
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज १ फागुन बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने , बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न माघ ३० गते अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
शेयर बजार : नेप्से परिसूचकमा ७.२६ विन्दुको घटेर २६७८.४७ अंकमा, ७ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार
काठमाडौं । सेयर बजार सुस्त देखिएको छ । बिहीबार नेप्से सूचक ७.२६ विन्दुले घटेर २६७८.४७ अंकमा आएर अडिएको छ । ७ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ३ वटा समूहका सूचक सकारात्मक बनेका छन् । समग्रमा नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आजदेखि नेपाल फाइनान्सले करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्यो
काठमाडौं ।नेपाल फाइनान्सले आज (फागुन १ गते) देखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ६.९१ गुणा बढी आवेदन
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ४३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज सम्म ४७ हजार ६४५ जनाले १२ लाख ४३ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.९१ गुणा बढी आवेदन हो ।
भिजन लुम्बिनी उर्जा कम्पनीको खुद नाफा ६२.९८ प्रतिशतले घट्यो
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा ६२ दशमलव ९८ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ७ करोड ९ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू। २ करोड ६३ लाखमा झरेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।
प्रधानमन्त्रीसँग ‘युनिभर्सल पिस फेडेरसन’का अध्यक्ष याङको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पिस फेडेरसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा चार्ल्स एस याङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गर्नुभएको छ ।
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।
न्यायाधीश डा कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम मिश्रले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई छुट्टाछुटै दायर गर्नुभएको रिट निवेदनमा उक्त आदेश गरेको हो ।
प्रधानमन्त्रीओलीसंग कृषिमन्त्री अधिकारीको बैठक : रासायनिक मल अभाव हुन नदिइने
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकमा मन्त्री अधिकारीले रासायतिक मलको मौज्दात, कृषि लगानी दसक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनःसंरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिनुभएको थियो ।
खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर सेवा शुक्रबारदेखि फेरि सुरु हुँदै
काठमाडौँ । खुम्बु क्षेत्रमा रोकिएको हेलिकप्टर सेवा फेरि सुरु हुने भएको छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुले खुम्बु क्षेत्रमा शुक्रबारबाट हेलिकप्टर सेवा सुरु गर्न लागेका हुन् ।सेवा प्रदायकहरूका अनुसार माउन्टेन फ्लाइटका अलावा अरु व्यावसायिक उडान पनि गरिने छ ।खुम्बु क्षेत्रमा खुम्बु पासाङल्हामु गाउँपालिकाको अवरोधका कारण पुस २३ देखि रोकिएका सबै किसिमका व्यावसायिक उडान शुक्रबारबाट फेरि सुरु हुन लागेको हो ।
सरकारलाई चालु खर्च जुटाउन धौ धौ बजेटको २५ प्रतिशत रकम रोक्का गर्ने सरकारको निर्णय
काठमाडौँ ।सरकारले रकम रोक्का गर्ने निर्णय गरेको छ । चालु खर्च जुटाउन धौ धौ परेकाले बजेटको २५ प्रतिशत रकम रोक्का गर्ने सरकारले निर्णय गरेको हो ।चालु आर्थिक वर्षको बाँकी बजेटको विनियोजित रकमको २५ प्रतिशत रकम रोक्का राख्ने निर्णय गरिएको छ ।
अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको परिच्छेद ८को बुँदा न नम्बर ८.१.१ अनुसार चालु खर्चको अनिवार्य दायित्व बाहेक तथा पुँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकम मध्ये हालसम्मको खर्च भई बाँकी रकमको २५ प्रतिशत रकम रोक्का राख्ने व्यवस्था बमोजिम सो निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारलाई संशोधित राजस्व संकलन लक्ष्य पाउन गाह्रो हुने देखियो
काठमाडौँ । सरकारलाई सात महिनामा ६ महिनाको राजस्व संकलन भएको छैन् ।चालु आवमा सरकारले लिएको राजस्व संकलनको लक्ष्य अनुसार पुस मसान्तसम्म उठाउन पर्ने राजस्व माघ मसान्तसम्म उठन नसकेको देखिएको छ ।अर्थतन्त्रमा निक्कै सुधार गरेको दाबी गरिरहेको सरकारका अर्थमन्त्री विष्णु पौडेलले राजस्वको संशोधित लक्ष्य समेत पूरा गर्न नसक्ने स्थितिमा पुगेको देखिएको हो ।
सात महिनामा जम्मा ६ खर्ब ४२ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ । यो रकम पुससम्मको लक्ष्यभन्दा पनि कम हो।पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य लिइएको थियो। तर माघमा ८३ अर्ब रुपैयाँ थपिएर पनि पुसको लक्ष्य पाउन नसकिएको अवस्था छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij