिजाइनर ब्रान्ड केल्भिन क्लाइन र टमी हिलफिगरको अमेरिकी स्वामित्व कम्पनी पीभीएसलाई समेत बेइजिङले आफ्नो अविश्वसनीय वस्तुको सूचीमा सामेल गरेको छ ।चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। जसमा  केही विद्युतीय उत्पादन र सैन्य उपकरणका अति महत्वपूर्ण मानिन्छ ।ट्रम्पले साताको अन्त्यमा अमेरिकाले गर्ने स्टिल तथा एल्यूमिनिअम आयातमा २५ प्रतिशत कर लगाउने योजनाको घोषणा गरेका थिए ।त्यसको केही दिनअघि उनले क्यानडा र मेक्सिकोसँग ती देशका सबै सामानमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणाबाट पछि हटेका थिए।


    आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा समेत ट्रम्पले स्टिलमा २५ प्रतिशत र एल्मुनिअममा १० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरे पनि पछि क्यानडा, मेक्सिको र ब्रजिलसहित कैयौँ व्यापारिक साझेदारहरूलाई शुल्करहित कोटा प्रदान गरेका थिए।समान रूपमा आयात शुल्क कार्यान्वयन गर्ने उनको सोचले अमेरिकी सामानमा लगाइएजस्तै भन्सार दर लगाउने उनको चुनावी वाचा पूरा हुनेछ ।

    विश्वव्यापी रूपमा लगाइने आयात शुल्कमा छुट दिनेबारे विचार गरिरहेका विवरण आएपछि उनले सवारीसाधनको आयात कर भने टेबलमै रहेको ट्रम्पले बताए।ट्रम्पले बारम्बार अमेरिकी कारको आयातमा ईयूले लगाएको शुल्क अमेरिकाको भन्दा निकै उच्च रहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।तर ट्रम्पले यूकेका हकमा भने सम्झौताका लागि काम गर्न सकिने पनि बताएका  थिए।

    अमेरिका चीन बीचको व्यापारिक लडाइँबाट विश्लेषकहरूले भूराजनीतिक समीकरणमा फेरबदल ल्याउने जनाएका छन् । अमेरिकालाई चिनियाँ उत्पादित वस्तुहरूमा आधारित अर्थतन्त्रमा उथलपुथल ल्याउने उनीहरूको बुझाइ छ । तर ट्रम्पले भने यस्तो उथलपुथल ल्याउने संकेत गरिरहेका छन् । अवैध आप्रवासी फर्काएर र अमेरिकामा उत्पादन गर्न कम्पनी नखोले अतिरिक्त भन्सार थपि दिने घोषणा कार्यान्वयनमा ल्याउन थालेयता यस्तो देखिएको हो ।तर कतिञ्जेल र कहिलेसम्म यो अवस्था रहने हो त्यो  भन्न सकिने स्थिति रहेको देखिदैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij