Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

एयरटेल सहकारीको आतंक, ४१ ऋणी सदस्यलाई मुद्दा, अग्रवाल बाबुछोरासहित आधा दर्जन  सदस्य थुनामा

एयरटेल सहकारीको आतंक, ४१ ऋणी सदस्यलाई मुद्दा, अग्रवाल बाबुछोरासहित आधा दर्जन  सदस्य थुनामा

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न २३मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्थाले ऋण असुलीको नाममा आतंक मच्चाएको छ ।एयरटेल बचत तथा ऋण सहकारीमा  कारोबार गरेका विनोदकुमार अग्रवाल र बिशन शाक्यलगायतले सहकारीमा तिर्न बुझाउनुपर्ने रकम चुक्ता गरेका  सदस्यहरूलाई समेत धरपकड गरेर एयरटेल सहकारीका अध्यक्ष  अशोक गोयलले आतंक मच्चाएको  बताएका हुन् ।

    एयरटेल सहकारीमा बचत तथा ऋणको कारोबार गरेका विनोदकुमार अग्रवालले अन्तिम ऋण लिएको २०७१ चैत महिना र यस भन्दा अगाडि पनि विभिन्न मितिमा गरी दुई करोड २७ लाख  ऋण लिएको र २०७४ साल पुस मसान्तमा ऋण चुक्ता गरेपछि  २०७४को माघ २१ गते कर्जा चुक्ता भएको पत्र एयरटेलले आफूलाई दिएको बताए । विनोदकुमार अग्रवालले आफूले सहकारीमा ऋण लिए बापत् त्यस बेला नै तीन करोड ३९ हजार रुपैयाँ एयरटेललाई भुक्तानी गरेको  र  ऋण चुक्ता पत्र समेत पाएको बताए ।
    अहिले आएर एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक गोयलले  पत्रिकामा आफ्नो समेत नाम राखी सूचना निकालेको र धडपकड गर्न लगाएको अग्रवालले बताए । 

    यता बिशन शाक्यले २०७५ भन्दा अगाडि विभिन्न मितिमा शेयर धितो राखी  लिएको कर्जा चुक्ता गरी२०७५  जेठ २३ गते एयरटेल सहकारीले प्रभु क्यापिटल कमलादीलाई शाक्यले लिएको सम्पूर्ण कर्जा चुक्ता भएकोले धितोमा राखिएको शेयर फुकुवा गर्न पत्र लेखी पठाएको देखिन्छ । 

    airtail1.jpg

    यद्यपि एयरटेल सहकारीका अध्यक्ष अशोक गोयल पुनः पत्रिकामा आफ्नो  नाम समेत राखी सूचना निकालेको शाक्यले बताए । शाक्यले चुक्ता भइसकेको ऋणलाई समेत चुक्ता गर्न आउन र धडपकड गर्न लगाएको बताए ।आफूले सहकारीबाट लिएको रकम बैंक मार्फत् नै भुक्तानी गरेको प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए ।

    अग्रवाल र शाक्यसहित लक्ष्मी खड्का , केदार लुइँटेल, हेमराज लुइँटेल, जितेन्द्रप्रसाद कलवार, भागमतीदेवी कलवार, बीणाकुमारी कानोडिया, उत्तम अर्याल, कविता अग्रवाल , हरिभक्त सिवाकोटी, विशाल आचार्य, शिवओम श्रेष्ठ, रोशन बंशल, सीमा अग्रवाल, चन्द्रप्रकाश भण्डारी, निकिशा महर्जन, मुन्नीलाल चौरसिया, सबिन घिमिरे, राजकुमार अग्रवाल, सुरेन्द्रबहादुर नुहुच्छे प्रधान, राजकुमार, दयाराम पौडेल, सन्तोष खत्री, जनकराज खकुरेल, रोशन कादमिया, वर्धमान पिन्चा, सञ्जय अग्रवाल, शिव खतिवडा, पुरुषोत्तम अग्रवाल, राजेशकुमार श्रेष्ठ , राजेश आले, राजकुमार बुढाथोकी, अनिल लुइँटेल, शिवराज नेपाल, श्रीराम अधिकारी, नवराज अधिकारी, सुशील अधिकारी, विकास गोयनका , रामप्रसाद सहनी र कुन्दन खड्कालाई ऋण असुलीका लागि एयरटेल सहकारी र त्यसका अध्यक्ष अशोक गोयलले प्रशासनको आडमा धडपकड गर्न लगाएको पीडितहरूले बताएका छन् ।

    एयरटेल सहकारीका अध्यक्ष अशोक गोयलले मिति २०८१ मंसिर १४ गते बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ऋण असुलीका लागि सहजीकरण गर्न भन्दै माथि उल्लेखित ४१ जनाको नाम दिएको र गोयलको अनुरोधमा प्रदेश सहकारी कार्यालयले काठमाडौँ जिल्ला प्रहरी परिसरलाई एक पत्र लेखी आवश्यक सहयोग गरिदिन  भन्यो । मंसिर १४ गते नै काठमाडौँ जिल्ला प्रहरी परिसरलाई लेखेको पत्रमा सकल फाइल प्रहरी परिसरलाई नै पठायो । सोही आधारमा ऋणी सदस्यहरूलाई गोयलले धडपकड गर्न लगाएको एक पीडितले नयाँसडकलाई बताए । पीडितका अनुसार सहकारीमा बचत तथा ऋणको कारोबार गर्ने सदस्यहरूले गरेको कारोबारको अवस्था बुझ्दै नबुझी प्रशासनले पनि हचुवाको भरमा पत्र लेखेको र सोहीपत्रको आधार बनाइ आफूहरूलाई धडपकड गरेको र मानसिक पीडा दिएको एक पीडितले बताएका छन् ।

    अग्रवाल बाबुछोरासहित आधा दर्जन  थुनामा 

    एयरटेल सहकारीको बचत तथा ऋण कारोबार गर्ने ६  थुनामा रहेका छन् । राजकुमार अग्रवाल उनका छोरा विकास अग्रवाल( गोयनका), जितेन्द्रप्रसाद कलवार, भागवतीदेवी कलवार, रोशन बंशल र अर्का एक जना थुनामा रहेका छन् । सम्भवतः उनीहरूलाई आजै सरकारी वकिल मार्फत् अदालतमा पेश गरिँदै छ । यसमध्ये राजकुमार अग्रवाल बाबुछोराले लिएको ऋण भन्दा बचत र शेयरमा रहेको रकम बढी छ ।

    सर्वसाधारणले बचत गरेको अर्बौँ  रुपैयाँ फिर्ता गर्न बाँकी

    एयरटेल बचत तथा ऋण सहकारीले सर्वसाधरण बचतकर्ताले बचत गरेको अर्बौँ रुपैयाँ फिर्ता गर्न बाँकी छ । सर्वसाधारण शेयर बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा २०७७ साल फागुन १८ गते जिल्ला अदालत काठमाडौँले एक फैसला ग¥यो । फैसला अनुसार सर्वसाधारण बचतकर्ताको बचत नतिरेको सहकारीको पैसा हिनामिना गरेको भन्दै तत्कालीन प्रवन्ध निर्देशक र  हालका अध्यक्ष अशोक गोयललाई  दुई वर्ष कैद सजाय सुनायो । दुई वर्ष कैद सजाय  सकेर बाहिर आएका अध्यक्ष अशोक गोयलले बचतकर्ताको बचत रकम फिर्ता गर्नुको सट्टा ऋणअसुलीको नाममा सदस्यहरूलाई धडपकड गराएको बताइएको छ । यससम्बन्धमा सहकारीका अध्यक्ष अशोक गोयलसँग सम्पर्क गर्दा गोयलले ऋण असुली प्रक्रिया सुरु गरिएको भनेर फोन काटिदिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij